Market Closed

जुन सेक्टरमा बढी रियाक्सन भयो त्यसैमा बुल हिट हुन्छ : हेमन्त बस्याल

01 Jan,2023
  • foto_1_1_2023_8_09_14.jpg

काठमाडौं :  नयाँ सरकार गठन भएसँगै बजारमा चहलपहल बढ्न सुरु गरेको छ । लगानीकर्ताले रुचाएका व्यक्ति फेरि पनि अर्थमन्त्री बनेका छन् । बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ८६% को विन्दुमा झरेको छ । लगानीकर्ताको मनोबल बढ्दै गएको देखिन्छ । कारोबार रकम पनि वृद्धि हुँद गइरहेको छ । कम्पनीहरुले लाभांश प्रस्तावसहित धमाधम साधारण सभा पनि बोलाएका छन् ।

१७ महिनाको समय अवधिमा करिब  ३२०० को विन्दुबाट घटेको सेयर बजार १८०६ विन्दुसम्म झर्यो । अहिले बल्ल २००० विन्दु पार गरेको छ । बजारले १८०० को लेभलमा न्यूनतम विन्दु बनाएपछि २००० विन्दु पार गरेको हो । यता, बजारका लागि प्रतिकूल बनेका नीतिहरु अझै समाधान भइसकेका छैनन् । तर पनि लगानीकर्ताहरु बजार बढ्नेमा आशावादी छन् ।

विशेषगरी, नयाँ अर्थमन्त्रीले बजारका समस्या समाधान गर्ने र त्यसको सकारात्मक प्रभाव बजारमा पनि पर्ने भन्दै लगानीकर्तामा आत्मविश्वास वृद्धि भएको देखिन्छ । सेयर बजारले आगामी दिनमा निर्धारण गर्ने दिशा, नयाँ सरकार गठनसँगै अब आउन सक्ने नीतिका प्रभाव लगायतका विषयमा केन्द्रित रहेर वित्तीय विश्लेषक एवं पुँजी बजारका जानकार हेमन्त बस्यालसँग नेपाली पैसाका निराजन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :  
 
नयाँ सरकार गठन भएसँगै बजार बढ्न सुरु गरेको छ, सरकार नै नयाँ भएर हो या अर्थमन्त्री विष्णु पौडेलको नियुक्तिका कारणले गर्दा बजारमा चहलपहल बढेको हो ? वा अन्य केही कारणहरु छन् ?
 
यसमा मुख्य दुवै फ्याकटरले काम गरेको छ । साधारणतयः निजी क्षेत्र र लगानीकर्ता विगतको सरकार र उनीहरुले गरेको गतिविधबाट त्यति सन्तुष्ट हुन सकेका थिएनन् । विशेषगरी निवर्तमान अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरका बीचमा पनि राम्रो सम्बन्ध भएको देखिएन । त्यस्तो अवस्थामा नीतिगत अस्थिरता हुन सक्ने सम्भावनाले पुँजी क्षेत्र जहिले पनि ‘पर्ख र हेर’ को अवस्थामा रहन्थ्यो । अब सरकार पनि परिवर्तन भयो, अलिकति अप्रत्यासित खालको अवस्थाबाट सरकार बनेको छ ।

यो भन्दा पछाडि के होला भन्ने अनिश्चितताको अवस्था थियो । तर सोचे भन्दा फरक तरिकाले निश्चिततातिर गयो । निजी क्षेत्रमा पनि केही आत्मविश्वास बढेको देखिन्छ, यो एउटा पाटो भयो । अर्को, अब विस्तारै फिस्कल पोलिसी मेकर र मोनेटरी पोलिसी मेकरको बीचमा सुमधुर सम्बन्ध रहन्छ भन्ने आशमा आम लगानीकर्ताको मनोवल बढेको देखिन्छ । अर्थमन्त्रीले पनि निजी क्षेत्रलाई सहज वातावरण सिर्जना गर्नेतर्फ काम गर्नु भएको देखिन्छ । उहाँले अर्थतन्त्र सुधारका लागि जो कोहीलाई सहज वातावरण सिर्जना गरिदिनुहुन्छ भनेर बाहिर सुन्न पाइन्छ । 
 
त्यसलाई धेरै सकारात्मक पाटोबाट हामीले लिन सक्छौं । र, उहाँ निजी क्षेत्रसँग नजिकको सम्बन्ध राख्न सक्ने अर्थमन्त्रीका रुपमा निजी क्षेत्रले बुझेका कारण पनि अहिले माहोल केही पोजेटिभ भएको हो । फेरि, संयोग पनि के भएको छ भने, यो भन्दा अगाडिका २ वटा बुल रनमा पनि उहाँ नै अर्थमन्त्री हुनुहुन्थ्यो । त्यस हिसाबले लगानीकर्ताले पोजेटिभ रियाक्ट गरेको पनि हुन सक्छ । 
 
त्यसो भए नेप्से ३२ सयसम्म पुगेर १८ सयको लाइनमा झर्नुमा नेतृत्वमै बसेका व्यक्तिहरुको हात हो त ?
 
 जतिबेला बजार ३२ सयसम्म पुगेर फेरि १८ सयको लाइनमा आइपुग्यो, त्यस बीचमा एउटा त मार्केट साइकलले पनि काम गरेको हो । यसलाई अन्यथा भन्न मिल्दैन । तर कति समयमा कतिसम्म घट्यो अनि कुन गतिमा घट्यो भनेर हेर्ने हो भने मार्केट साइकल भन्दा पनि अरु धेरै कुराहरुले असर गरेको हामी आंकलन गर्न सक्छौं । 
 
त्यसमध्ये एउटा त युक्रेन रसियाको युद्ध, इन्डो प्यासिफिक क्षेत्रको संघर्ष लगायतका कारण उत्पन्न जिओपोलिटिक्स (भूराजनीति) प्रभाव पनि हो । बाह्य क्षेत्र अप्ठ्यारो परिस्थितिमा रह्यो । सँगै कोभिडपछि मुद्रास्फिति बढेको छ भने आयात पनि महँगो भएको छ । हामी बाह्य क्षेत्र व्यवस्थापनमा चुक्यौं । त्यसलाई व्यवस्थापन गर्नका लागि मनी सप्लाई कन्ट्रोल गर्ने अवस्थामा राष्ट्र बैंक पुग्यो ।
 
सँगै सरकारले पनि आयातलाई प्रतिबन्ध लगाउनुपर्छ भन्यो । परिस्थिति त्यस्तो छ, ग्राहो अवस्था छ भनेर सहजरुपमा अर्थतन्त्रमा मोमेन्ट हुनुभन्दा पनि फरक तरिकाले नेपाल सरकारले नै हस्तक्षेप गर्नुपर्ने अवस्थामा हाम्रो इकोनमी पुगेको थियो । त्यसबेला नीति निर्माताहरुमा अलिकति त्रास पनि थियो, किन भने श्रीलंकामा जुन घटना घट्यो त्यो हाम्रोमा पनि भयो भने भन्ने त्रासले काम गर्यो । यसले पनि चाहिने भन्दा बढी रियाक्ट गरेको हो जस्तो मलाई लाग्छ ।
 
किनभने ६ महिना भन्दा बढीका लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्राको सञ्चिति हामीसँग हुँदाहुँदै पनि अलि बढी एग्रेसिभ भएर नीति निर्माण गरेको देखिन्छ । त्यस हिसाबले हेर्दा सेयर बजार घट्नुको पछाडि बाह्य कारण पनि प्रमुख देखियो । अर्को, अन्तरराष्ट्रिय बजारबाट आएको इन्फ्लेसन हो । हरेक देशले विदेशी मुद्राको रिजर्भलाई सेफ साइडमा राखेर आफूलाई बचाउ गर्नेतर्फ लागे ।

यो विकशित अर्थतन्त्रले पनि गरे, जसको प्रभाव हामीले केहिहदसम्म भोग्नुपर्यो । र, हाम्रो आन्तरिक नीतिका कारणले समग्र मुद्रा प्रदायमा असर पुग्यो । वित्तीय बजारलाई हामीले हेर्दा क्रेडिट र डिपोजिटका कुरालाई हेर्ने हो । राष्ट्र बैंकले ब्रोड मनि सप्लाई बढाउने टार्गेट राख्दाराख्दै पनि गत वर्ष एकदम कम दरमा मात्र मनि सप्लाई बढेको देखियो । यसको त्यसको सीधा असर पुँजी बजारमा पर्यो । यस्तै बेला सरकारले गभर्नर हटाउने, अदालतको आदेशबाट फेरि गभर्नर आउने, अर्थमन्त्री हट्ने फेरि उहाँ नै पुन? आउने जस्ता घटना पनि घटे ।

त्यस, अवस्थामा पोलिसी रिस्क बढ्ने अनुमान लगाएर लगानीकर्ताले कन्फिडेन्ट बढाउन नसकेका हुन् । अभिभावकत्वको भूमिका निर्वाह गर्ने निकायको उपस्थिति कम भएको जस्तो लगानीकर्ताले महसुस गरेको अनुमान गर्न सकिन्छ । यही कारण सेयर बजार घट्ने क्रम सोचे भन्दा तीव्र गतिमा भयो । छोटो अवधिमा सोचेको भन्दा धेरै घट्यो भन्न सकिन्छ । 
 
तरलता अझै पूर्णरुपमा सहज भइसकेको छैन, बैंकहरुले लोन पनि दिएका छैनन्, अब यही विन्दुबाट इन्डेक्स बढ्यो भने यसलाई लगानीकर्ताको मनोविज्ञान वा साइकोलोजी नै प्रमुख भएको मान्न सकिन्छ ? 
 
इन्भेष्टर्सको कन्फिडेन्स हो । तर सँगसँगै जब बजार बढ्दै जान्छ, बैंकहरुलाई तरलता सहज हुने वातावरण पनि यसले क्रिएट गर्दिनसक्छ । किनभने कसैले लिक्विडिएट गर्दै जाँदा जुन बैंकमा डिफल्ट साइकल क्रिएट हुन लागेको हुन्छ, त्यो डिफल्ट साइकललाई चाँहि यसले ब्रेक गर्दिन सक्छ । अर्थात, एउटा डिफल्ट भएको कारणले अर्को पनि डिफल्ट हुँदै आउने चक्र देखिएको थियो । कोभिडको कारण समग्र अर्थतन्त्रमा समस्या नै देखिने भयो भनेर त्रसित भएको अवस्थामा पुँजी बजारले सकारात्मक गति लियो ।

यस क्षेत्रबाट कमाएको रकमलाई अन्य क्षेत्रको भुक्तानीका लागि व्यवस्थापन सकियो । अब पनि त्यस्तो खालको अवस्था सिर्जना भएर पोजेटिभ वे बाट बजार माथि जान सक्ने सम्भावना रहन्छ । यदि त्यस्तो अवस्था रह्यो भने त्यसले विस्तारै मनि क्रिएसन हुन सक्ने सम्भावना रहन्छ । त्यो बाहेक हामीले हेर्ने हो भने ब्यालेन्स अफ पेमेन्ट पोजेटिभ वे मा जाने सम्भावना देखिन्छ । मनि सप्लाई नै नबढेको अवस्थामा पनि अहिले बैंकिङ इन्डस्ट्रीमा पनि ८६% को लाइनमा सीडी रेसियो छ ।

८६ बाट ८९% नै पुग्यो भने पनि त्यो २ देखि ३% ले क्रेडिट क्रियसन बढ्ने हो । त्यसले फेरि डिपोजिट पनि बढाउँदै जाने हो । त्यस हिसाबले इकोनोमीमा अब रिस्क आउँदैन भन्ने कम्फिडेन्स दिन सकेको अवस्थामा थप क्रेडिट क्रिएसन हुन सक्ने सम्भावना देखिन्छ । त्यसले एडिस्नल डिपोजिटलाई पनि सपोर्ट गर्छ । त्यसले, मनि क्रिएसन हुने हो । तर रिस्क के हो भने, अहिलेको अवस्थामा क्रेडिट क्रिएसन हुँदै गर्दा आयातमा मात्रै नजाओस् भनेर यदि सरकार र राष्ट्र बैंकले संमन्वय गर्छ भने इकोनमीमा अन्य कुनै फ्याक्टरबाट नआउँदा पनि मनि सप्लाई क्रिएसन हुनसक्छ ।  
 
नेपालको सेयर बजारमा ब्याजदर, टेक्निकल एनालिसिस वा फन्डामेन्टल कुन फ्याक्टरले सबैभन्दा बढी रियाक्ट गरेको देख्नु भएको छ ? 
 
बजारलाई धेरै फ्याक्टरहरुले प्रभाव पार्छ । सयौं फ्याक्टरहरु मध्येको एउटा महत्वपूर्ण पक्ष ब्याजदर हो । फन्डामेन्टल एनालिसिसको एउटा फ्याक्टरको रुपमा हामीले ब्याजदरलाई लिन सक्छौं । तरलत बढ्यो भने ब्याजदर घट्छ । तरलता घट्यो भने ब्याजदर बढ्छ । त्यो अवस्थामा हेर्दा बजारमा तरलता कति छ भन्ने कुराले चाँहि नेपालको पुँजी बजारमा धेरै असर गरेको देखिन्छ । तर सबै यसैको कारणले गरेको हो भन्ने चाहिँ मेरो भनाई होइन । ब्याजदरलाई पनि डिपेन्डेन्ट भेरिएवलको रुपमा लिएर हेर्यौं भने तरलतालाई लिन सक्छौं ।
 
नेपालको इकोनमीको साइज सानो छ । हामीले हाम्रो इकोनमी भन्दा बाह्य इकोनमीलाई चाहिने क्यापिटल फ्लोलाई रोकेका छौ । त्यस कारणले बजारमा अलिकति तरलता विस्तार भयो भने पनि लगानी गर्ने ठाउँहरु कम छ । कहाँ लगानी गर्ने भन्दा उद्योग धन्दाहरु एकदम कम छ । अन्य फाइनान्सियल सेक्युरिटी पनि छैन । त्यसैले अलिकति बचत भयो वा आम्दानी भयो भने बजारमा तरलता बढ्छ । त्यसलाई कहाँ लगानी गर्ने भन्दा एउटा घर जग्गा देखिएला, अर्को पुँजी बजार होला । अनि, मोटर गाडी आयात लगायत यस्तै यस्तैमा जान्छ । 
 
यही कारण अलिकति तरलता बढ्ने बित्तिकै त्यो रकम पुँजी बजारमा आउने गर्छ । अनि तरलता घट्ने वित्तिकै अन्य क्षेत्रलाई पैसा चाहियो भने पनि रकम जोहो गर्न पुँजी बजारबाटै झिक्नुपर्ने हुन्छ । यसैकारण तरलतासँग पुँजी बजार अलिबढी आश्रित भएको देखिन्छ । नेपालको केसमा तरलता तलमाथि पर्दा पुँजी बजार पनि त्यही गतिमा घटबढ हुने गरेको देखिन्छ । यता, टेक्निकल एनालिसिसले हेर्ने भनेको प्राइस र भोलुम चार्ट हो ।

इतिहासमा कसरी प्राइसले बिहेव गर्यो र त्यो प्राइस बिहेवले गर्दा भोलुम कस्तो छ, त्यसको एनालिसिसको आधारमा अब के होला भनेर विश्लेषण गर्ने भनेको टेक्निकल (प्राविधिक) एनालिसिस भयो । त्यसले दुईवटा फ्याक्टरहरुलाई बढी फोकस गर्छ । प्राइस मुभमेन्ट र इकोनोमीमा भएको परिवर्तनको आँंकलन गर्न सकिन्छ । प्राइस मुभमेन्ट भनेको डिपेन्डेन्ट भेरिएबल हो र अन्य भेरियवल भनेको इन्डिपेन्डेन्ट भेरायवल हो ।

जसका कारण प्राइस मुमेन्ट आउँछ भन्ने हिसाबले टेक्निकल एनालिसिसले अनुमान गर्छ । त्यसरी अनुमान गर्दैगर्दै सबै कुराहरु त्यही समयमा ठीकसँग एड्रेस नभएको पनि हुन सक्छ । र, ‘हिस्ट्री मे नट रिपिट अगेन’ । कुनै पनि सूचना र्यान्डम फेसनमा आउन सक्छ तर त्यो सूचनाले ट्रेन्डलाई नै चेन्ज गर्छ भन्न सकिँदैन । टेक्निकल एनालिसिस सर्ट ट्रम ट्रेडिङका लागि ठीक हो । सधैंका लागि टेक्निकल एनालिसिसले काम नगर्न सक्छ ।
 
फन्डामेन्टल (आधारभूत) एनालिसिसले अर्थतन्त्रलाई प्रभाव पार्ने अथवा कुनै कम्पनीको सेयर प्राइसलाई प्रभाव पार्ने हरेक फ्याटरहरुलाई ठीकसँग भ्यालु गर्छ । यदि हामीले मोडरिङ गर्यौ भने त्यसबाट आएको भ्यालु अथवा त्यस आधारमा मार्केट के हुन सक्छ वा इकोनमीमा के हुन सक्छ ? कुनै कम्पनीको प्राइस के हुन सक्छ भन्ने पाटोबाट पनि हेर्न सकिन्छ । फन्डामेन्टल एनालिसिसले प्राइस मुभमेन्ट कसरी हुन्छ भन्ने कुरालाई हेर्दैन । 
 
फन्डामेन्टल र टेक्निकल एनालिसिसले समग्र बजार अन्डर भ्यालुड छ अथवा ओभर भ्यालुड छ भनेर भन्न सकिन्छ । तर ओभर भ्यालुड हुँदाहुँदै सर्ट ट्रममा १–२ वर्ष सम्म ओभर भ्यालुड हुन सक्छ । अन्डर भ्यालु भएको छ भने अझै अन्डर भ्यालुड पनि हुन सक्छ । 
 
तरलता यसैगरी टाइट भयो भने बजार बढ्दैन त ? 
 
तरलता टाइट भयो भने बजार नै बढ्दैन भन्न सकिँदैन । तर के देखियो भने हामीसँग लगानीका अन्य क्षेत्रहरु कम छन् । बजारमा मुद्रा प्रदायक एकदम टाइट छ । यता, अन्य क्षेत्रबाट रकम आउने अवस्था पनि छैन् । मानौं, मलाई ८–१० लाख रुपैयाँ झिक्नुपर्यो । यदि तरलता संकुचन भएको छ भने मैले जग्गा बेच्न चाहेर पनि बेच्न सक्दिन । अथवा, अर्को कुनै एसेट लिक्विडेट गर्न चाहेर पनि गर्न सक्दिन । त्यस्तो गर्न नसकेपछि मसँग के विकल्प हुन्छ ? अब पुँजी बजारमा कमसे कम थोरै मूल्यमा बेच्छु भने तुरुन्त त बिक्छ ।
 
यदि तरलता सहज हुने थियो भने सेयर बिक्री गर्नु पर्दैनथ्यो । कतैबाट व्यवस्थापन हुने थियो । बजारमा तरलता सहज नभएका कारण कसैले रकम जोहो गर्नका लागि सेयर बजारको सहारा लिनुपर्ने भयो, त्यही बेला सेलिङ प्रेसर बढी आउनु स्वभाविक हो । त्यसले बजारलाई अलिकत असर गर्छ । तर यसको मतलब तरलता मात्रै कारण हो भन्न मिल्दैन । यससँगै अन्य सयौं फ्याक्टरहरु छन् । 
 
नेपालको सेयर बजारको मुभमेन्ट र तरलतामा सहसम्बन्ध चाहिँ देखिन्छ । त्यसैले एउटा फ्याक्टर तरलता हो भन्न सकिन्छ । अहिलेसम्म चाहिँ तरलता बढ्ने सम्भावना देखिँदा पुँजी बजारमा पोजेटिभ रियाक्ट हुने र तरलता संकुचनसँगै लगानीकर्ताको मनोबल पनि घट्ने गरेको देखिन्छ । यस्तै, अरु फन्डामेन्टल फ्याटरहरुले पनि सेयर बजारलाई नकारात्मक प्रभाव पार्ने गरेको देखिन्छ ।  
 
आगामी दिनमा बजार बढ्ने आधारहरु के–के देख्नु भएको छ ? 
 
बजार बढ्ने एउटा मुख्य आधार भनेको अर्थ मन्त्रालय र राष्ट्र बैंकको बीचमा एउटा सम्बन्ध सुधार हो । यसले लगानीकर्ताको कन्फिडेन्ट बढ्छ । यदि सरकार र राष्ट्र बैंकका बीचमा राम्रो सम्बन्ध भयो र हामी यसरी जानुपर्छ भनेर दुवै निकाय सहमत भए भने त्यसले लगानीकर्ताको आत्मबल त बढ्छ नै, पोलिसी पनि राम्रो आउन सक्छ । 
 
फेरि केन्द्रीय बैंकले मनि सप्लाई बढाउँदा नेपाल सरकारको त्यतिबेला सहयोग भएन भने केन्द्रीय बैंकले मनि सप्लाई बढाएर आउन सक्ने रिस्कलाई चाहिँ म्यानेज गर्न नसकिने अवस्था आउन सक्छ । अथवा त्यस्तो बेलामा सरकारले लिनुपर्ने नीति नलिदिएको कारणले समस्या आउँछ की भनेर राष्ट्र बैंक अलि कन्जरभेटिभ हुन सक्छ र मनि सप्लाई व्यवस्थापन गर्नेतिर केन्द्रित रहन सक्छ । सँगै आयात नियन्त्रण गर्दा राजस्व पनि कम हुन्छ, सरकारले त्यो कुरालाई भने सेक्रिफाइस गर्नुपर्छ ।
 
अर्थतन्त्रलाई अलिकति चलायमान बनाउँछु भन्न चाह्यो भने अहिलेकै अवस्थामा पनि गर्न सक्ने स्पेस धेरै भएको हुँदा तरलता केही सहज हुन सक्छ भन्ने कुरा मेरो आँकलन हो । लगानीकर्ताले त्यसैगरी हेरेका छन् जस्तो लाग्दछ । सँगै, कच्चा तेलको मूल्य पनि घट्ने क्रममा छ, यसले पनि हामीलाई पोजेटिभ प्रभाव पार्छ । करिब ४०% भन्दा बढीले यसको मूल्य घटिसकेको छ । भन्नुको अर्थ प्रेट्रोलियम पदार्थमा जति खर्च हुन्थ्यो, त्यो चाहिँ ३० देखि ४०% ले घट्ने अवस्था देखिन्छ । 
 
यसले पनि पोजेटिभ फ्याक्टरको रुपमा काम गर्छ भन्ने मलाई लाग्छ । सँगै अहिले खाद्यन्नको मूल्यवृद्धि पनि कन्ट्रोलमा आइसकेकाले आयातको फिगरलाई केही व्यवस्थापन गर्न सकिने देखिन्छ । सँगसँगै विदेशमा काम गर्न जाने श्रमिकहरुको संख्या पनि बढेको छ । जसले गर्दा रेमिट्यान्स बढ्छ । यी कारणले समग्र अर्थतन्त्रलाई पोजेटिभ इम्प्याक्ट पार्ने देखिन्छ । अर्को कुरा, मार्केटले बियर साइक पनि करिब–करिब पूरा गरेको छ । अब फेरि बुल साइकल लिनलाई तयार भएको अवस्थामा समग्र बजार देखिन्छ । 
 
अबको बुल रनमा कुन सेक्टरले लिड गर्न सक्ला ?
 
अहिलेको अवस्थामा हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाले मार्केटलाई लिड गर्ने देखिन्छ । तर यिनीहरुमा त्यति ठूलो रियाक्सन नआउला, त्यस हिसाबले अहिले सामान्य तरिकाले हर्ने हो भने जुन सेक्टेरमा बढी रियाक्सन आएको थियो त्यही सेक्टर हुन्छ जस्तो मलाई लाग्छ । ३२ सयको विन्दुबाट घट्दा सबैभन्दा धेरै रियाक्ट गरेको सेक्टर जुन थियो, त्यसैले अबको बुल रनलाई लिड गर्छ । 
 
पहिलाको जस्तै बबल क्रिएट हुने सम्भावना कत्तिको देख्नु हुन्छ ?
 
मैले बबल नै त भन्दिन । बबल क्रिएट भएर बबल ब्ल्लास्ट भएको होइन । फन्डामेन्टलले पनि २७ सय देखि ३ हजारको बजारलाई सपोर्ट गथ्र्यो । ३ हजारदेखि ३२ सयसम्म बबल क्रिएट भयो भन्न मिल्दैन । ४–५ हजार पुगेको भए बबल हो भन्ने अवस्था हुन्थ्यो होला । अब पनि बबल नै आउँछ म भन्दिन । हामीले हेर्दा स्थिति सामान्य रह्यो, राजनीतिक स्थायित्व देखियो, क्रुड आयलको भाउ ६० देखि ७० डलरको रेन्जभित्र बस्ने अवस्था रह्यो भने अघिल्लो हाईको तहसम्म पुग्नलाई खासै धेरै समय नलाग्ला ।
 

Post Your Comment