Market Closed

नेप्से अब १८ सयभन्दा तल आउला भनेर दिउँसै सपना देख्ने मात्रै हो : तुलसीराम ढकाल

06 Nov,2022
  • tulsi_ram_11_6_2022_8_47_33_11_7_2022_6_35_34.jpg
 
काठमाडौं : चुनावको मिति नजिकिँदै छ । आम लगानीकर्ताले निर्वाचनपछि बजार बढ्ने अनुमान लगाउन थालेका छन् । तिहारपछि खुलेको बजारले सकारात्मक लय समात्न खोजेको छ । करिब १५ महिनाको समय अवधिमा ३२०० को विन्दुबाट घटेको सेयर बजार अहिले १९ सयको लाइनमा रहेको छ । निकै कसरतपछि नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन खुलेको थियो तर अदालतले यसमा थप प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश दिएको छ । पुँजी बजारको यी र यस्तै विषयमा लगानीकर्ताका प्रतिक्रिया तथा छोटो अवधिमै बजारमा देखिएको ठलो गिरावटको मुख्य कारण अनि चुनावपछिको सेयर बजारलगायतका विषयमा केन्द्रित रहेर नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालसँग नेपाली पैसाका निराजन सापकोटा ले गरेको कुराकानीको सम्पादित अंश :
 
३२०० आसपास विन्दुमा पुगेको नेप्से १५ महिना अवधिमै ४०% भन्दा बढीले घटिसक्यो, यस्तो हुनुको मूख्य कारण के हो ?
 
बजार ३२०० कसरी पुग्यो पहिला त्यो कुरा बुझ्न जरुरी छ । त्यतिबेला कोभिडले आक्रान्त भएर सबै उद्योगपति, व्यापारीहरु घरमा बसिरहेको अवस्था थियो । त्यतिबेला लगानीका अरु सबै ढोकाहरु बन्द थिए । उद्योगधन्दा, कलकारखाना सबै ठप्प थिए । यी सबै बन्द भएपछि आयात पनि निकै कम भयो । जसका कारण बैंकमा अत्याधिक मात्रामा लगानीयोग्य रकम जम्मा भयो । 
 
कर्जाको ब्याजदर घटेर ७% सम्म आयो, बजार बढ्नुको एउटा कुरा त्यो हो । अर्को कुरा लगानीका अन्य क्षेत्रहरु साँघुरिदा आम लगानीकर्ता पुँजी बजारमा आकर्षित भएर १२४० को सूचक छोटो समयमै ३२ सयसम्म पुगेको हो । यो कुरा कहिल्यै बिर्सिनु हुँदैन । त्यहाँ पुगिसकेपछि बिस्तारै–बिस्तारै कोभिडको असर पनि कम हुँदै गयो । त्यसपछि अन्य व्यापार, व्यवसाय पनि खुल्दै गए । जुन व्यवसायीहरु पुँजी बजारमा लागेका थिए उनीहरुले सेयर बेचेर आफ्नै पुरानो व्यापार व्यवसायमा फर्किन थाले । 
 
एउटा लेवलमा सबै मान्छेहरु पुँजी बजारमा आएका थिए । त्यो पैसा सेयर बजारबाट बाहिरिँदा धेरथोर बजार घट्नु स्वभाविक नै थियो । नेपालको ठूलो व्यापार भनेको ट्रेडिङ नै हो । आयातमा लाग्ने मान्छे विस्तारै त्यतैतिर फर्किए । जसले बैंकमा तरलता कम भयो । अर्को कुरा, राज्यले लिएको गलत नीतिका कारण सेयर बजार सबैभन्दा बढी प्रभावित भएको हो ।
 
 मौद्रिक नीतिमा ल्याइएका कुराहरु धेरै प्रतिकूल भए । सेयर धितो कर्जा १२ करोडभित्र ल्याउने, त्यो पनि एउटा बैंकबाट ४ करोड भन्दा बढी लिन नपाउने भन्ने नीति धेरै गलत भयो । रिस्क वेटेजका कुराहरु पनि आयो । यिनै कारणले गर्दा पनि बजार निरन्तर घट्ने बाटोमा लागेको हो । 
 
 नेपालमात्र होइन विश्वका हरेक देशको अर्थतन्त्र थला परेको अवस्था छ । तरलता अभावको समस्या जताततै छ । तरलता सहज नहुने बित्तिकै ब्याजदर पनि बढ्दै गयो । कर्जाको माग बढ्ने बित्तिकै ब्याज बढ्नु पनि स्वभाविक नै हो । यसकारण पुँजी बजार पनि लगाताररुपमा घट्यो । करिब १८०० को लेवलसम्म आएर अहिले विस्तारै बढ्दै गएको अवस्था छ ।
 
त्यसो भए १८०० को तहलाई नै नेप्सेको न्यूनतमा विन्दु मान्दा हुने हो त ? 
 
पुँजी बजारमा यही न्यूनतम वा अघिकतम विन्दु भनेर ठोकुवा गर्न त मिल्दैन । तर मैले जानेबुझे अनुसार अब बजार १८०० भन्दा तल आउँदैन । यो कसैले सोच्छ भने त्यो दिउँसै सपना देखेसरह मात्र हो । कसैले यस्तो सोच्छ भने त्यो मान्छे पुँजी बजारको घोर विरोधी पनि हो । म त्यसको भत्र्सना गर्छु । कसैले कल्पना पनि नगरौं कि अब बजार १८०० भन्दा तल आउँछ भनेर ।  कुनै व्यक्तिले सेयर बेचेको छ भने उसलाई १६०० सम्म आए हुन्थ्यो, १ हजारसम्म आए हुन्थ्यो अनि म किन्थे भन्ने लागिरहेको हुन सक्छ ।

कोही त्यस्तो सोचेर बसिरहेको पनि हुन सक्छ । उसले बेच्दैमा अथवा आउँछ भन्दैमा बजार घट्नुपर्छ वा घट्छ भन्ने होइन । तर अहिलेको समग्र अवस्था अनि अथतन्त्रको सुधारको गतिसमेत हेर्ने हो भने कुनै पनि हालतमा बजार १८०० को तहमा आउने देख्दिन । भोलीका दिनमा परिस्थिति नै बदलियो भने त केही भन्न सकिँदैन । तर अहिलेको अवस्थालाई हेरेर विश्लेषण गर्दा १८०० भन्दा तल बजार आउँछ भन्ने मलाई लाग्दै लाग्दैन । 
 
अब चुनावपछिको सयेर बजार कस्तो हुने देख्नु भएको छ ?
 
अब आमनिर्वाचन पनि आउँदै छ । चुनावपछि नयाँ सरकार आउँछ । नयाँ सरकार आएपछि उसले लिने नीति पनि ५ वर्षलाई नै हो । चुनावमा दूरदराजबाट पैसाहरु बैंकिङ च्यानलमा बिस्तारै आउने अपेक्षा गरिएको छ । अहिलेको समस्या भनेको लिक्विडिटी क्रन्च नै हो । नयाँ सरकार बनेपछि नयाँ पोलिसीका कुराहरु आउने भए । चुनावपछिको बजार मैले सुखद् हुने देखेको छु । चुनावका कारण तरलता अवस्था पनि केही न केही सहज हुँदै जान्छ । सेयर बजार पनि आफ्नो हिसावले सकारात्मक गतिमा अगाडि बढ्न थाल्छ । 
 
बजार बढ्ने प्रमुख आधारहरु के–के देख्नु भएको छ ?
 
कम्पनीहरुले अहिले लगानीको प्रतिफल वितरण गर्न थालेका छन् । कतिले साधारण सभासमेत सुरु गरिसकेका छन् । अहिले बजार निकै तल्लो विन्दुमा आइसकेको छ ।  रेमिट्यान्स पनि बढ्दै गएको छ । पर्यटक पनि आउन थालेका छन् । जसले गर्दा बैंकमा तरलता सहज हुँदै जानेछ । यी विभिन्न कारणले गर्दा अब पुँजी बजार  बिस्तारै सकारात्मक लय र ट्रयाकमा जानेछ । 
 
ब्रोकर लाइसेन्स र नयाँ स्टक एक्सचेन्ज अनुमतिका लागि तत्काल थप पक्रिया अघि नबढाउन अदालतले आदेश दिएको छ, यसमा के भन्नु हुन्छ ? 
 
धेरै अगाडिदेखि विभिन्न संघ संघठन तथा लगानीकर्ताले नयाँ ब्रोकर लाइसेन्स चाहियो भनेर माग राखेका हुन् । ब्रोकरहरु जम्मा ५० वटामा मात्र सीमित भए भनेर त्यस्तो माग गरिएको हो । जम्मा २–३ लाख लगानीकर्ता हुँदा पनि यही ५० वटा ब्रोकर थिए । आज ५४ लाख हुँदा पनि त्यही ५० वटा ब्रोकर छन् । हिजो सीमित मात्रामा सेयर बजारको कारोबार हुन्थ्यो भने अहिले दूर दराजमा सेयर कारोबार हुन्छ । 
 
उदाहरणका लागि हाइड्रोपावर सबै दुर्गम क्षेत्रमा बनिरहेका छन् । प्रत्येक हाइडोपावरले १०% लोकललाई र अरु पब्लिकलाई गरेर ३०% सेयर निष्कासन गरेको अवस्था छ । यहाँ, हामी काठमाडौंमा वा सुगम जिल्लामा बस्नेले पो सेयर कारोबार गरौंला, तर दुर्गममा बस्ने मान्छेहरुले कसरी सेयर कारोबार गर्ने ? जहाँ प्रविधिको सहज सुविधा छैन । उनीहरुले त्यो कम्पनीले दिएको डेभिडेन्ड कसरी लिने ? त्यो कारण सबै दूर दराजमा ब्रोकर सेवा पुग्नुपर्यो ।
 
ब्रोकरहरु थपिए वा बैंकलाई ब्रोकर लाइसेन्स दिइयो भने सबैलाई सहज हुन्छ । धेरै ठाउँमा बैंकहरु पुगेका छन् । जसले गर्दा बजारको पहुँच दुर्गम क्षेत्रमा बसेका लगानीकर्ताले पनि पाउँथे भनेर हामीले माग राखेका हौं । अब यही अनुरुप धितोपत्र बोर्डले नियामवली नै चेन्ज गरेर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खोलेको हो ।  
 
अर्को कुरा, स्टक एक्सचेन्ज एउटा मात्र भयो । अहिले प्रविधि कहाँबाट कहाँ पुगिसक्यो । हिजो २–३ लाख लगानीकर्ता हुँदा र २०–२५ वटा कम्पनी लिस्टिेङ हुँदा खोलिएको स्टक एक्सचेन्जमा आज ३–४ सय कम्पनी लिस्टेड भइसके । ५४ लाख लगानीकर्ता भइसके । यो अवस्थामा पनि त्यही पराम्परागत रुपमा कारोबारलाई अगाडि बढाउने स्टक एक्सचेन्जले काम गर्दैन । प्रतिस्पर्धी पनि चाहिन्छ । मनी स्टकको पनि माग गरेका छौं हामीले । 
 
त्यसअनुरुप नयाँ स्टक एक्सचेन्ज पनि माग गरिएको अवस्था हो । तर अहिले सम्मानित अदालतमा केही साथीहरुले यो रोक्नुपर्यो भनेर मुद्दा हाल्नु भएको छ । यो चाहिँ गलत भयो । यसमा स्टे अर्डर दिइएको छ । यसको सुनुवाई हुन बाँकी छ । नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स खोलिनुपर्छ भन्ने ५४ लाख लगानीकर्ताको आवाज हो । त्यसैले सम्मानित अदालतले लाइसेन्सको ढोका खुला गरिदिनुहुन्छ भन्ने हामीलाई विश्वास छ । 
 
यो प्रक्रिया बीचमै रोकिने त होइन ?
 
यसमा एउटा मात्र बाटो हँदैन, दसौं बाटा हुन्छन् । एउटा व्यक्तिले सनक चढेर मुद्दा हाल्यो भन्दैमा केही हुँदैन । त्यसका अरु पाटा होलान्, कानुनी पाटाहरु होलान् । अन्य तरिकाले पनि स्टक एक्सचेन्ज आउँछ, तपाई ढुक्क हुनुस् । कसैले रोकेर रोकिँदैन । माथिबाट आएको खहरे खोलालाई कसैले रोकेर रोकिन्न्, जसले रोक्न खोज्यो त्यसैलाई बगाएर लान्छ । त्यस्तै, अहिलेको स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स पनि आवश्यकता भएर आएको हो । केही महिना, कही समय दुःख होला तर पक्रिया हो । नियमित प्रक्रिया अन्तर्गत जान्छ । 
 
अबको आउने बुल मार्केटमा दैनिक कारोबार रकम कति अनुमान लगाउनु भएको छ ?
 
मलाई लाग्छ अबको डेढदेखि २ वर्षको सेरोफेरोमा दैनिक ५० अर्बको कारोबारलाई सामान्य रुपमा लिँदा हुन्छ । ५० अर्ब भयो भने अन्यथा नमान्दा हुन्छ । 
 

Post Your Comment