Market Closed

अबको बुलमा दैनिक ५० अर्ब रुपैयाँको सेयर कारोबार हुन्छ : छोटेलाल रौनियार

20 Oct,2022
  • chhote_2_10_20_2022_8_14_01.jpg
 
काठमाडौ : करिब १५ महिनादेखि नेपालको सेयर बजार निरन्तर घटिरहेको छ । अघिल्लो भदौमा ३२ सयको अल टाइम हाइ बनाएको नेप्से सूचक अहिले घटेर १८ सयको बिन्दुमा झरेको छ । २२ अर्ब रुपैयाँसम्म पुगेको दैनिक कारोबार रकम अहिले ५०–६० करोडमा सीमित बनेको छ । यसरी सेयर बजार घट्नुको मुख्य कारण र अब आउने बुल मार्केटले बोकेको संम्भावना लगायतका विषयमा केन्द्रित रहेर नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष तथा बजारका अग्रज लगानीकर्ता छोटेलाल रौनियार सँग नेपाली पैसाका निराजन सापकोटा ले गरेको कुराकानीको सम्पादित अंश:
 
१५ महिना भयो बजार घट्न थालेको, यसको मूख्य दोषी कसलाई देख्नु भएको छ ?
 
यसमा विभिन्न फ्याक्टरहरु जिम्मेवार छन् । मुख्यरुपमा भने ३–४ वटा कुराहरु देखेको छु । ३२ सयसम्म पुगेर बजार तल झरेको हो । मास साइकोलोजी बोल्दै थियो, राम्रै चलिरहेको थियो । कारोबार रकम पनि २२ अर्ब रुपैयाँसम्म भएको थियो । त्यही बेला एक दिन सेबोनले ५१ वटा कम्पनीको लिस्ट निकाल्यो । त्यहाँबाट अलिकति नेगेटिभ कुराहरुको सुरुवात भयो । बजारले समग्रमा नेगेटिभ सेन्टिमेन्ट देखायो । त्यसपछि पनि बजार सप्रिन खोजेको थियो, तर त्यही बेला राष्ट्र बैंकले मौद्रिक नीति लिएर आयो । नीतिमा सीसीडी रेसियोलाई सिडीमा परिवर्तन गरियो ।

त्यसपछि एकाएक ५ सय अर्ब बैंकमा भएको पैसा हरायो । अनि लिक्युडिटी क्रन्च भयो जसले गर्दा ब्याजदर धमाधम बढ्न थाल्यो । राष्ट्र बैंकले ४–१२ को कुरा लिएर आयो । यसले मार्केटमा अझ सेट ब्याक गरिदियो । त्यसपछि रिस्क वेटेज १०० लाई १५० प्रतिशत गरिदियो राष्ट्र बैंकले । सेयर बजारमा रिस्क १०० पनि छैन, किनभने हामीले सेयर धितो राखेर लोन लिँदा बढीमा ७० प्रतिशतमात्र पाउने हो । ६ महिनाको एभरेज अथवा सेयरको मूल्य जुन कम छ त्यो दिँदा ५५ प्रतिशत भन्दा बढी पाईंदैन ।

हामीले त्यसमा ल्याप्चे लगाएर साइन गरेर दिएको हुन्छ, बेचे सरह । कुनै पनि बैंक आजसम्म सेयर लगानीबाट डुबेकै छैन । त्यसमाथि रिस्क वेटेज १५० प्रतिशत कहाँबाट आयो ? यस राष्ट्र बैंकले बिगार्न खोजेको स्पष्ट भयो । ४–१२ मा पनि एउटै बैंकमा १२ गरिदिएको भए हुने थियो । तर ३ वटा बैंक गरेर १२ करोड लिन पाइने व्यवस्था गरियो । यसले गर्दा कुनै एउटा बैंकमा भएको सेयर बेच्नु पर्यो । फेरि, इन्भेष्टमेन्ट कम्पनीलाई पनि १२ करोडमै सीमित गरियो ।
 
अनि फेरि, मौद्रिक नीतिको फलोअपमा पनि राष्ट्र बैंकले हिर्काएको हिर्कायै गर्यो । जस्तै, लघुवित्तको सेयर बैंकले राख्न नपाउने । यसपछि बैंकहरुले माइक्रोफाइनान्सको सेयर पनि बेचे । जसले गर्दा भाउ फेरि घट्यो । फेरि, माइक्रोफाइनान्सले २० प्रतिशत भन्दाधेरै बोनस दियो भने ५० प्रतिशत रिजर्भ सरप्लस राख्नुपर्ने नीति आयो । यही बेला अर्थतन्त्रमा पनि समस्या आयो । कोहीले श्रीलंका बन्छ भन्ने, कोहीले के भन्ने । विभिन्न नेगेटिभ कुराहरु निकाल्न थालियो । 

भनेपछि, नियामक निकायहरु नै मुख्य जिम्मेवार देखिए, होइन त ? 
 
 मलाई के लाग्छ भने समग्रमा राष्ट्र बैंकको नीतिले गर्दा नै हो मुख्यरुपमा समस्या आएको । तरलताको अभाव आजसम्म देखिएको छ । तर अब त बिस्तारै राम्रो हुँदै गएको छ । हाम्रो नियमनकारी निकाय भनेको सेबोन हो । हामी सेबोनलाई अझै बलियो बनेको हेर्न चाहन्छौँ । धितोपत्र सम्बन्धि सम्पूर्ण काम सेबोनले नै हेर्नुपर्छ । जुन अहिले गर्न खोजेको छ । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा पुँजी बजारलाई विशेष ध्यान दिनु पर्छ । यसरी हचुवाको भरमा लिएर आउनु हँदैन । किनभने आजको दिनमा सेयर बजार भनेको अर्थतन्त्रको मेरुदण्ड हो नि ।
 
कोभिडको समयमा नेपालको सेयर बजार मात्र बढेको हैन । यो त संसारभर बढेको हो । अमेरिकामा सबैभन्दा बढी कोभिडको असर थियो । भारत, चीन, इटाली सबै देशमा कोभिडको प्रभाव धेरै थियो । त्यहाँको बजार पनि निकै बढ्यो । हाल नेपालमा ५४ लाख डिम्याट खाता खोलिएको छ । ४४ लाख भन्दा बढीले मेरो सेयर लिएका छन् । २७ लाख जतिले आइपीओ भर्ने गर्छन् । १४ लाख टीएमएस युजरहरु छन् । सरकारले पुँजी बजारलाई पुरातनबादी, रुढीबादी, अर्थोडक्स तरिकाले हेर्छ, बजारलाई त्यसरी हेर्नु भएन ।
 
नेप्सेमा २२ अर्बसम्मको कारोबार भएको थियो । ४४ खर्बसम्म बजार पुँजीकरण पुगेको थियो । पुँजी बजारलाई सुहाँउदो नीति भनेको वान डोर पोलेसी हो । प्राथमिक पुँजी संलग्न गर्दा नयाँ–नयाँ कम्पनी आउछन् । यसले देशको विकास हुन्छ । कुल ग्राहस्त उत्पादन बढ्छ । यी कुराहरुको विशेष ध्यान दिनुपर्छ । राष्ट्र बैंक र अर्थ मन्त्रालयले पनि हचुवाको भरमा नीति बनाउनु भएन । उच्च तहमा बसेका मान्छेले मनपरी बोलेर हिडेका हुन्छन् । यसलाई रोख्न जरुरी छ । 
 
पुँजी बजार भनेको एकदम सेन्सेटिभ विषय हो । जसले पायो त्यसले मनपरी बोल्नु हुँदैन । अझ म त के भन्छु भने पुँजी बजार सुधार्ने हो र केही राम्रो गर्ने हो भने केही मिडियाहरु र व्यक्तिहरु छन् जसले विभिन्न फोरमहरु बनाएर मनपरी कमेन्ट गर्छन् । तिनीहरुलाई साइबर क्राइम लगाउनुपर्छ । साइबर सम्बन्धि पोलिसी पनि आउनुपर्छ । यसो गर्दा पुँजी बजार पनि राम्रो हुन्छ । अचेल सबैले सेयरको तालिम दिन्छन् । ट्रेनिङ दिने मान्छे क्वालिफाइड कहाँबाट भयो त ? कि सेबोनले क्वालिफाइड गर्नुपर्यो ।

लगानीकर्ता पनि जिम्मेवार होलान् ? 
 
कोभिडको समय १७ हजारले टिएमएस लिएका थिए । अहिले आएर १४ लाख पुगेको छ । ३ वर्षमा त लगानीकर्ता व्यापक बढेका छन् । संख्या बेस्सरी बढे पनि बजारका बजारमा यिनीहरुले खासै सिकेको छैनन् । आइपीओबाट बजार प्रवेश गर्नेलाई सेकेन्डरी मार्केटको बारेमा खासै केही थाहा छैन । बजार बढ्यो हरियो भएपछि मात्तिने बानी छ, सर्किटमा किन्छन् । बजार घट्यो भने आत्तिएर अझै घट्छ भनेर बेचेर जान्छन् । कुन बेला सेयर किन्ने ? कुन बेला बेच्ने भने ज्ञान हुनुपर्छ ।
 
तथापि, अब आउने समय राम्रो छ । किन भने १५–१६ महिनाको ब्याज तिरिसकेको अवस्था हो । अब तिहारपछि लाभांश खाने समय आउँदैछ । रेमिटेन्स पनि बढिरहेको छ । अहिले सीडी रेसियो पनि ८७ मुनि झरेको छ । यो भनेको बैंकमा लगानीयोग्य पैसा छ । तर यस्तो बेलामा पनि अझै बैंकहरुले ब्याजदर बढाएका छन्, यो गलत हो । अब ब्याज बढाउनु हुँदैन । १७–१८ प्रतिशत ब्याजमा संंसारको कुनै पनि इकोनमी धानिंदैन । यसले त उद्योग, व्यापरमा निकै ठूलो असर पार्छ । म्याक्रो लेवलमा असर पार्छ । सरकारले ब्याजदर घटाउनतर्फ लाग्नुपर्छ । सीसीडी रेसियो कायम गरेर आयात मात्र कन्ट्रोल गरिदिएको भए सबै कुराहरु ठीक हुन्थ्यो ।
 
 लगानीकर्तालाई म के भन्छु भने १५ महिनासम्म धैर्य गर्नुभयो । अब धेरै नआतिनुस् । अहिले आफ्नो पैसा छ भने लगानी गर्ने समय हो । ब्याजको पैसा त म भन्दिन् तर आफ्नो पैसा छ भने लगानी गर्ने उपयुक्त बेला हो यो । सेयर बजारमा रिस्क त हुन्छ नै । तर अहिले रिस्क २०–२५ प्रतिशत होला भने अवसर ७५–८० प्रतिशत छ । त्यसकारण यस्तो बेलामा लगानी गर्ने नै हो जस्तो लाग्छ मलाई । 
 
सेयर बजारमा बुल कहिलेबाट सुरु होला ?
 
यसमा दुईवटा कुरा छन् । सरकारको नीतिले गरेर लगानीकर्ताहरु एकदमै तर्सिए । त्यसकारण यो मास साइकोलोजी फर्किन केही समय लाग्छ । सीडी रेसियो कन्ट्रोलमा आइसक्यो । रेमिट्यान्स पनि राम्रो हुँदै आएको छ । चुनावमा ठूलो पैसा खर्च हुन्छ । विकासका खर्चहरु पनि भएका छन् । महँगो ब्याजदरमा लोन लिने मान्छे पनि कम भएका छन् ।

यो सबै कुराहरुले गर्दा अहिले लोन लिने मान्छे धेरै कम छन् । अबको २–३ महिनापछि धेरै पैसा बैंकमा जम्मा हुन्छ । त्यसपछि ब्याजदर कम हुन थाल्छ । त्यसपछि बजार राम्रो भएर जान्छ । नेपाल बैंंकर्स एसोसिएसनले ब्याजदरका बारेमा सहमति भंग गर्नु नपर्ने हो । तर त्यो सब लगानीकर्ता र व्यापरीलाई लुट्नलाई गरिएको हो । 
 
नयाँ स्टक एक्सचेन्ज र ब्रोकरहरु पनि थपिँदै छन्, यसले बजारमा कस्तो खालको प्रभाव पर्ला ?
 
यसले बजारलाई धेरै राम्रो गर्छ । नयाँ स्टक एक्सचेन्ज आउँदैछ । नयाँ ब्रोकरहरु थपिंदैछन् । अब यिनीहरुले सेबोनको सर्त मानेर सेवा दिनुपर्छ । यिनीहरुले अब देशभर पुगेर काम गर्छन् । नयाँ एक्सचेन्जले नयाँ प्रविधि, पुँजी र आइडियाहरु लिएर आउँछ । नयाँ टुल्सहरु जस्तै इन्ट्रा डे ,सेयर अक्सन, सर्ट सेलहरु सबै लिएर आउँछ । ३० प्रतिशत सर्वसाधारणलाई आइपीओ पनि दिन्छ । यसमा मास इन्भल्भ हुने कुरा हो । अहिले पनि पुँजी बजारको विकासका कुरा गर्ने हो भने काठमाडौं मात्र सीमित छ । 
 
ब्रोकरहरु ४१ वटा ठाउमा रिमोर्ट ओर्किङ स्टेसन भनेर गए तर त्यहाँ त्यति काम भएको छैन् । ब्रोकर कार्यालय काठमाडौंंमा मात्र सीमित छ । त्यो पनि रिङरोड भित्र सीमित छ । अब देशभर फैलिनेछन् । बैदेशिक रोजगारीमा जानेलाई १० प्रतिशत रिजर्भेसन दिने भनिएको छ, त्यो पनि धेरै राम्रो पोलिसी हो । कामदारले विदेशमा गएर त्यत्रो पैसा पठाएका छन् । धितोपत्र बोर्डका अध्यक्षले भनेको कुराहरु अहिले एक सुरले गरिरहनु भएको छ । अब सीडीएस, सेबोनसहित ब्रोकर कमिसन पनि घटाउनुपर्छ । यो सबै कुरा पाइपलाइनमा छन् । 
 
अब आउने बुल मर्केटमा दैनिक कारोबार रकम कति हुन सक्छ ? केही अनुमान गर्न सकिएला ? 
 
नयाँ स्टक एक्सचेन्ज आएपछि अक्सन, सर्ट सेल, इन्ट्रा डे यी तीनवटा कुरा ल्याएमा बजारमा निकै धेरै कारोबार हुन्छ । एकैजनाले दिनभरमा २–३ वटा ट्रेड गर्छन् । नयाँ एक्सचेन्जले फुल फेजमा काम गर्न थालेपछि  नयाँ प्रविधि लिएर आयो भने दैनिक ५० अर्ब रुपैयाँको कारोबार हुनेछ । (उच्चतम कारोबार भएको दिन । जस्तो यसअघि उच्चतम कारोबार हुँदा करिब २२ अर्ब भएको थियो।)। यो हाम्रो बजारका लागि निकै ठूलो फड्को हुनेछ । कमिसन ब्रोकरहरु भन्छन् हाम्रो कारोबार कम हुन्छ भनेर, तर म भन्छु केही कम हुँदैन । ट्रान्जेक्सन बढ्छ, भोल्युम बढ्छ, त्यताबाट कमाई हुन्छ उहाँहरुको पनि ।
 
आत्तिनु नै पर्दैन । बजार फैलिन्छ, हाम्रो बजारको घनत्व बढ्दै जान्छ । सेयर बजार भनेको त प्रोग्रेसिभ भयो भने कति राम्रो हुन्छ । भारतमा हेर्नुहोस् मिठाइ बाँड्छन, केक काट्छन् । खुशी साटासाँट गर्छन् ।  हाम्रोमा बजार बढ्यो भने, कति बढ्यो, फेरि बढ्यो ? यो त खत्तम भयो । यो भयो, त्यो भयो भनेर मानसिकता नै बेग्लै हुन्छ ।

सबैमा उमँग उत्साह देखिंदैन । त्यो भनेको पुरातन रुढीबादी सोच हो । बजार बढेको बेला खराब कम्पनीको पनि मूल्य बढेको हुन्छ । उनीहरुको सर्कुलर ट्रेडिङ हुन्छ । सेयर कर्नरिङ हुन्छ । कम पुँजी हुने कम्पनीको सेयर चलखेल गर्नेहरुले किनेर राख्छन् र बजार बढाएर बेच्छन् । त्यो कुरा मुठीभरका मान्छेले गर्छन् । त्यसमा त सेबोनले लाइभ ट्रेडिङ गर्दा कारबाही गर्नुपर्छ । 
 
तर यहाँ त उल्टो के हुन्छ भने १० प्रतिशतले बजार बिगारे भने सबैलाई कारबाही हुन्छ । सी–आस्वा बापत मनपरी शुल्क लिन लागेका थिए । हमाल जीले त्यो रोक्नुभयो । एक डेढ वर्ष कम्पनी मार्जरमा जाँदा कारोबार रोकियो । त्यसले कसैलाई फाइदा थिएन । एक त लगानीकर्ताको पैसा फ्रिज भयो । अप्ठेरो पर्दा त्यो सेयर बेच्न पाइँंदैन । कारोबार रोक्ने बित्तिकै नेप्से, सेबोन, ब्रोकर र सरकारले लिने क्यापिटल गेन ट्याक्स पनि डुब्यो । अब त्यो पनि हट्दैछ । एनआरएन भित्र्याउने कुराहरु छन् । यो सबै कुरा हरेक वर्ष जस्तै सेबोनले नीति तथा कार्यक्रममा आउँछ । 
 
३२ सय आसपास बिन्दुमा सेयर खरिद गरेर बसेका लगानीकर्तालाई के भन्न चाहनु हुन्छ ?
 
उहाँहरु महँगोमा पर्नुभयो, फस्नु भयो । त्यसैले म के भन्छु भने शिक्षा लिने गर्नुस् ।  ट्रेनिङ लिने गर्नुस् । धेरै हौसिएर किन्नु हुन्न् । सेयर कारोबार गर्दा बिचार गर्नुपर्छ ।  आफू भन्दा राम्रो अनुभवी लगानीकर्तासँग सल्लाह लिएर काम गर्नुपर्छ । जसले बजार ३२ सय पुग्दा किन्नु भएको छ, अब भनेको लाभांशको टाइम हो । बिस्तारै बजारको सुधार भै हाल्छ नि । अहिले एकदम न्यूनतम विन्दुमा छ बजार । 
 
अहिले धेरै जस्तो बैंकको भाउ डेढ दुई सय रुपैयाँमा छ । २० वर्ष भन्दा पुरानो कम्पनीको सेयर पनि २ सयमा नै पाइन्छ । यो लगानी गर्ने समय हो । त्यसैले आत्तिनु पर्दैन । जहिले पनि सेयर किन्दा हरेक वर्ष लाभांश दिएको, पीई रेसियो कम भएको, नेटवर्थ धेरै भएको, एनपीएल कम भएको तथा इपीएस राम्रो भएको कम्पनीमा मात्र लगानी गर्नु पर्छ । बढेको समय ट्रेडिङ पनि गर्ने र नाफा बुक पनि गर्नुपर्छ । यो रेटमा बेच्नु भनेर म कुनै पनि हालतमा सल्लाह दिन्न् ।
 

Post Your Comment