Market Closed

खर्बपति सीइओहरुको तलब जम्मा १ डलर, साँच्चिकै उनीहरुले यति थोरैमै काम गरेका हुन् त ?

15 Sep,2022
  • CEO--1-Salary-_9_15_2022_9_07_23.jpg
निराजन सापकोटा
 
काठमाडौ : विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको वार्षिक पारिश्रमिक केवल १ डलर रहेको छ । टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मस्क १ डलर मात्र तलब लिने अन्य विभिन्न सीइओहरु मध्ये एक हुन् । मस्क जस्तै ट्विटरका पूर्व सीइओ ज्याक डोर्सी, मेटाका सीइओ मार्क जुकरबर्ग, गुगलका सह–संस्थापक ल्यारी पेज र सर्गेई ब्रिन लगायत अमेरिकाका केही चर्चित र धनी व्यक्तिहरूले पारिश्रमिक बापत केवल १ डलर मात्र लिने गरेका छन् । एप्पलका सह–संस्थापक स्टिभ जब्सले पनि १ डलर तलब लिने गरेका थिए । 
 
यस्ता, धेरै व्यक्तित्वहरु छन् जसले आफू सीइओ वा सो सरहको उच्च पदमा रहँदा कम्पनीबाट १ डलर मात्र पारिश्रमिक लिने गर्छन् । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो कार्यकालमा १ डलर तलब मात्र लिने घोषणा गरेका थिए । फोब्र्सको सूचीमा रहेका अधिकांश अमेरिकीहरुले १ डलर तलब लिने गरेका छन् । यति थोरै तलब लिने व्यक्तिहरु कसरी धनी वा खर्बपति बन्न सक्छन् भन्ने सबैको चासोको विषय हो । १ डलर तलब देख्दा धेरै सामान्य लाग्न सक्छ तर यसको फाइदा भने लाखौं डलर तलब लिएको भन्दा बढी रहेको छ ।
 
धेरैलाई लाग्न सक्छ यिनीहरुले आफ्नो कम्पनीको पैसा जोगाउन यस्तो गरेका हुन् । तर १ डलर मात्र तलब लिनुको पहिलो कारण सरकारलाई कर तिर्नबाट जोगिनु हो । सामान्यतयः जुनसुकै देशका सीइओहरुको तलब कम्पनीको अन्य कर्मचारीको भन्दा धेरै हुने गर्छ । पद अनुसार करोडौंको आम्दानी भएपछि सरकारलाई पनि सोही अनुसार आयकर बुझाउनु पर्छ । अमेरिकामा आम्दानी अनुसार ३७% सम्म आयकर तिर्नुपर्ने व्यवस्था रहेको छ ।
 
कर तिर्नबाट बच्न उनीहरु पारिश्रमिकस्वरुपः सोही कम्पनीको सेयर लिने गर्छन् । जबसम्म कम्पनीको सेयर बिक्री हुँदैन तबसम्म सरकारलाई कुनै कर तिर्नु पर्दैन । यदि बिक्री गरेमा पनि पुँजीगत लाभकर आयकर भन्दा कम हुन जान्छ । पुँजीगत लाभकर सामान्यतयः १५ देखि २०% सम्म तिर्नुपर्ने हुन्छ । त्यस्तै, अर्को कारण हो लगानीकर्तालाई कम्पनीप्रति विश्वास दिलाउनु ।

यदि कम्पनीको सीइओ वा संस्थापकले नै तलबको साट्टा सेयर लिन्छन् भने लगानीकर्तालाई त्यो कम्पनीप्रति निकै विश्वास बढ्न जान्छ । यसले सीइओलाई कम्पनीको भविष्यप्रति विश्वास रहेछ भन्ने पनि जनाउँछ । जसले गर्दा लगानीकर्ताहरुले यसमा लगानी पनि बढाउँदै जान्छन् अनि सेयर मूल्य पनि सोही अनुसार बढ्दै जान्छ । जसको प्रत्यक्ष फाइदा तिनीहरुलाई नै हुन पुग्छ जसको सेयर संख्या धेरै छ । 
 
कम्पनीको सेयर मूल्य बढ्दा आफ्नो सम्पति पनि त्यसै अनुसार वृद्धि हुँदै जान्छ । सामान्यतयः धनाढ्यहरुको सम्पतिको मूल्याङ्कन तिनीहरुसँग रहेको सेयर मूल्यबाट निर्धारण गरिन्छ । सन् २०११ मा ओरेकलका संस्थापक तथा सीइओले १ डलर तलब लिएका थिए तर कम्पनसेसनका रुपमा पाएको सुविधा बापत भने उनले ७७ मिलियन डलर आम्दानी गरेका थिए ।
 
स्टार्टअप र घाटामा रहेका कम्पनीहरुलाई बन्द हुनबाट जोगाउन यस्तो व्यवस्था गरिएको हो । तर यसको गलत फाइदा ठूला कम्पनीका संस्थापहरुले पनि मज्जाले उठाएका छन् । सीइओ सरहका पदाधिकारीहरुले कम्तिमा पनि १ डलर भने तलबस्वरुपः लिनैपर्ने कानुनी व्यवस्था रहेको छ । १ डलर तलबको सुरुवात भने सन् १९४० दोस्रो विश्व युद्धको समयमा भएको थियो ।

अमेरिकाका ठूला कम्पनी र सरकारी अधिकारीले देशको अर्थतन्त्र सुधार गर्नका लागि आफूले १ डलर पारिश्रमिकमा काम गरेका थिए । यसले सरकारलाई त्यतिबेला फाइदा भएको थियो । तर अहिले यसरी ठूला कम्पनीका सीइओले १ डलर मात्र तलब लिँदा सरकारलाई अर्बौं डलर नोक्सानी हुने गरेको छ ।
 

Post Your Comment