Market Closed

काठमाडौंबाट यस वर्ष दशैंमा गत सालभन्दा दोब्बर बढी यात्रु बाहिरिने अनुमान

22 Sep,2022
  • Dashain-ticket-opens_9_7_2022_5_16_53_9_16_2022_12_43_35_9_17_2022_8_13_57_9_19_2022_11_48_05_9_22_2022_6_42_54.jpg
काठमाडौं : यस वर्ष दशैं, तिहार तथा छठलगायतका चाडपर्वका लागि काठमाडौं उपत्यकाबाट गत सालभन्दा बढी यात्रु बाहिरिने भएका छन् । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि यस वर्ष बढी बाहिरिने जनाइएको छ । गत वर्षमा झन्डै १० लाख हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष त्योभन्दा दोब्बर संख्यामा बाहिरिने अनुमान गरिएको राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष रामप्रसाद सुवेदीले जानकारी दिए ।
 
‘अहिले चहलपहल बढेको छ र घटस्थापनापछि अझै पनि बढ्नसक्छ’, उनले भने, ‘चुनावी चहलपहल र कोरोना कम भएकाले यस वर्ष बढ्नसक्छ ।’ सरकारले १० गतेबाट २५ ठाउँमा यात्रु सहायता कक्षको व्यवस्था गर्न लागिएको छ । तोकिएभन्दा फरक भाडा लिँदा वा कुनै पनि किसिमको दुव्र्यवहार हुँदा सम्पर्कमा राख्न उपाध्यक्ष सुवेदीले यात्रुलाई अनुरोध गरे । ठाउँठाउँमा कुनै पनि समस्या हुँदा सम्पर्क गर्न प्रहरी र महासंघको नम्बर टाँस्ने उनको योजनामा छ । उनले भने, ‘अघिल्ला वर्षमा कोभिडका कारण उत्साहपूर्ण नभएकाले यो वर्ष केही उत्साह थपिने अनुमान छ ।’
 
चितवनसम्म सडकको अवस्था राम्रो भए पनि बुटवल–नारायणगढ सडक नाजुक भएकाले आवतजावत गर्न अप्ठ्यारो भएको जनाइएको छ । अहिले नारायणगढबाट बुटवलसम्म पुग्न नै ५ घण्टा लाग्ने अवस्था छ । उपत्यकाबाट बाहिर र बाहिरका जिल्लाबाट उपत्यका प्रवेश गर्ने यात्रुका लागि सरकारले गत शनिबारबाट अग्रिम टिकट खुलाइएको छ । यातायात व्यवस्थापनलाई सहज बनाउन सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीमा अग्रिम टिकट खुलाएका हुन् । 
 
विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी सम्मिलित भदौ २२ गतेको बैठकले सो निर्णय गरेको थियो। यात्रुको सहजतालाई ध्यान दिएर अनलाइन बुकिङको व्यवस्था मिलाउने र यात्रुलाई छुट र सहुलियत प्रदान गर्ने निर्णय भएको थियो । कोभिड–१९ माहामारीलाई मध्यनजर गर्दै मास्कको प्रयोग अनिवार्य गरिएको विभागले जनाएको छ । उपत्यका भित्रने र बाहिरिने सवारीसाधनको विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी, मजदुरसँग सहकार्य गरेर प्रभावकारी अनुगमनको व्यवस्था गर्ने बताइएको छ ।
 
सुरक्षित रूपमा यात्रु घर जानसक्ने वातावरण बनाउन यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरीलगायत सबै लाग्न जरुरी रहेको वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । उनले सबै क्षेत्रले यात्रुबाहक सवारीसाधनलाई पहिलो प्राथमिकतामा दिएर त्यसपछि मात्रै निजी र मालबाहक सवारीसाधनलाई दिनुपर्ने बताए । अहिले अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक अठार र बीसचक्के सवारीसाधन चल्नुहुँदैन । यातायात व्यवस्था विभागले १५ गतेबाट यी मालबाहक सवारीसाधन रोक्ने निर्णय गरेको छ । 
 
विभागले यात्रुको जानकारी लागि ठाउँठाउँमा भाडाको दर राख्नुपर्ने विभागले जनाएको छ । सामान्य, डिलक्स, सुपर डिलक्स र एसी गाडी चार थरीका गाडीमा तोकिएको भाडा लिन जनाइएको छ । यात्रुले तोकिएको ठाउँमा नै गएर टिकट काट्दा मात्रै ठगिनबाट बच्न सक्नेछन् । विभागले १४ ठाउँमा नागरिक सहायता कक्षको व्यवस्था गर्ने भएको छ । त्योसँगै सडक राम्रो बनाउन समन्वय गर्ने, ट्राफिक व्यवस्थापन विभागको काम हो । यातायात व्यवसायीले भएका सवारीसाधनमार्फत यात्रुलाई गन्तव्यसम्म पु¥याउने वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । 
 
यस वर्ष नयाँ सवारीसाधन नआएकाले हाल भएकालाई व्यवस्थापन गर्ने महासंघले जनाएको छ । शनिबारदेखि नै टिकट लिन थालिए पनि असोज १० गतेबाट धेरै यात्रु जानेछन् । हाल भएका यात्रुमध्ये कोही अहिलेदेखि नै जान थाल्छन् भने कोही घटस्थापनादेखि जाने र सबैभन्दा बढी चाप फूलपातीपछि हुने उनले बताए । उनले भने, ‘फूलपातीपछि अति धेरै चाप हुन्छ ।’यात्रु सजिलो रूपमा आवतजावत गर्न सबैले आआफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । व्यवसायी, मजदुर र ट्राफिक, विभागले भूमिका निर्वाह गरेपछि मात्रै यात्रु सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सक्ने उनले बताए ।

सरकारले अनलाइन टिकट सुरु गरे पनि त्यसको प्रयोग अपेक्षाअनुसार बढ्न सकेको छैन । पहिलेभन्दा केही बढे पनि अझै व्यवस्थित हुन नसकेको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए । अहिलेको समयमा सधैँ यात्रु लाममा लागेर नहुने भए पनि सरकारले अनलाइन टिकटलाई प्रभावकारी बनाउन सकिरहेको छैन । प्रविधिको विकासदेखि सडक मर्मतका विषयमा समयमा नै सुरु गर्नुपर्ने भए पनि चाडपर्व नजिकै आएपछि मात्रै सबै पक्षले ध्यान दिने उनले बताए । यात्रुले काउन्टरमा टिकट काटेपछि हेरेर मात्रै हिँड्नुपर्ने उनले बताए ।

आफू जाने ठाउँ, मिति मागेको सिट हो÷होइन तत्काल हेरेर सच्याउनुपर्ने उनले  सुझाव दिए । दशैं, तिहार, छठसँगै निर्वाचनमा जाने यात्रु यो अवधिमा बाहिरिने महासंघले जनाएको छ । सडकमा रहेका खाल्डाखुल्डी र पहिरो पन्छाउन ‘हेभिइक्वुपमेन्ट’ ठाउँठाउँमा राख्न वरिष्ठ उपाध्यक्ष सिटौलाले सडक विभागलाई अनुरोध गरेका छन् । यस वर्ष वर्षाले गर्दा देशभरका धेरै सडकमा खाल्डाखाल्डी परेका छन् । वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरोका कारण अहिले पनि सडक बन्द भइरहेको उनले बताए ।

काठमाडौंबाट सदरमुकाम गएर त्यहाँबाट यात्रु गाउँगाउँमा जानुपर्ने उनले बताए । उनले भने, ‘गाउँका पहाडी भेगका सडक पनि त्यहाँका डिभिजन सडक कार्यालयले खाल्डा पुर्ने, अवरोध हटाउने र सवारीसाधन चल्न सक्ने बनाउनुपर्छ ।’ 
 
 
रासस
 

Post Your Comment