Market Closed

एसएमई प्लेटफर्म अहिलेसम्म कुरामै सीमित, नीतिगत अन्योलता छ कहिले होला लागू ?

22 Sep,2022
  • SME_NEW_9_22_2022_8_24_10.jpg
इशारा कोइराला
 
काठमाडौं : विगत लामो समयदेखि साना तथा मझौला उद्योग (एसएमई) हरुको सेयर कारोबारका लागि छुट्टै प्लेटफर्म सञ्चालन हुने विषयले चर्चा पाउँदै आएको छ । तथापि, यसले पूर्णता पाउने हो वा होइन भन्नेमा चाहिँ अझै अन्योलता छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सार्वजनिक कार्यक्रममा नै भदौ महिनाभित्र एसएमई प्लेटफर्म सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । तर, असोज पहिलो साता बितिसक्दा पनि यसमा नीतिगत अन्योलता नै कायम रहेको बुझिएको छ ।
 
तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको पालामा नै एसएमई प्लेटफर्म सञ्चालनका लागि अध्ययन गर्न एउटा समिति गठन भएको थियो । उक्त समितिले यसबारेमा अध्ययन गरेर प्रतिवेदन पनि तयार गरेको थियो । तथापि, बोर्डले अध्ययन गरेर तयार पारेको प्रतिवेदन भने समय सापेक्ष नरहेको नेप्से स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘बोर्डको अध्ययन प्रतिवेदन र अन्तराष्ट्रिय अभ्यासमा कुनै तालमेल नै मिलेको छैन ।’
 
अन्तर्राष्ट्रिय अभ्यास अनुसार एसएमई प्लेटफर्ममा सूचीकृत नभएका साना तथा मझौला कम्पनीहरुलाई सूचीकृत गरेर कारोबार हुँदै आएको छ । तर, बोर्डको अध्ययन प्रतिवेदन भने सूचीकृत भएका नै कम्पनीहरुलाई चुक्ता पुँजीको आधारमा एसएमई कम्पनी छुट्याएर कारोबार गर्ने भन्ने रहेको स्रोतले बतायो ।

अध्ययन प्रतिवेदनका अनुसार २५ करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका कम्पनीहरुलाई एसएमई प्लेटफर्ममा सञ्चालन गर्ने भन्ने रहेको छ । अध्ययन प्रतिवेदनमा हाल कायम २५ करोड रुपैयाँभन्दा कम पुँजी भएका कम्पनीहरुलाई पनि एसएमई प्लेटफर्ममा सूचीकरण गर्ने भन्ने छ । त्यो त सीधै कम्पनीको सेयर मूल्यमा खेलवाढ गर्नु मात्र हो ।’
 
एसएमई प्लेटफर्म सञ्चालन गर्दा नीतिगत स्पष्टता हुन आवश्यक छ 
 
अहिले धितोपत्र बोर्डले एसएमई प्लेटफर्मलाई छिट्टै सञ्चालन गर्ने बताए पनि नीतिगत स्पष्टता हुन आवश्यक रहेको नेप्से स्रोतको भनाई छ । ‘एसएमई प्लेटफर्मका लागि पहिला स्पष्ट खालको कार्यविधि बनाउनुपर्छ’ स्रोतले भन्यो धितोपत्र बोर्डसँगको छलफलमा त्यो स्पष्टता देखिएको छैन ।’

साना तथा मझौला कम्पनीहरुले अहिले भएको धितोपत्र सूचीकरणसम्बन्धी नीतिलाई कार्यान्वयन गर्न गाह्रो हुन्छ । त्यसैले उनीहरुलाई सूचीकण गर्नको लागि सहज किसिमको छुट्टै कारोबार सम्बन्धी नियमावली बनाउन आवश्यक छ । त्यसमा इस्यू म्यानेजरदेखि सूचीकरणको प्रक्रियासम्म उल्लेख गर्न आवश्यक छ । यसमा सहज प्रक्रिया बनाउन आवश्यक देखिन्छ ।
 
नियमावली बनाउन समिति गठन
 
धितोपत्र बोर्ड अध्यक्ष हमालले एसएमई प्लेटफर्म सञ्चालनका लागि नियमावली बनाउन समिति गठन गरेको बताएका छन् । साथै, उनले नेप्सेलाई एसएमई कम्पनीहरुको सेयर कारोबार गर्नका लागि छुट्टै प्लेटफर्म निर्माण गर्न नेप्सेलाई निर्देशन दिएको बताउँदै आएका छन् । 

तथापि, नेप्सेका अधिकारीहरु भने बोर्डले देखाउनका लागि मात्रै निर्देशन दिएको आरोप लगाउँछन् । नेप्सेका एक अधिकारीले भने, ‘नेप्सेको काम भनेको अन्तिममा प्लेटफर्म मात्रै निमार्ण गर्ने हो । बाँकी नियमावली बनाउने काम बोर्डको हो । नियमावली नै बनेको छैन । हामीले कसरी प्लेटफर्म निमार्ण गर्ने ।’
 
एसएमई प्लेटफर्म तत्काल सञ्चालनमा आउँदैन
 
धितोपत्र बोर्डका अध्यक्ष हमालले अब छिट्टै एसएमई प्लेटफर्म सञ्चालन गर्ने बताएका छन् । तर, नेप्सेका अधिकारीका अनुसार बोर्ड अध्यक्ष हमालले भनेझै तत्कालै एसएमई प्लेटफर्म सञ्चालन गर्न नसकिने बताए । ‘यसका लागि पहिला नेप्सेले नियमावली बनाउनुपर्छ । त्यसपछि प्रविधिक काम मिलाउनुपर्ने हुन्छ यो सबै प्रक्रिया पूरा गर्दा समय लाग्छ’ स्रोतले बतायो । 
 
यो प्रावधान कार्यान्वयनमा ल्याउन बोर्डले छिमेकी मुलुक भारतमा भएको अभ्यासलाई पनि अनुसरण गर्न लागेको बताएको छ । छिमेकी मुलुक भारतामा पनि बम्बई स्टक एक्सचेन्ज (बीएससी)ले स्मल एन्ड मिडियम इन्टरप्राइजेज (एसएमई) प्लेटफर्म सञ्चालनमा ल्याएको छ । सन् २०१२ देखि बीएससीले उक्त प्लेटफर्म सञ्चालनामा ल्याएको हो ।
 
तुलनात्मक रुपमा कम चुक्ता पुँजी भएका कम्पनीहरुमा सेयर आपूर्ति कम हुने भएकाले प्राइस बबल गरिने र यसबाट जोखिम पनि निकै बढी हुने गरेकाले पनि यसलाई ठूला र विकसित मुलुकमा पनि यसलाई अलग्याइने अभ्यास रहेको छ । अहिले यही अभ्यास नेपालमा पनि लागू गर्ने तयारी बोर्डले गरेको हो । तथापि, नीतिगत अस्पष्टताको कारण यसमा केही विलम्व हुने देखिएको छ । 
 

Post Your Comment