Market Closed

बुक बिल्डिङ र प्रिमियममा आइपीओ ल्याउने सिमेन्ट कम्पनीहरुको दाउ, विदेशी बजार पनि ताक्दै

16 Sep,2022
  • ipos_new_9_16_2022_8_51_21.jpg
निराजन सापकोटा 
 
काठमाडौ : सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति कुरेर बसेको छ । कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता आइपीओ निष्कासन गर्न अनुमति मागेको हो । त्यस्तै, घोराही सिमेन्टले पनि प्रिमियममा ३ अर्ब ४४ करोड १६ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको छ । बुक बिल्डिङ नेपालमा नयाँ अभ्यास हो । धितोपत्र बोर्डले यस विधिबाट आइपीओ जारी गर्न दिने भएसँगै विशेषगरी सिमेन्ट कम्पनीको आकर्षण पनि बढ्दो देखिन्छ ।
 
रियल सेक्टरका कम्पनीमध्ये प्रायः सिमेन्ट उद्योगहरुले बुक बिल्डिङ वा प्रिमियममा आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेका छन् । यता, अर्घाखाँची सिमेन्टले पनि बुक विल्डिङ विधिबाट आइपीओ ल्याउने तयारी थालेको छ । त्यस्तै, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले प्रिमियममा आइपीओ जारी गर्ने घोषणा गरेको छ । पछिल्लो समय नेपालमा सिमेन्ट कम्पनीहरुको संख्या पनि बढ्दै गएको छ ।
 
 प्रतिस्पर्धा गर्न र लगानी बढाउन पुँजी पनि थप गर्नुपर्ने हुन्छ । बुक बिल्डिङ वा प्रिमियममा आइपीओ जारी गर्दा कम्पनीहरुले प्रिमियम बापतको रकम आफूले प्रयोग गर्न पाउँछन् । त्यसैले पनि उनीहरुलाई यसमा आकर्षण बढेको देखिन्छ । यसअघि शिवम् सिमेन्ट्सले पनि सर्वसाधारणलाई प्रिमियमसहित ३०० रुपैयाँमा आइपीओ बिक्री गरेको थियो । धितोपत्र निष्कासन गर्ने सिमेन्ट कम्पनीमध्ये यो पहिलो भने होइन । हिमाल सिमेन्टले धेरै पहिला सर्वसाधारणलाई आइपीओ जारी गरेको थियो तर अहिले यो कम्पनी अस्तित्वमा नै छैन । 
 
कम्पनीहरुले प्रिमियमको रकम पाउने हुँदा बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्न रुचाएका सेयर बजारका एक जानकारले बताए । उनले भने, ‘कम्पनीले प्रिमियम पाउँछ, बुक बिल्डिङ धेरै राम्रो हो, यसले बजारमा रियल सेक्टरका कम्पनीहरु थपिँदै जान्छन् ।’ एउटा कम्पनीले आइपीओ जारी गरेपछि अरुले पनि बजार आकर्षण देखेर सोही बाटो अपनाउन लागेको हुन सक्ने उनले बताए ।

‘लगानीकर्तालाई १०० रुपैयाँमा खरिद गरे जस्तो भने हँदैन, बुक बिल्डिङ केही महँगो हुन्छ तर नयाँ इन्भेष्टमेन्टको अवसर भने मिल्छ’ उनले भने, ‘बुक बिल्डिङ विधि नल्याउने हो भने त्यस्ता रियल सेक्टरका कम्पनीहरु बजारमा आउँदैनन् ।’ वास्तविक क्षेत्रका कम्पनीहरुको आफ्नो प्रत्यक्ष क्षेत्रसँग नियामक निकाय छैन । प्रतिस्पर्धी बजारमा कम्पनीहरुलाई नाफा कमाउन पनि उतिकै कठिन हुने देखिन्छ ।

तर सरकारले चालु आर्थिक वर्षदेखि सिमेन्ट निर्यात गर्दा अनुदान दिने व्यवस्था गरेसँगै गत असारदेखि पाल्पा सिमेन्टले आफ्नो उत्पादन भारत निर्यात गर्न थालेको छ । अरु कम्पनीले पनि अब सिमेन्ट निर्यात गर्ने तयारी थाल्दै छन् । यसबाट विदेशी बजार सिमेन्ट कम्पनीहरुका लागि राम्रो अवसर हुन सक्ने देखिन्छ ।  
 
अहिले नेपालमा सिमेन्टको आयात लगभग शून्य जस्तै रहेको छ । माग भन्दा बढी उत्पादन हुन थालेपछि कम्पनीहरुले निर्यातको विकल्प रोजेका हुन् । त्यसैले पनि सिमेन्ट उद्योहरुलाई थप पँुजी परिचालन गर्न लगानी आवश्य रहेको देखिन्छ । नेपालमा १२४ सिमेन्ट कम्पनी दर्ता छन् । जसमध्ये ५५ वटा मात्र सञ्चालनमा रहेका छन् । ती कम्पनीहरु स्वदेशी तथा विदेशी साँझेदारीमा सञ्चालित छन् ।
 
धितोपत्र बोर्डले पनि बजारमा धेरै भन्दा धेरै रियल सेक्टरका कम्पनीहरु भित्र्याउन आफूले पहल गरको बताउँछ । लगानीकर्ताहरुको माग पनि त्यस्ता कम्पनीलाई बजारमा ल्याउन सरकारले सहुलियत दिनुपर्ने नै रहेको छ । यसरी आवाज उठिरँहदा धेरै त्यस्ता सिमेन्ट कम्पनीहरु पनि छन् जसले बजारबाट आफ्नो लगानी उठाउन सकेका छैनन् र घाटामा रहेका छन् । बोर्डले आइपीओ जारी गर्न अनुमति दिँदा यस विषयमा पनि ध्यान दिनुपर्ने देखिन्छ । 

Post Your Comment