Market Closed

अन्ततः खुल्ने भयो नयाँ ब्रोकर लाइसेन्स, चतुर रमेश हमालले यसरी मारे बाजी

13 Sep,2022
  • ramesh_hamal__9_13_2022_8_01_43.jpg
नेपाली पैसा  
 
काठमाडौं : अन्ततः नयाँ ब्रोकरले लाइसेन्स पाउने भएका छन् । वर्षौंदेखिको चलखेल र सिन्डिकेटलाई अन्त्य गर्दै धितोपत्र बोर्डले तत्कालै नयाँ ब्रोकरहरुलाई लाइसेन्स दिने भएको हो । यसका लागि धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीमा पाँचौं संशोधन गरिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एक हप्ता पनि नपुग्दै नियामावलीको पाँचौं संशोधन गरेको हो । एक साताअघि मात्र यसमा चौथो संशोधन गरिएको थियो । उक्त संशोधनमा ३ वर्षपछि मात्र लाइसेन्स खुला गर्ने किसिमको व्याख्या गरिएकाले त्यसलाई स्पष्ट पार्दै पाँचौं संशोधन गरिएको हो ।

तथापि, पाँचौं संशोधनसहितको नियमावली धितोपत्र बोर्डले सार्वजनिक भने गरिसकेको छैन । नयाँ लाइसेन्स खुलाउने र रोक्ने सन्दर्भमा यसपटक राम्रै रस्साकस्सी चल्यो । लाइसेन्स जसरी पनि रोक्ने पक्षमा ब्रोकरहरु सक्रिय भएर लागेका थिए । यसका लागि उनीहरुले विभिन्न शक्ति केन्द्रलाई प्रयोग गरेको छर्लङै भएको थियो । विशेषगरी गृहमन्त्री बालकृष्ण खाँडलाई उनीहरुले प्रयोग गरेको समाचारहरु बारम्बार सार्वजनिक भए ।

क्याबिनेट मिटिङमा आफ्नो क्षेत्राधिकार भन्दा पनि बाहिर गएर मन्त्री खाँडले प्रस्तुत गरेको अनावश्यक रवैयाले पनि यसको थप पुष्टि गरेको थियो । यसलाई सकेसम्म आचार संहिता लाग्ने समयसम्म धकेल्न विभिन्न प्रपञ्च पनि भयो । कानुन समितिमा पठाउनेदेखि विधायन समितिले थप गञ्जागोल बनाउने र दोहोरो अर्थ लाग्ने गरी व्याख्या गराउनेसम्मका हर्कत भए । यसमा प्रशासनतन्त्रका केही सचिव र सहसचिवहरुको पनि साथ र समर्थन रह्यो । तर अन्तिममा उनीहरुले यो खेलमा पराजित भएका छन् । 
 
पाँचौ संशोधनका लागि यसपटक धितोपत्र बोर्ड नेतृत्वले निकै सावधान र चलाखीका साथ काम अघि बढायो। विभिन्न अवरोधका बीच नयाँ ब्रोकर लाइसेन्स खुला गर्ने प्रस्ताव धितोपत्र बोर्डले अर्थ मन्त्रालय हुँदै क्याबिनेट पठाएको थियो । तर चौथो संशोधन भएर आउँदा उल्टोपाल्टो र गञ्जागोल पारिएपछि धितोपत्र बोर्डका अध्यक्ष निकै रुष्ट बनेका थिए ।

अब जसरी पनि ब्रोकरहरुको सिन्डिकेटलाई परास्त गरेरै छाड्ने उनले दृढ अठोट लिए । तत्काल गोप्य परामर्श गरेर उनले तुरुन्तै अर्थमन्त्री जनार्दन शर्मालाई कन्भिन्स गरेर पाँचौ संशोधनक लागि क्याबिनेटमा पठाउन सफल भए । ‘यी कार्यहरु यति गोप्य तरिकाले भयो कि, धितोपत्र बोर्डका कर्मचारीहरुले समेत यसको सुईंको समेत पाएनन् । ब्रोकरहरु पनि नराम्रोसँग चिप्लिए’, स्रोत भन्छ ।  
 
यी सबै परिघटनाहरुले यसपटक धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र ब्रोकरहरुबीच प्रतिष्ठाको लडाईं नै चल्यो । अन्ततः नियामकसँग पौंंठे जोरी खेल्न खोज्ने ब्रोकरहरु यसपटक परास्त भए । यससँगै अब ब्रोकरहरुको सिन्डिकेट तोडिएको छ । केही दिनभित्रै नयाँ ब्रोकरको लाइसेन्स खुला हुनेछ । यस पटक लाइसेन्स खुला भएप्छि पुनः नयाँ आव्हान भने ३ वर्षपछि मात्र हुनेछ । 
 
अब ब्रोकर कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्नेछ । जस अनुसार सीमित कारोबार गर्नेको न्यूनतम चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ । 

यो पनि पढ्नुहोस् 

ब्रोकर लाइसेन्समा फेरि पनि चलखेल, अझै ३ वर्ष नयाँलाई आउन नदिने प्रपञ्च

 
 

Post Your Comment