Market Closed

सात महिलाले ८० भारु ऋण लिएर स्थापना गरेको उद्योगले गर्छ अहिले अरबौंको कारोबार, कसरी मिल्यो यस्तो सफलता ?

21 Nov,2022
  • lijjat-papad_11_21_2022_8_03_22.jpg
निराजन सापकोटा
 
काठमाडौ : सात जना महिलाहरुबाट सुरु गरिएको एक पापड उद्योग अहिले भारतको सबैभन्दा प्रतिष्ठित ब्रान्ड बन्न सफल भएको छ । सन् १९५९ मा स्थापना भएको लिज्जत पापड अहिले १६ हजार करोडको वार्षिक कारोबार गर्ने संस्था बनेको छ । यो उद्योग ती महिलाहरुले ८० भारतीय रुपैयाँ (भारु) ऋण लिएर स्थापना गरेका थिए । २०२१ को तथ्याङ्क अनुसार लिज्जतले देशभरका ४५ हजार महिलालाई रोजगारी प्रदान गरेको छ भने भारतको १७ राज्यहरुमा यसका ८२ शाखाहरू फैलिएका छन् ।

जम्मा ८० भारु बाट सुरु भएको यो संस्था प्रतिष्ठित ब्रान्ड बन्नुको मुख्य कारणमध्ये एक हो महिला सशक्तीकरण ।उद्योग स्थापना सन् १९५९ मा भएको थियो । ७ जना महिलाले घरको छतबाट यसलाई सुरु गरेका थिए । उनीहरुले आफूसँग भएको सीमित सीप र अवसरलाई नियालेर जीविकोपार्जन गर्ने हिसाबले यसको स्थापना गरेका थिए । सुरुवाती दिनमा पापड बनाउने सामाग्रीहरु खरिद गर्न ती महिलाहरुले एक समाजसेवीसँग ८० भारु सापट लिएका थिए ।

उनीहरुले पहिलो दिन नै १ किलो पापड बिक्री गरेर ५० पैसा नाफा कमाउन सफल भए । स्थापनाको पहिलो वर्ष कुल ६ हजारको व्यापार भएको थियो । तिनीहरुको बजार विस्तारै तर स्थिररुपमा विस्तार हुँदै गयो । उक्त आम्दानीको साथ आफ्नो परिवारलाई आर्थिक रुपमा सहयोग गर्न उनीहरु सफल भए । अब व्यापारलाई थप विस्तार गर्नुपर्ने भएको थियो । तर ७ जनाले मात्र त्यो सम्भव थिएन, त्यसैले उनीहरुले यसमा महिला सहभागित बढाउने निर्णय गरे ।

यसलाई कोअपरेटिभ अभियान बनाइयो । जसमा कुनै पनि महिलाले यस अभियानमा हुने फाइदा र नोक्सान दुवैमा बराबारको हिस्सेदारी लिनुपथ्र्यो । छिमेकी महिलाहरुको योगदानले यो व्यवसाय संगठितरुपमा अघि बढ्यो । लिज्जत पापड चाँडै नै एउटा ब्रान्ड बन्यो जसले महिलाहरूलाई आर्थिक रुपमा आत्मनिर्भर बनायो । यो शहरी क्षेत्रमा घरेलु उद्योगका रुपमा सुरु भयो र विस्तारै ग्रामीण क्षेत्रमा फैलियो । संस्थाको मुख्य उद्देश्य हिलाहरूलाई रोजगारीको अवसर प्रदान गरी सशक्तीकरण गर्नु हो ।

महिलाहरुले एकमात्र खाना पकाउने सीपलाई प्रयोग गरेर दिगो जीविका आर्जन गर्न सकुन् भन्ने ती संस्थापकहरु चाहन्थे । तीन महिनामा करिब २५ जना महिलाले पापड बनाउन थाले । चाँडै महिलाहरुले व्यवसायका लागि भाँडाकुँडा, अलमारी, चुलोलगायत केही उपकरणहरु किनेका थिए । संस्था गठन भएको दोस्रो वर्षमा एक सय देखि डेढ सय जना महिला यस समूहमा सामेल भइसकेका थिए भने तेस्रो वर्षको अन्त्यसम्ममा ३ सयभन्दा बढी सदस्य पुगेका थिए । 

 
सन् १९६२ मा यस अभियानले १ लाख ८२ हजार भारु बराबरको पापड बिक्री गरेको थियो । यो अभियानले नयाँ प्रडक्ट बजारमा ल्यायो जसले गर्दा यसको लोकप्रियता झनै बढ्यो । महिलाहरुको नेतृत्वमा भएको यो कदम एक क्रान्ति जस्तै थियो । र, तिनीहरू चाहन्थे अन्य महिलाहरु पनि आर्थिकरुपले सफल र स्वतन्त्र रहुन् । त्यसैले, उत्पादन क्षमता अनुसार घरबाटै पापड बनाउन सक्ने महिलालाई मात्र कामदार बनाउन थालियो । यो अभ्यास अझै कायम रहेको छ ।

यो व्यवसाय मोडेलले गरिबीमा बाँचिरहेका हजारौं अशिक्षित तर दक्ष महिलाहरुलाई रोजगारी र आर्थिक स्वतन्त्रताको अवसर प्रदान गर्दछ । उनीहरुको सफलताको रहस्य पनि यही हो । यस उद्योगमा पुरुषहरु भने ड्राइभर वा स्टोर सहायकको रूपमा कार्यरत छन् । लिज्जतमा सबै शीर्ष पदहरु महिलाले ओगटेका छन् । जसले साधारण कामदारको रूपमा काम सुरु गरे र आफ्नो योग्यताको आधारमा संगठनमा शीर्ष पद हासिल गरेका हुन् । भारत जस्तो देश, जहाँ महिलाको कार्यशक्ति सहभागिता २० प्रतिशतमा घटेको छ, त्यहाँ महिलाहरुले दिनमा ६ सय रुपैयाँ कमाउने गर्छन् ।

सन् २००२ मा लिज्जतको कारोबार ३ अर्ब भारु र निर्यात १० करोड बराबरको थियो । अहिले बढेर ८० करोड बराबरको निर्यात हुने गरेको छ । यसले वार्षिक करिब ५ अर्ब पापड बनाउने गरेको छ । लिज्जत पापडले हाल निर्यातकर्ता व्यापारीको सहयोगमा आफ्ना उत्पादनहरू निर्यात गर्दछ । तिनीहरूले संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स लगायत धेरै देशहरुमा आफ्ना उत्पादनहरू निर्यात गर्छन् ।

 
लिज्जत पापडकी एकमात्र जीवित ९४ वर्षीया सह–संस्थापक जसवंतीबेन पोपट पद्मश्री पुरस्कारबाट सम्मानित भएकी हुन् । उनले ‘व्यापार तथा उद्योग’ विधामा उत्कृष्ट काम गरेबापत भारतको चौथो सर्वोच्च नागरिक पुरस्कार पाएकी हुन् । लिज्जत पापडको सफलताको कथाले कुनै पनि सुरुवात सानो हुँदैन र कुनै पनि सुरुवात महत्वहीन हुँदैन भन्ने विषयको ज्ञान प्रदान गरेको छ । 
 
एजेन्सीहरुको सहयोगमा
 

Post Your Comment