Market Closed

म्युचुअल फन्डहरु दोस्रो बजारमा निकै सस्तोमा किन्न पाइने, हेरौं कुन कति सस्तो छ ?

11 Nov,2022
  • mutual-fund_11_11_2022_12_33_39.jpg
 निराजन सापकोटा 
 
काठमाडौ : म्युचुअल फन्डहरु प्राथमिक निष्काशनमा भन्दा दोस्रो बजारमा निकै सस्तोमा पाइन थालेको छ । दोस्रो बजारमा न्याभभन्दा पनि निकै सस्तोमा पाइन थालेपछि प्राथमिक निष्कासनमा म्युचुअल फन्डका इकाईहरु बिक्री हुन छाडेका छन् । त्यही भएर पछिल्ला दिनमा म्युचुअल फन्डहरुले प्राथमिक निष्कासनमा समय थपेर बिक्री खुला गरिरहेका छन् । त्यति हुँदा पनि बिक्री हुन हम्मेहम्मे परिरहेको छ । सेयर बजार वियरिस ट्रेन्डमा रहँदा बजारमा सेयर भाउहरु पनि निकै तल्लो विन्दुमा छ ।

यस्तै, म्युचुअल फन्डका इकाईहरु पनि छानीरोजी दोस्रो बजारबाटै किन्न पाइने अवस्था रहेको छ । सोही कारण प्राथमिक बजारबाट नयाँ खुलेका म्युुचुअल फन्डका इकाईहरु बिक्री हुन समस्या भएको हो । दोस्रो बजारमा म्युचुाल फन्डका इकाईहरु कति सस्तो छ भनेर थाहा पाउन उक्त फन्डको बजार मूल्य र न्याभलाई तुलना गरेर हेर्नुपर्ने हुन्छ । यदि न्याभ भन्दा बजार मूल्य कम भएमा उक्त फन्ड सस्तो भने थाहा पाउन सकिन्छ । अहिले दोस्रो बजारमा सूचीकृत रहेका म्युचुअल फन्डहरु एकाधबाहेक सबैको न्याभ बजार मूल्य भन्दा धेरै छ ।

यसआधारमा प्राथमिक बजारमा वा फन्डको आइपीओमा लगानी गर्नुभन्दा दोस्रो बजारबाट किन्नु निकै फाइदाजनक हुन्छ ।  दोस्रो बजारमै डिस्काउन्ट रेटमा म्युचुअल फन्डहरु खरिद गर्न सकिने भएकै कारण लगानीकर्ताले प्राथमिक निष्काशनमा आवेदन दिन रुचि नदेखाएका हुन् । हरेक वर्ष लाभांश वितरण गर्दै आएका म्युचुअल फन्डहरुको इकाई त्यसको न्याभ भन्दा निकै सस्तोमा दोस्रो बजारमा खरिदबिक्री भइरहेको छ ।
 
 म्युचुअल फन्डको बजार मूल्यभन्दा त्यसको न्याभ धेरै छ भने उक्त फन्ड खरिद गर्नु उचित हुने सेयर बजारका जानकार तथा विश्लेषक मुक्त अर्याल बताउँछन् । कुनै पनि म्युचुअल फन्ड डिस्काउन्टमा बिक्री भइरहेको छ भने त्यो खरिद गर्दा फाइदा हुने उनले बताए । उनले भने, ‘बन्दमुखी योजनाको बजार मूल्य एउटा हुन्छ न्याभ अर्को हुन्छ । न्याभ १० भएको फन्ड दोस्रो बजारमा ७ रुपैयाँमा बिक्री भएको छ भने त्यो निकै सस्तो भयो । तर यदि, न्याभ ७ रुपैयाँ र मार्केट भ्यालु पनि ७ रुपैयाँ नै छ भने त्यो चाहिा एउटै हो ।’ 
 
लगानीकर्ताहरुले म्युचुअल फन्डको बजार मूल्यलाई न्याभसँग तुलना गर्नुपर्ने उनले बताए । उनले भने, ‘कुनै फन्डको न्याभ १५ रुपैयाँ छ र त्यसको बजार मूल्य १३ रुपैयाँमा किनबेच भइरहेको छ भने त्यतिबेला नयाँ म्युचुअल फन्ड १० रुपैयाँमा आयो भने १३ रुपैयाँवाला नै किन्नुपर्छ , यो नै सस्तो भयो ।’ यस्तो अवसर अहिले दोस्रो बजारमा पाइएको छ । यस्तो राम्रो अवसर हुँदाहुँदै प्राथमिक निष्कासन (आइपीओ) मा आएका फन्डका इकाईहरुमा लगानीकर्ताको आकर्षण नहुनु स्वभाविक रहेको विश्लेषकहरु बताउँछन् ।

अहिले सेयर बजारले राम्रो प्रदर्शन गर्न नसकेकाले फन्डहरुको अवस्था पनि आकर्षक नदेखिएको उनको भनाई छ । सेयर बजार पछिल्लो १५ महिनादेखि समग्रमा घटिरहेको छ । बजार घट्दा फन्डहरुले सेयरमा गरेको लगानी पनि घट्दै जान्छ । यता, घट्दो बजारसँगै यिनीहरुले वितरण गर्ने प्रतिफल दर पनि घटेको छ । गत वर्षको तुलनामा यसपटक प्रायः सबै फन्डहरुले लाभांश दर पनि घटाएका छन् । अधिकांश म्युचुअल फन्डहरु अहिले नोक्सानीमा रहेका छन् । 
 
बजार सन्तु्लनमा राख्नेभन्दा पनि नेप्से जता गयो त्यतै पछिपछि लाग्ने प्रवृत्ति हावी 
 
यता, फन्डहरुसँग लगानीयोग्य थुप्रै रकम हुन्छ । उक्त रकमको केही हिस्सा मात्र सेयर बजारमा लगानी गर्ने हो भने पनि बजार स्थिर बनाउन सहयोग पुग्ने जानकाहरु बताउँछन । तर यिनीहरुले सेयर बजारमा गर्नुपर्ने लगानी समेत बैंक निक्षेपमा थुपारेर राखेका छन् । असोज मसान्तसम्म ३४ फन्डको जम्मा १७ अर्ब १ करोड रुपैयाँ सेयर बजारमा लगानी रहेको देखिन्छ । बैंकको सामान्य मौज्दातमा ८ अर्ब ५८ करोड रुपैयाँ छ । यस्तै, बैंकको मुद्दति निक्षेपमा पनि अरबौं रुपैयाँ राखिएको हुन्छ ।

यस आधारमा फन्डहरु मार्केट मेकरको भूमिका भन्दा पनि दोस्रो बजार जता जान्छ त्यतै पछिपछि लाग्ने गरेको देखिन्छ । बजार बढेका बेला उनीहरुको अधिकांश लगानी फेरि सेयरतिरै गएको विगतका उदाहरणले देखाइसकेको छ । यता, म्युचुअल फन्डहरुले रकम बैंक वा मुद्दतिमा राख्नै नपाउने भन्ने चाहिँ नरहेको विश्लेषक अर्याल बताउँछन् । उनले भने, ‘म्युचुअल फन्डको इन्भेष्टमेन्ट पोलेसी के छ सोही अनुसार हुन्छ । नियामकले तोके अनुसार पनि चल्नुपर्ने हुन्छ । फन्डहरुले आब्हानपत्रमा लेखे अनुसार लगानी गर्नुपर्छ । मुद्दतिमा राख्नै नपाउने भन्ने चाहिँ होइन, उनले भने । 
 
यता, लगानीकर्ता तथा कतिपय जानकारहरुले अब सेयर बजारमा म्युचुअल फन्डलाई आरक्षण दिनु नहुने बताउन थालेका छन् । कुनै पनि कम्पनीले सर्वसाधरणलाई सेयर जारी गर्दा म्युचुअल फन्डहरुलाई ५% अनिवार्यरुपमा छुट्याउनु पर्दछ । सुरुवाती दिनमा सामूहिक लगानी कोषलाई प्रमोट गर्ने हिसाबले सरकारले आरक्षणको व्यवस्था गरिदिएको थियो । तर अहिलेसम्म पनि निरन्तररुपमा त्यो आरक्षरण पाइहरहेका छन् । अनि, फन्डहरुले त्यो आरक्षणमा पाएको सेयर बेचेर बाहिरिने गरेको देखिएको छ ।

यसर्थ, आरक्षण प्राप्त सेयर होल्ड गर्नका लागि निश्चित समयसम्म लकिङ राख्ने व्यवस्था गर्नुपर्ने पनि जानकारहरु बताउँछन् । अहिले म्युचुअल फन्डहरुको संख्या ३४ पुगेको छ । यता, थप फन्डहरुले पनि अनुमति माग्ने क्रममा छन् । केहीले अहिले प्राथमिक निष्कासन गरिरहेका छन् । सर्वसाधारणसँग आइपीओको माध्यमबाट रकम संकलन गरेर स्टक, डिबेन्चर लगायत अन्य क्षेत्रमा लगानी गर्न स्थापित गरिएको योजना नै म्युचुअल फन्ड हो ।

के हो न्याभ ? 
 
न्याभ अर्थात नेट एसेट्स भ्यालु, सामान्य भाषामा बुझ्दा कुनै म्युचुअल फन्डको जम्मा लगानी रकमलाई त्यसले जारी गरेको युनिटहरु (इकाई) ले भाग गर्दा आउने फल नै न्याभ हो ।  उदाहरणका लागि यदि कुनै फन्डको १ अर्ब रुपैयाँको सम्पति छ र त्यसको इकाई संख्या १० करोड छ भने १ अर्बलाई १० करोडले भाग गर्दा आउने १० रुपैयाँ नै त्यसको न्याभ हो । सेयर बजारमा लगानी गर्दा सम्पति पनि घट्बढ हुने गर्छ ।

यदि सो लगानी ८० करोड रुपैयाँमा झर्यो भने त्यो म्युचुअल फन्डको न्याभ ८ रुपैयाँ हुन आउँछ । सेयरको भाउ तलमाथि हुँदा यिनीहरुको लगानी पनि घटबढ हुने गर्छ । त्यसैले न्याभ पनि फेरिने गर्छ । हाल दोस्रो बजारमा भएको पनि यही हो । अहिले प्रायः सबै म्युचुअल फन्डहरुको न्याभ यिनीहरुको बजार भाउ भन्दा निकै सस्तो देखिएको छ । त्यही भएर दोस्रो बजारमा खरिद गर्नु निकै फाइदाजनक देखिएको हो । 

हेरौंं, दोस्रो बजारमा कति सस्ता छन् म्युचुअल फन्डहरु 



 (नोट : कात्तिक २४ गते बिहीबारको अन्तिम बजार मूल्य)
 

Post Your Comment