Market Closed

अमेरिकी डलरको भाउ २० वर्षकै उच्च विन्दुमा, भारतीय रुपैयाँ इतिहासकै कमजोर

22 Sep,2022
  • -1x-1_9_8_2022_12_23_05.jpg
नेपाली पैसा
 
काठमाडौं : अमेरिकी डलरको भाउ २० वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बुधबार अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर थप ७५ बेसिस पोइन्ट (आधार विन्दु) ले बढाएपछि डलर बलियो बनेको हो । फेडरल रिजर्भले आगामी दिनमा ब्याजदर थप ठूलो विन्दुले बढ्न सक्ने पनि संकेत गरेको छ । तसर्थ, आगामी दिनमा अमेरिकी डलर थप बलियो हुने अनुमान गरिएको छ । 
 
फेडरल रिजर्भको नयाँ प्रक्षेपण अनुसार उच्च मूल्यवृद्धिलाई नियन्त्रणका लागि सन् २०२२ को अन्त्यसम्ममा नीतिगत दर ४.४% र सन् २०२३ मा ४.६% विन्दुमा पुग्ने देखिएको छ । सन् २०२४ सम्म ब्याजदर कटौती हुने सम्भावना देखिएको छैन । यता, डलर बलियो भन्दै जाँदा भारतीय मुद्रा भने इतिहासकै कमजोर विन्दुमा झरेको छ । बिहीबार भारतीय रुपैयाँ (भारु) को कारोबार इतिहासकै न्यून विन्दुबाट सुरु भएको छ । 
 
बिहीबार एक अमेरिकी डलर बराबर ८०.२८५० भारुबाट खुला भएको कारोबार ८०.५८ भारुसम्म पुगेको हो । भारतको राष्ट्रिय अर्थतन्त्रका सम्भावनाहरुमा सुधार देखिएपनि भारुले भने थप दबाब भोग्नुपर्ने अनुमान गरिएको छ । भारतीय रिजर्भ बैंकले भारुको गिरावट नियन्त्रणका लागि ठूलो रकम विदेशी मुद्रा सञ्चिति खर्च गरेको थियो । यद्दपि, पछिल्लो समय भारतको बैंकिङ प्रणालीमै तलरता संकुचन देखिएपछि भारतको केन्द्रीय बैंकलाई पनि दबाब परेको छ । 

Post Your Comment