Market Closed

के नियामकले ठूला र संस्थागत लगानीकर्तालाई निरुत्साहित गर्न खोजेकै हो त ?

26 Jul,2022
  • Institunal_2_7_26_2022_8_14_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : पछिल्लो समय नियामक निकायले संस्थागत तथा ठूला लगानीकर्ताहरुलाई निरुत्साहित हुने नीति निर्माण गरेको आरोप लागेको छ । राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा संस्थागत लगानीकर्तालाई सेयर बजार भित्र्याउने वा तिनीहरुका लागि लगानीयोग्य वातावरण सिर्जना गर्ने खालको कुरा नीतिमा नसमेटिएको भनेर उनीहरुले विरोध जानएका छन् । 
 
उनीहरुले सानालाई केही राहत हुने व्यवस्था आएको भए पनि ठूला तथा संस्थागत लगानीकर्ताले भने कुनै राहत तथा सहुलियतको अनुभव गर्न नपाएको बताएका छन् । पुँजी बजारको विकासका लागि संस्थागत लगानीकर्ताको आवश्यकता रहेको भन्दै उनीहरुले सरकारलाई यसबारे गम्भीर भएर सोच्न बारम्बार आग्रह गरेका थिए । तथापि, नीतिमार्फत समस्या समाधानका कुनै औजार नआएको उनीहरुको गुनासो रहेको छ । 
 
के हो संस्थागत लगानीकर्ता, उनीहरुले सेयर बजार विकासमा कसरी सहयोग गर्न सक्छन् ?
 
संस्थागत लगानीकर्ता भनेको त्यस्ता कम्पनी वा संस्था हुन्, जसले अन्य व्यक्तिको तर्फबाट पैसा लगानी गर्छ । म्युचुअल फन्ड, पेन्सन कोष, हेज फन्ड र बिमा कम्पनीहरू, ठूला इन्भेष्टमेन्ट कम्पनीहरु यसमा पर्दछन् । यिनीहरुले प्रायः स्टक, बन्ड वा अन्य सेक्युरिटिजहरु किनबेच गर्छन् । यिनीहरुसँग ठूलो लगानीयोग्य रकम हुन्छ । यदि, बजार धेरै बढ्यो वा घट्यो भने यिनीहरुले माग वा आपूर्ति दिएर त्यसलाई स्थिर बनाउन सक्छन् ।

नेपालका बैंक तथा बिमा कम्पनीहरुको पनि सेयर बजारमा लगानी रहेको छ । तर यिनीहरुले नियामकले तोकेको क्षेत्रमा सीमित रकममात्र लगानी गर्न पाउछँन् । सेयर बजार विश्लेषक तथा जानकारहरुका अनुसार सरकारले संस्थागत लगानीकर्तालाई सेयर बजारमा भित्र्याउनका लागि लगानीमैत्री नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ ।

बजारको विकास तथा थप लगानीकर्ताहरुको सभागिता बढाउन संस्थागत लगानीकर्तालाई सहुलियत प्रदान गरेर बजारमा भित्र्याउन प्रोत्साहन गर्नुपर्ने उनीहरु बताउँछन् । तर सरकारको विभिन्न कसिलो नीतिका कारण संस्थागत लगानीकर्ताहरु बजार प्रवेश गर्न खासै रुचि नदेखाएको उनीहरुको भनाई रहेको छ । 
 
संस्थागत लगानीकर्तालाई बन्देज लगाएर सेयर बजारको विकास नहुने जानकारहरुबताउँछन् । जुनसुकै राष्ट्रको पुँजी बजार विकासमा संस्थागत लगानीकर्ताको भूमिका सबैभन्दा ठूलो र महत्वपूर्ण रहेको हुन्छ । संस्थागत लगानीकर्ताले कुनै पनि सेयरको उचित मूल्य निर्धारणमा महत्वपूर्ण भुमिका खेल्ने हुनाले तिनीहरुकै कारण सेयर बजारमा तरलता पैदा हुने विश्वास गरिन्छ ।

यस्ता लगानीकर्ताहरुसँग ठूलो फन्ड हुने भएकाले बजार तलमाथि गर्न सक्ने ताकत रहेको मानिन्छ । सरकारलाई सबैभन्दा बढी राजस्व पनि संस्थागत लगानीकर्ताबाट उठाउन सक्छ । यसर्थ, संस्थागत लगानीकर्तालाई विभिन्न बन्देज लगाउनुको कुनै अर्थ नरहेको यसको पक्षमा वकालतहरुको भनाई रहेको छ । संस्थागत लगानीकर्ताहरुले ब्याजर व्यक्तिगत लगानीकर्ताको भन्दा कम हुनुपर्ने माग गरेका छन् । यसबाट सस्थागत लगानीकर्ताहरुको सहभागिता बढ्ने उनीहरु बताउछँन् ।
 
अमेरिकामा संस्थागत लगानीकर्ताको इक्विटी बजार पुँजीकरणमा लगभग ८०% स्वामित्व रहेको पाइन्छ । यसरी विकसित मुलुकको उदाहरण दिंदै उनीहरुले नेपालमा पनि संस्थागत लगानीकर्तालाई लगानीयोग्य वातावरण बनाउन सरकारसँग माग गरेका हुन् । यसले सरकारको राजस्व पनि बढ्ने र बजार अहिलेको जस्तो भोलाटाइल पनि नहुने उनीहरु बताउँछन् ।
 
के भन्छन् विश्लेषक तथा लगानीकर्ताहरु ? 
 
सेयर बजारका जानकार मुक्ति अर्याल संस्थागत लगानीकर्तालाई मार्केटमा ल्याउन पहिला नयाँ लाइसेन्स खोलिदिनुपर्ने बताउँछन् । उनले बजार विकासका लागि संस्थागत लगानीकर्ताहरुको निकै महत्वपूर्ण भुमिका रहेको बताए । अर्यालले भने, ‘नयाँ डिलरको लाइसेन्स दिनुपर्छ, मर्चेन्ट बैंकका साथै ब्रोकरहरुको नयाँ लाइसेन्स पनि खुल गर्नुपर्छ । पहिला उनीहरुलाई लगानी गर्ने वातावरण बनाइदिनुपर्छ ।

लगानी गर्न केही प्रतिबन्धहरु लगाइएका छन, त्यो प्रतिबन्ध हटाउनुपर्र्याे, उनले भने, ‘स्टक डिलर जसले ३९ वटा कम्पनीको सेयर कारोबार गर्न पाउँछ, त्यसले त्यो भन्दा धेरैको सेयर किनबेच गर्न पाउनुपर्छ । यस्ता नियमलाई हटाएर केही लचिलो व्यवस्था गरिनुपर्ने उनको भनाई रहेको छ । ‘सबैभन्दा पहिला लाइसेन्स खुला गर्नुपर्छ अनि अनि अरु विषयहरुलाई विस्तारै सुधार गर्दै लैजानुपर्छ’, उनले भने । 
 
अर्का लगानीकर्ता दीपेन्द्र अग्रवालका अनुसार सेयर बजार विकासका लागि संस्थागत लगानीकर्ताको अत्याधिक आवश्यकता रहेको छ । बजार घटेको वा बढेको बेलामा यिनीहरुले मार्केट मेकरको भूमिका निभाउने भएकाले संस्थागत लगानीकर्ताको धेरै महत्व रहेको उनी बताउँछन् । अग्रवालले भने, ‘बजार घट्दा उनीहरुले सप्लाइकन्ज्युम (उपभोग) गर्छन् भने बढ्दा सप्लाइ दिन्छन् ।

यस प्रक्रियाले बजारलाई स्थिर बनाउन सहयोग पुर्याउँछ । ‘उनीहरुको राम्रा कम्पनीमा लगानी रहेको हुन्छ, फन्डामेन्टल एनालिस्टहरुले मूल्यांकन गर्छन अनिमात्र लगानी गर्छन्, जसले गर्दा बजार राम्रो दिशमा जान्छ’, उनले भने । संस्थागत लगानीकर्ताको भुमिका कहिले पनि बिर्सिन नसकिने उनले बताए । अग्रवालले भने, ‘संस्थागत लगानीकर्ताबिना बजार परिपक्व पनि हुन सक्दैन ।’ 
 
र, अन्त्यमा 
 
त्यसो त हामीकहाँ ठूला र संस्थागत लगानीकर्ताहरुलाई पनि सेयर बजार सुधार भन्दा पनि चलखेलमा मात्र ध्यान दिने गरेको आरोप लाग्ने गरेको छ । जस्तो, म्युचुअल फन्डहरुले कर छुटसहितका सुविधा पाएका छन्, तर बजार प्यानिक भएका बेला पनि उनीहरुले पर्याप्त बाई गरेर साना र सर्वसाधारण लगानीकर्ताको मनोबल उकास्न सकेका छैनन् । यता, अरु प्रकारका ठूला र संस्थागत लगानीकर्ताहरुले पनि बजार घटबढ गर्नमै व्यस्त हुने गरेको आरोप लाग्ने गरेको छ ।

उनीहरुले मार्केट मेकरको भूमिका निर्वाह गर्न सकेका छैनन् । यस्तै, संस्थागत लगानीकर्ताले केन्द्रीय बैंकमात्र नभएर नेप्से, धितोपत्र बोर्ड, बिमा समिति तथा अर्थ मन्त्रालय लगायतका निकायबाट पनि आवश्यक समन्वय गरी आवश्यक नीतिनियम बनाउन सहजीकरण गर्नुपर्ने हुन्छ ।
 

Post Your Comment