Market Closed

दोहोरो अंकले बढ्यो नेप्से, बन्दैछ यी २ कुरा लगानीकर्ताको मुख्य चासो

24 Nov,2022
  • bullbears_11_24_2022_3_12_54.jpg
नेपाली पैसा 
 
काठमाडौं :  नेप्से बिहीबार सकारात्मक देखिएको छ । चुनावपछि खुलेको बजार केही दबाबमा देखिएको थियो । तर बिहीबार भने सूचकमा सकारात्मक प्रभाव परेको छ । यस दिन नेप्से सूचक ११.५६ अंकले बढेर १९३३.५५ विन्दुमा आएको छ । ९२ करोड  ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजारले विस्तारै सकारात्मक लय समाउने कतिपय लगानीकर्ताहरुको बुझाई रहेको छ ।  
 
यस्तै, समग्रमा हेर्दा पुँजी बजारले राजनीतिको क्लियर पिक्चरका साथमा आगामी मौद्रिक नीति समीक्षा पनि कुरिरहेको छ । चुनावपछि अहिले धमाधम मत गणना भइरहेको छ । आगामी सरकार कसको नेतृत्वमा बन्ने भन्ने लगायतका विषय अझै अन्योलमै छन् । यसलाई पनि लगानीकर्ताले निकै चासोका साथ हेरिरहेको देखिन्छ । यसैगरी, अर्को महत्वपूर्ण पक्ष भनेको मौद्रिक नीति समीक्षा हो । 
 
केन्द्रीय बैंक मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा जुटेको छ । समीक्षामार्फत तरलता बढाउने र ब्याजदर घटाउने विषय आउँछ कि आउँदैन भन्ने आम लगानीकर्ताको चासो र चिन्ताको विषय बनिरहेको छ । यसैगरी, पुँजी बजार सुधारका लागि केन्द्रीय बैंकबाट चालिने नीतिगत कदमहरुले पनि निकै ठूलो प्रभाव पार्छ । यसर्थ, अहिले बजारले यिनै विषयहरुलाई पनि ख्याल गरिरहेको विश्लेषकहरुको पनि बुझाई रहेको छ ।   
 
तथापि, बजारले १५ महिना लामो वियरिस यात्रा पूरा गरिसकेको छ । सेयर भाउ पनि निकै तल्लो विन्दुमा आइसकेको छ । पीई रेसियो हेर्दा पनि मूल्य सस्तो भएको देखिन्छ । यस्तै, चुनावी माहोलका कारण बजारमा पैसा पनि आइरहेको छ । केन्द्रीय बैंकको पछिल्ला तथ्यांकहरुले पनि निक्षेप बढिरहेको देखाएको छ । यसले सेयर बजारलाई विस्तारै सहज बनाउने अनुमान गरिएको छ ।

यसैगरी, लाभांशको सिजन भएकाले खरिदकर्ता उत्साहित हुन सक्छन् । तर यही बेला मर्जरमा गएका कम्पनीहरुको कारोबार खुला भइरहेकाले सप्लाई भने केही बढेको छ । सेयर बजार घटबढ भइरहन्छ । यो बजारको नियमित र स्वभाविक प्रक्रिया हो । यसर्थ, लगानीकर्ताहरुले सुझबुझपूर्ण हिसाबले कारोबारसम्बन्धी निर्णय लिनुपर्ने हुन्छ ।
 
यस दिन २२५ कम्पनीको २५ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ । ७ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा शाइन रेसुंगा डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र एनआइसी एसिया बैंक परेका छन् ।

 
 
 

Post Your Comment