Market Closed

प्रायः सबै अर्बपतिले सम्पत्ति गुमाउँदा वारेन बफेटको अझै बढ्यो, के भ्याल्यू इन्भेष्टमेन्टले काम गरेकै हो त ?

15 Nov,2022
  • buffeet_11_15_2022_1_29_18.jpg
निराजन सापकोटा 
 
काठमाडौ :  विश्वका शीर्ष धनाढ्यहरुको सम्पत्ति घटिरहँदा भ्यालु इन्भेष्टर भनेर परिचित वारेन बफेटको भने नेटवर्थ बढिरहेको छ । सन् २०२१ जुलाइमा बफेटको कुल नेटवर्थ १ खर्ब १ अर्ब डलर रहेको थियो । अहिले बढेर १ खर्ब ८ अर्ब डलर पुगेको छ जसले उनलाई विश्वको पाचौं धनी व्यक्ति बनाउँछ । विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दी र सेयर बजारमा आएको तीव्र गिरावटका कारण सीमित व्यक्तिबाहेक धेरैको नेटवर्थ घटेको देख्न सकिन्छ । कुनै समय धनीहरुको सूचीमा शीर्ष स्थान ओगटेकाहरु पनि अहिले खस्कँदो अवस्थामा छन् ।

२०२१ को जुलाइमा मेटाका सीइओ मार्क जुकरबर्गको नेटवर्थ १ खर्ब २६ अर्ब डलर थियो, अहिले घटेर ४१ अर्ब २० करोड डलरमा झरेको छ । उनी विश्वका २७औं धनी व्यक्ति हुन् । त्यस्तै, अमेजनका संस्थापक जेफ बेजोसको पनि सम्पत्ति घटेको छ । २०२१ को जुलाइमा २ खर्ब १२ अर्ब डलर रहेको उनको कुल नेटवर्थ अहिले घटेर १ खर्ब २४ अर्ब डलरमा झरेको छ । त्यस समय उनी विश्वका सबैभन्दा धनी ब्यक्ति थिए, तर अहिले बेजोस चौथो स्थानमा झरेका छन् ।

एक वर्षको अवधिमा एकाधबाहेक शीर्ष स्थानमा आउने प्रायः सबै घनाढ्यको सम्पत्ति गत वर्षको तुलनामा घटेको छ । तर वारेन बफेटलाई भने मन्दी र सेयर बजारमा आएको गिरावटले खासै प्रभाव पारेको देखिदैन । ९२ वर्षीय बफेटको लङ ट्रम इन्भेष्टमेन्ट रणनीतिका कारण उनको सम्पत्ति भने बढिरहेको छ । सुरुवाती दिनदेखि नै बफेटले भ्याल्यू इन्भेष्टमेन्ट र कम्पाउन्डिङको महत्व बुझेका थिए । त्यसैले पनि उनी सेयर ट्रेड गर्नेलगायत सर्ट ट्रम नाफामा केन्द्रित हुँदैनन् ।

उनको यति धेरै सम्पत्ति पनि ६० वर्षको उमेर पार गरेपछि बढेको थियो । बफेटको भ्याल्यू इन्भेष्मेन्ट रणनीतिले घट्दो बजारमा पनि उनलाई नाफा दिन सकेको छ । त्यसैले पनि उनलाई सेयर बजारको बदशाहको उपनामले चिनिन्छ । बफेटको लगानी बर्कशायर ह्याथवे कम्पनीमा रहेको छ । ह्याथवे एक इन्भेष्टमेन्ट कम्पनी हो, जसले विभिन्न कम्पनीहरुमा लगानी गर्दछ । यसको सेयर भाउ प्रतिकित्ता ४ लाख ६६ हजार डलर पर्न जान्छ, जुन विश्वको सबैभन्दा महँगो सेयर पनि हो ।

गत महिनाको तुलनामा कम्पनीको सेयर मूल्य २०% ले बढेको हो । यसरी घट्दो बजारमा पनि नाफा कमाउनुको कारण उनले सेयर खरिद गर्दा अपनाउने रणनीति नै पहिलो नम्बरमा पर्ने गर्छ ।  बफेटले लगानीकर्ताहरुलाई दिने सुझाव जस्तैः सेयरलाई कहिले जुवा नबनाउनुहोस, आफूले अध्ययन गरेका र बुझेका कम्पनी मात्र खरिद गर्नुहोस्, धेरै छिटो नाफा कमाउनेतिर नलाग्नुहोस् लगायत धेरै सुझावहरु छन्, जसलाई उनले आफू अनुसाशनमा बसेर पालना गर्ने गरेका छन् । सेयर बजारमा उतारचढाव आउँछ।

चाहे समय राम्रो होस् या नराम्रो, बफेट आफ्ना लक्ष्यहरूमा केन्द्रित रहन्छन् र सबै लगानीकर्ताले पनि त्यस्तै गर्नुपर्ने सुझाव दिन्छन् । बजारले जे गरे पनि लगानीकर्ताले भने आफ्नो दीर्घकालीन लगानी रणनीतिलाई विरलै परिवर्तन गर्नुपर्ने बफेटको भनाई छ । ‘पहिलो नियम कहिले पैसा नगुमाउनु होस्, दोस्रो नियम पहिलो नियम कहिल्यै नबिर्सनुहोस्।’ यो बफेटको निकै प्रसिद्ध भनाई हो । जुन अहिलेको परिस्थितिमा उनको जीवनसँग पनि मेल खान जान्छ । प्रायः सबैले पैसा गुमाइरहँदा बफेटले भने कमाउन थालेका छन् ।

हाल बढ्दो मुद्रस्फीति र चर्को ब्याजदरका कारण बहुराष्ट्रिय कम्पनीहरुले आफ्ना कर्मचारी कटौतीसमेत गर्न थालेका छन् । त्यसैमाथि त्यस्ता कम्पनीहरुको सेयर मूल्य पनि घटिरहेको छ । धनीहरुको सूचीमा शीर्ष स्थानमा आउने व्यक्तिहरुले अर्बौं डलर गुमाइसकेका छन् । तर बफेटको भ्याल्यू इन्भेष्टमेन्ट रणनीतिले उनलाई भने केही असर गरेको छैन् । त्यसैगरी लगानीकर्ताहरुले पनि सर्ट ट्रम भन्दा पनि लङ ट्रम इन्भेष्टमेन्ट रणनीति अपनाएर धेरै घाटा हुनबाट बच्न सकिन्छ भन्ने उनको मुख्य सन्देश रहेको छ ।
 
एजेन्सीहरुको सहयोगमा 

Post Your Comment