Market Closed

कमोडिटी मार्केटमा अब लोकल प्रडक्टको कारोबार गर्नुपर्छ, किसानलाई पनि प्रत्यक्ष फाइदा हुन्छ

18 Oct,2022
  • 311887239_3344425172481427_6665547246733951605_n_10_18_2022_8_17_52.jpg
नेपाली पैसा
 
काठमाडौ : नेपाल धितोपत्र बोर्डले असोज २ गतेदेखि कमोडिटी एक्सचेन्जका लागि नयाँ आवेदन खुला गरेको छ । तर नेपालमा कमोडिटी मार्केटका बारे धेरै कमलाई मात्र थाहा छ । सुरुवाति दिनमा नियामक निकाय नै नरहेको यस बजारमा अहिले भने बोर्डले नियमन गर्दै आएको छ । पछिल्लो समय सेयर बजारले निकै चर्चा पाए पनि कमोडिटी मार्केट भने गुमनाम जस्तै छ ।

केही महिना अघिसम्म सुन र चाँदीको भाउले दिनानु दिन नयाँ उचाई चुम्दै गर्दा पनि कमोडिटी बजारप्रति लगानीकर्ताको आकर्षण देखिएको थिएन । नेपालमा कमोडिटी मार्केटको पछिल्लो अवस्था तथा यस प्रति लगानीकर्ताको आकर्षण कम हुनुको विषयमा रहेर इजोन कमोडिटीज मार्केट प्रा.लि का म्यानेजिङ डिरेक्टर (एमडी) आनन्द देवकोटासँग नेपाली पैसाले गरेको कुराकानीको सम्पादित अंशः 
 
नेपालमा कमोडिटी मार्केटको बारेमा धेरैलाई थाहा भएको देखिँदैन, यो सर्वसाधारणसम्म किन पुग्न नसकेको होला ?
 
यो आएको त सन् २००६ बाटै हो । कमोडिटी एन्ड मेटल एक्सचेन्ज (कोमेन) बाट सुरु भएको हो । त्यसबेला गोल्डमा बाइ गर्दा भारतीय रुपैयाँ (आइसी) डाउन भयो भने लस देखाउने हुन्थ्यो । यसलाई धेरैले बुझेनन् । त्यसपछि मेक्स नेपाल आयो । मेक्स नेपालले डलरलाई फिक्स गरेर आयो । त्यसपछि नेपाल डेरिभेटिभ एक्सचेन्ज आयो (एन्डेक्स) । एन्डेक्सले बाई पनि सेल पनि सेम मार्जिनमा दियो । हालसम्म यस्तै गरेर चलिआएको छ ।
 
यो बजार पहिला राम्रो गरी चल्यो, सरकारलाई सेयर बजारले भन्दा यसले धेरै कर तिर्यो । अनि बजार बढ्दै जाँदा सुन ११ सयबाट १२–१३ सय हुँदै १९ सय डलर (प्रति आउन्स) सम्म पुग्यो । सुरुसुरुमा नयाँलाई सुन भनेको सधै बढ्छ भन्ने हुन्छ । सबैले बाई गरेर कमाउनु भयो । त्यति बेला घर जग्गाको कारोबार धेरै हुन्थ्यो र यो बजारमा पैसा पनि ठूलै आयो । पछि १९ सय माथिको लेवलमा पुग्दा एकै दिन १२० डलरले डाउन आयो । बीचमा धेरैले पैसा गुमाए, १९ सय बाट घटेर फेरी १ हजार ५० सम्म आयो, त्यति बेला धेरैको नोक्सनी भयो । 
 
मिडियामा यो बजारमा करोडौंले गुमाए भन्ने केसहरु पनि आए । त्यसपछि बीचमा एक हिसाबले बन्द जस्तै भयो । नेपालमा १२ वटा जति एक्सचेन्ज दर्ता भइसकेका थिए । ५०० वटा भन्दा धेरै ब्रोकरहरु थिए । यो बजारले बाहिर तिर लगानी गर्छ भन्ने हिसाबले सरकारले पनि ध्यान दिएर अहिले सेबोनले हेर्ने भएको छ । अझै पनि लाइसेन्स चाहिँ दिएको छैन बल्ल आवेदन चाहिँ खुलाएको छ । 
 
पहिला र अहिलेको कमोडिटी बजारमा कारोबार गर्ने लगानीकर्तामा के फरक देख्नु भएको छ ? 
 
पहिला चाहिँ लस गर्नेको संख्या धेरै थियो । पैसा लिएर बजारमा छिर्नेको संख्या पनि धेरै थियो । अहिले टेक्निकल सिकेर बजारमा प्रवेश गर्नेहरुको संख्या वृद्धि भएको छ । सेयर बजारले पनि धेरैलाई टेक्निकल सिकायो त्यसैले कमोडिटीमा पनि सिकेर आउनेहरुको संख्या बढेको हुँनाले अहिले लस गर्ने भन्दा, नाफा गर्ने पनि हुनुहुन्छ, त्यो चाहिँ फरक छ ।
 
कमोडिटी मार्केट कत्तिको जोखिमयुक्त क्षेत्र हो ?
 
लिभरेजको कारणले यसलाई रिक्स मानिएको हो । तेल १०–१२ प्रतिशत पनि चल्छ । कहिले काही चाँदी पनि दिनमा १०–१२ प्रतिशत नै चल्छ । सुन २–३ प्रतिशत मात्र चल्छ । सामान्यतया १ प्रतिशत, बढीमा २ प्रतिशत तलमाथि हुने गर्छ । युजरहरुले थोरै पैसा लगानी गर्नु भएको हुन्छ । त्यसमाथि स्टपलस राखेन भने चाहिँ रिस्क पनि हुन्छ । सेयर बजारमा भनेको कम्पनीले लाभांश दिन्छ । तर कमोडिटीमा भने त्यस्तो नहुने कारणले जोखिम मानिन्छ । 
 
नेपालमा धेरै कारोबार के को हुन्छ ?
 
नेपालमा सुन, चाँदी र तेलमा धेरै कारोबार हुन्छ । सुन, चाँदी तेलको मूल्य इन्टरनेसनल मार्केटमा चलिरहने हुँदा कारोबार धेरै हुने हो । दाल चामलको प्राइसिङ हामीले कसरी बनाउने भन्नेमा समस्या छ । त्यो हिसाबले सुन चाँदीको धेरै हुने गर्छ । आगामी दिनमा नेपालको प्रडक्टहरुको पनि कारोबार हुन्छ । जस्तै, भारतमा रातो खोर्सानी, पिठो पाउडर देखि लिएर हरेक सामानको कारोबार हुन्छ । 
 
त्यसको मूल्य तय भएर बजारमा आउने हो । जस्तै हाम्रो तराईमा धान उत्पादन भएको छ, अब बेच्ने बेलामा गएर साहुजीलाई हामीले भन्यौं भने साहुजीले मूल्य निर्धारण गर्छ । हामीले तोक्न मिल्दैन । यो बजार लागू भएपछि किसानलाई पनि फाइदा हुने कुरा हो । त्यो हुन केही समय लाग्छ । किन भने वेर हाउसको पनि व्यवस्था हुनु पर्यो । त्यो नियम भएपछि पनि करिव ५–७ वर्ष चाहिँ लाग्ला । प्राइभेट सेक्टरले पाउने भएकाले सेयर बजारको भन्दा यसको विकास छिटो होला ।
 
दैनिक कारोबार कति हुन्छ ?
 
कारोबार कम हुन्छ । सानो सानो १० ग्राम १०० ग्राममा हुन्छ । ठूलो कारोबार हुँदैन । 
 
कमोडिटीमा ट्रेड मात्र गर्ने हो या लगानी पनि गर्न मिल्छ ?
 
यसमा इन्भेष्टमेन्ट भन्ने हुँदैन । डेरिभेटिभ फ्युचर मार्केटमा सर्ट ट्रेड नै गर्ने हो । यसमा पनि फ्युचर मार्केट र स्पट मार्केट भन्ने हुन्छ । स्पट मार्केट भयो भने ६ महिना वा वर्ष दिन पनि सुन किनेर होल्ड गर्न पाउनु हुन्छ । विदेश तिर चाहिँ स्वाप भनेर होल्डिङ चार्ज काटिरहेको हुन्छ । नेपालमा पनि पहिला स्टोरेज कस्ट भनेर काट्ने ब्यवस्था थियो । अहिले सेबोनले बनाएको नियममा त्यो स्पट मार्केटको अवधारणा नभएकाले हटायो । अहिले फ्युचर मार्केट मात्र छ । यसको अधिकतम समय २ महिनाको हुन्छ । २ महिनाभित्र नाफा नोक्सान जे भए पनि सेटल गर्नु पर्छ ।
 
कारोबार गरिएको रकम नेपालमै रहन्छ या विदेशमा पनि सर्कुलेट हुन्छ ? 
 
इन्टरनेसनलबाट प्राइस ल्याउने हो । सबै नेपालमा नै हुने हो । म्याचिङ हुनेको अर्डर म्याचिङ गर्दिन्छ । म्याचिङ नहुनेको मार्केट मेकर हुन्छ । सेयर बजारमा मार्केट मेकर हुँदैन । एउटा बायर हुन्छ एउटा सेलर हुन्छ । यसमा चाहिँ एक्सचेन्जहरुले मार्केट मेकर राखेको हुन्छ । मार्केट मेकरको माध्यमद्वारा किनबेचलाई सहजिकरण गराउँछ । 
 
लगानीकर्ताले फाइदा कसरी गर्छन् ?  
 
इन्टरनेसनल मार्केटको प्राइसअनुसार, मुभमेन्ट अनुसार नाफा वा घाटा हुने हो । यसमा इन्टरनेसनल मार्केटको मूल्य हेर्ने हो । नेपालमा सेबोनको नियमन हुनुभन्दा पहिला एक्सचेन्जले डलर प्राइस पनि दिएको हुन्थ्यो । अहिले चाहिँ हटाएको छ । जे छ नेपाली प्राइसमा कन्भर्ट भएर आउँछ । त्यसैमा ट्रेड गरेर नाफा वा घाटा हुने हो । क्रिप्टो करेन्सी सरकारले अहिले रोकेको छ, फरेक्समा ट्रेड गर्नेहरु धेरैले यता आएर एकाउन्ट खोलेका छन् । सरकार र सेबोन पनि नेपालको पैसा बाहिर जान नदिने हिसाबले अगाडि बढेको छ ।
 
कारोबार गर्ने प्रकृया कस्तो हुन्छ ? 
 
एक्सचेन्जहरु मेक्स नेपाल र नेपाल डेरिभेटिभ एक्सचेन्ज छ । उनिहरुकै अन्डरमा हामीले काम गर्ने हो । कारोबार अनलाइनबाट नै गर्न सकिन्छ । डिम्याट भने जस्तै सफ्टवेयर हुन्छ । 
 
कमिसन दर कसरी कायम गरिएको हुन्छ ?
 
कमिसन दर १ केजी सुनको १२ सय रुपैयाँ लाग्छ । आधाको ६ सय रुपैयाँ, २५० ग्राम गोल्डको ३०० रुपैयाँ कमिसन लाग्छ । २ महिना कुरेर १० लाख रुपैयाँ नाफा खाए पनि कमिसन १२ सय रुपैयाँ नै हो  । तुरुन्तै ५–१० हजार रुपैयाँ नाफा वा नोक्सानमा काटे पनि कमिसन त्यति नै लाग्छ ।
 
नेपालमा कमोडिटीको भविष्य कस्तो देख्नु भएको छ ? 
 
मैले त भविष्य नै देखेर लागि परेको हो । म सँगै पढेका धेरै साथिहरु बैंक म्यानेजर छन् । म चाहिँ यसैमा लागि राखेको छु । यो क्षेत्र भविष्यमा धेरै राम्रो हुन्छ । नेपालको प्रडक्टहरुमा अझै कारोबार गराउन सकियो भने किसानहरुलाई प्रत्यक्ष फाइदा हुन्छ । भविष्यमा यसको स्कोप छ । बल्ल त नियमन गर्ने काम भएको छ ।  
 

Post Your Comment