Market Closed

नेप्से पुनः यसअघिकै न्यूनतम विन्दुनजिक, १८ सय आसपासको तह परीक्षण गर्दै

25 Sep,2022
  • bull_n_besss_9_25_2022_3_15_38.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारको निराशाजनक प्रस्तुतिले आइतबार पनि निरन्तरता पाएको छ । सूचक तल झरिरहँदा दैनिक खरिदबिक्री रकम पनि न्यून रहेको छ । यस दिन नेप्से सूचक २३.८३ अंकले घटेर १८१५.१३ विन्दुमा आएको छ । १ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । नेप्से फेरि यसअघिकै न्यूनतम विन्दु नजिक आइसकेको छ । बजारले फेरि १८०० वा १८०७ अंकको तह परीक्षण गर्न सक्ने देखिएको छ । यसअघि पनि नेप्से इन्ट्रा डेमा यही १८०७ विन्दु आसपासमा आएर फर्किएको थियो ।

प्राविधिक विश्लेषकहरुले उनीहरुका भाषामा नेप्सेले डबल बटम बनाउन लागिरहेको बताएका छन् । तथापि, यो तहबाट बजार फर्किन्छ वा फर्किंदैन भन्ने अर्को महत्वपूर्ण पक्ष हो । यही तहबाट पुनः माथितिर लागेमा बजारले बटम लगाएको अनुमान गर्न सजिलो हुने उनीहरुको भनाई रहेको छ । बजार निकै तल्लो विन्दुमा आइसकेको छ । सूचक निरन्तर तल झर्दा सेयर मूल्य निकै सस्तो भइसकेको छ । पीई रेसियोलाई हेर्दा पनि भाउहरु निकै सस्तो बनिरहेको देखिन्छ ।

यसर्थ, दीर्घकालीन लगानीकर्ताका लागि यो समय सेयर खरिदको निकै उपयुक्त अवसर रहेको विश्लेषकहरुको भनाई रहेको छ । अब विस्तारै अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिन थालेको छ । रेमिटेन्स वृद्धि हुन थालेको छ । पर्यटन क्षेत्रमा सुधार आइरहेको छ । यसले विदेशी मुद्रा आर्जनमा सहयोग गर्नेछ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पनि घट्दो क्रममा रहेको छ । यसअघि १२३ डलर प्रतिब्यारेल पुगिसकेको तेलको मूल्य अहिले ७८ डलरमा आइसकेको छ । 
 
यता, बजारमा पनि लाभांशको सिजन सुरु भएको छ । सबल वित्तीय सूचक भएका राम्रो लाभांश क्षमता भएका कम्पनीहरुको सेयर मूल्य पनि निकै सस्तोमा किन्न सकिने अवस्था छ । लगानीकर्ताले समग्र पक्षमा विश्लेषण गरेर निर्णय लिन सक्नुपर्ने बजारका जानकारहरु बताउँछन् ।  बैंंकहरुले ब्याज वृद्धि गरेपछि सेयर बजार थप प्यानिक हुने अवस्थामा आएको हो ।  यद्यपि, अर्थतन्त्रका सूचकहरु क्रमशः सबल बन्दै गएको छ । निक्षेपमा क्रमशः सुधार हुँदै जाने संकेत देखिएको छ ।

अहिले बैंकहरुको ब्याजदर निकै उच्च विन्दुमा पुगिसकेको छ । उच्च विन्दुमा पुगेपछि फेरि ओर्लिने नै हो । यसर्थ, आम लगानीकर्ताले बजारको चक्रलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । लाभांश सिजन चलेको छ । यस्तो अवस्थामा रिस्क–रिवार्ड रेसियोलाई ख्याल गर्दै लगानीसम्बन्धी निर्णय लिनुपर्ने विश्लेषकहरुको भनाई रहेको छ । 
 
सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानको सर्वोपरि भूमिका रहने गर्छ । सेयर बजारका लगानीकर्तामा सकारात्मक मनोविज्ञान विकास हुन आवश्यक हुन्छ । बजार घटबढ गरिन्छ । अर्थतन्त्र पनि चक्रमा चल्छ । यसको प्रभाव बजारमा सीधा पर्छ भन्ने ख्याल गर्नुपर्छ । घटेको बजार पुनः माथि जान्छ भन्ने विश्वास पनि लगानीकर्तालाई हुनुपर्ने अनुभवीहरु बताउँछन् । 

 
यस दिन २२८ कम्पनीको ४० लाख १४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । २६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा लक्ष्मी बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र रिडी पावर परेका छन् । 

 
 
 

Post Your Comment