Market Closed

पुँजी बजारमा देखियो सकारात्मक माहोल, २ अर्बको सेयर कारोबार

27 Nov,2022
  • bull_market_11_27_2022_3_08_47.png
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारमा आइतबार सकारात्मक माहोल देखिएको छ । यस दिन नेप्से सूचक ३२.४३ विन्दुले बढेर १९६५.९८ अंकमा आएको छ । करिब २ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । पछिल्ला दिनहरुमा बैंकहरुमा क्रमशः तरलता सहज हुँदै गएको छ । सीडी रेसियो ८६ को लाइनमा आएको छ । बैंकले विस्तारै कर्जा प्रवाह गर्न थालेका छन् । ब्याजदर घटाउनेक्रम पनि सुरु भएको छ । यी परिपेक्ष्यमा बजारले पनि सकारात्मक संकेत दिएको हो । यता, केन्द्रीय बैंक मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।

सम्भवतः आजै साँझ समीक्षा सार्वजनिक हुनेछ । समीक्षामार्फत केही लचक नीति आउन सक्ने अपेक्षा लगानीकर्ताले गरिरहेका छन् । ब्याजदर घटाउने, तरलता प्रवाह र लगानी बढाउने गरी नीति आएमा त्यसले पुँजी बजारसहित समग्र अर्थतन्त्रलाई गति दिन सहयोग पुग्नेछ । यही अपेक्षामा नै बजारले सकारात्मक माहोल बनाएको विश्लेषकहरुले अनुमान लगाएका छन् । 
 
यसैगरी, चुनाव पनि सकिएको छ । यसअघिकै प्रुमख दलहरुले नै अग्रता लिएका छन् । सम्भवतः वर्तमान गठबन्धनले नै सरकारको नेतृत्व गर्न सक्ने संकेतहरु देखिएको छ । यसर्थ, राजनीतिक गतिविधि नियालिरहेका लगानीकर्ताहरुलाई पनि अब आफ्नो निर्णय लिन सजिलो भएको छ ।  
 
 यस्तै, मूल्यका आधारमा हेर्ने हो भने पनि निकै तल्लो विन्दुमा रहेको छ । ३२ सय हाराहारीमा पुगेको बजार अहिले १९ सयको लाइनमा रहेको छ । पीई रेसियोले पनि मूल्यको अवगत गराइरहेको छ । बजार बियरिसमा लागेको पनि १५ महिना भएको छ । चक्रीय नियमलाई आधार मान्दा पनि अब तल झर्ने गति रोकिनुपर्ने धेरैले अनुमान लगाइरहेका छन् । 
 
यसैगरी, लाभांशको सिजन भएकाले पनि यतिबेला खरिदकर्ता उत्साहित हुन सक्छन् । तर यही बेला मर्जरमा गएका कम्पनीहरुको कारोबार खुला भइरहेकाले सप्लाई भने केही बढेको छ । तर पनि सेयर बजार घटबढ भइरहन्छ । यो बजारको नियमित र स्वभाविक प्रक्रिया हो । यसर्थ, लगानीकर्ताहरुले सुझबुझपूर्ण हिसाबले कारोबारसम्बन्धी निर्णय लिनुपर्ने हुन्छ ।
 
यस दिन २३३ कम्पनीको ४२ लाख २३ हजार कित्ता सेयर कारोबार भएको छ । ४५ करोड रुपैयाँसहित कारोबार रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र नेपाल टेलिकम परेका छन् । 



Post Your Comment