Market Closed

सेयर बजारमा क्रेता–बिक्रेता दुवै पक्ष किन भएनन् एग्रेसिभ ?

22 Sep,2022
  • bull-and-beads_9_22_2022_3_14_18.jpg
नेपाली पैसा 
 
काठमाडौं : पुँजी बजारको वृद्धि एक दिनभन्दा बढी टिक्न सकेन । भदौमा निक्षेपमा आकर्षक बढोत्तरी भएको खबर बाहिरिएसँगै बुधबार नेप्से सूचक दोहोरो अंकले बढेको थियो । तर यो वृद्धि बिहीबार टिक्न सकेन । यस दिन नेप्से सूचक ९.८३ अंकले घटेर १८३८.९६ विन्दुमा अडिएको छ । खरिदबिक्री रकम पनि सुस्त भएको छ । करिब ६५ करोड ५७ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । सामलिङ पावरको भाउ सर्किट लेबलमा वृद्धि भएको छ । 
 
सूचक तल झरिरहँदा खरिदबिक्री रकम पनि निकै सुस्त देखिएको छ । सेयर मूल्यहरु निकै सस्तो भइसकेकाले अत्यावश्यक अवस्थामा भने बिक्री गर्न खासै कोही तयार देखिएका छैनन् । यस्तै, क्रेताहरु भने अझै सस्तोमा पाइन्छ कि भनेर दाउ हेरेर बसिरहेका छन् । बजार बियरिस चक्रमा भएकाले क्रेताहरुले पनि किन्न हतार नगरेका हुन् । यसरी क्रेता र बिक्रेता दुवैको गतिविधि सुस्त हुँदा कारोबार रकम खुम्चिएको हो । यस्तै, अब विस्तारै दसैं–तिहारजस्ता चाडपर्व नजिकिएका छन् ।

चाडपर्वका कारण पनि आम लगानीकर्तामा अब फेस्टि मुड सुरु हुनेछ । यसले पनि बजारलाई सुस्त बनाउँछ । तथापि, बजार भाउ निकै तल्लो विन्दुमा आइसकेका बेला कारोबार रकम खुम्चिनुले अब प्यानिक सेल सकिंदै गएको र लगानीकर्ताहरुमा सानो–सानो मूल्यमा पनि बार्गेनिङ सुरु हुन थालेको बुझ्न सकिन्छ । यसले एउटा चरण पार गरेपछि बजारले फेरि माथितिरको यात्रा तय गर्न सक्ने जानकारहरु बताउँछन् । 
 
पछिल्लो समय बैंकहरुमा निक्षेप थपिंदै गएको छ । त्यस अनुपातमा कर्जा प्रवाह भएको छैन । चाडपर्वमा रेमिटेन्स बढ्ने गर्छ । यस्तै, मंसिर ४ मा हुने चुनावले पनि बजारमा पैसाको आपूर्ति बढाउने छ । यी परिदृश्यहरुमा आगामी दिनमा वित्तीय प्रणालीमा क्रमशः तरलता सहज हुँदे जाने कतिपयको विश्लेषण रहेको छ । तर ब्याजदर उच्च रहेको र बजार बियरिस चक्रमा रहेका बेला लगानीकर्ताले अलि दीर्घकालीन सोच राख्नुपर्ने विश्लेषकहरु बताउँछन् ।



वित्तीय सूचक सबल भएका, लाभांश क्षमता उच्च रहेका अनि भविष्यमा ग्रोथको सम्भावना पनि बढी भएका कम्पनीहरुमा योजनाबद्ध हिसाबले लगानी गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् । बजारमा आम लगानीकर्ताको मनोविज्ञान पनि सर्वोपरि हुने भएकाले घटेको बजार फेरि वृद्धि हुन्छ भन्ने सोच राख्न विश्लेषकहरुले सुझाव दिने गरेका छन् । 
 
यस दिन २२९ कम्पनीको २५ लाख ४२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २ करोड ५८ लाख रुपैयाँभन्दा बढीसहित नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः बोटलर्स नेपाल र अपि पावर परेका छन् । 

Post Your Comment