Market Closed

अब एउटा करेक्सनपछि बुल कन्फर्म गर्न सकिन्छ, नेप्सेले बटम लगाइसकेको छ : सन्दीप कुमार चौधरी

08 Jan,2023
  • sandeep_1_8_2023_8_10_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : करिब १७ महिनाको समय अवधिमा ३२०० आसपास विन्दुबाट घटेको नेप्से सूचक १८ सयको एरियामा बटम लगाएर बढ्न सुरु गरेको छ । नयाँ सरकार गठन र विष्णु पौडेल अर्थमन्त्री बनेसँगै लगानीकर्तामा सकारात्मक उर्जा आएको देखिन्छ । लामो समय बियरिस ट्रेन्डमा गएको बजारले अहिले पुनः बुल रन सुरु गर्न लागेको कतिपय लगानीकर्ताहरु ब्ताउन थालेका छन् । बजारलाई मुख्यरुपले प्रभाव पार्ने तरलता अवस्था पनि सहज हुँदै गएको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप निरन्तर थपिँदै गएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६% रहेको छ । यता, केन्द्रीय बैंकको पछिल्लो तथ्यांक अनुसार मुलुकमा रेमिटेन्स पनि बढेको छ । अर्थतन्त्रका अन्य सूचकहरु पनि सकारात्मक रहेको अवस्थामा सेयर बजार पनि निरन्तरजसो बढ्न थालेको हो । दैनिक कारोबार रकम पनि बढेको छ ।

पछिल्लो केही सातायता सेयर बजारले समग्रमा सकारात्मक संकेत देखाइरहेको छ । यसैबीच, नेप्सेले आगामी दिनमा तय गर्ने दिशा, अब आउने बुल रनमा लीड गर्ने सेक्टर, प्राविधिक इन्डिकेटरहरुले देखाएका संकेत लगायतका विषयहरुमा केन्द्रीत रहेर सेयर बजारका प्राविधिक विश्लेषक सन्दीप कुमार चौधरीसँग नेपाली पैसाका निराजन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :
 
केही दिनयता बजारले केही सकारात्मक मुभमेन्ट लिन खोजेको देखिन्छ, के बुल रन सुरु भइसकेको हो ?
 
अहिले नै बुल सुरु भयो भनेर कन्फर्म गर्न त मिल्दैन । एकपटक करेक्सन भएपछि मात्र कन्फर्म हुन सक्छ । एकपटक करेक्सन भएर पुनः २००० विन्दुभन्दा माथि नै बढ्न सक्यो भने मात्र त्यसलाई बुल कन्फर्म गरेको मानिन्छ । अहिलेको विन्दुलाई हेर्ने हो भने २२६० सम्म जान्छ कि भन्ने अनुमान हो । २२६० पुगेपछि एकपटक करेक्सन आउनुपर्छ । करेक्सन आउँदा २००० भन्दा तल जानु भएन । त्यसो भएमा बुल कन्फर्म गरेको मानिन्छ । 
 
बजारले १८०० को बटम लगाइसकेको हो या अझै बटम लगाउन बाँकी नै छ ?
 
१८०० को विन्दुलाई २–३ पटक हिट गरिसक्यो । त्यसैले अब त्योभन्दा मुनि नजाला, तर अहिलेको टार्गेट २२६० सम्म राख्न सकिन्छ । त्यसपछि एउटा करेक्सन आएर २००० भन्दा माथि नै इन्डेक्स बस्यो भने त्यो बेस्ट हुन्छ । 
 
करेक्सनमा नेप्से कतिसम्म आउला ?
 
करेक्सन आउँदा फिबोनाची रिट्रेसमेन्ट लेभलको ६१.८% सम्म नआउला । ५०% बाट नै बाउन्स ब्याक पनि हुन नि सक्छ ।
 
अब आउने बुल रनमा ३२०० को हाईलाई ब्रेक गर्ने सम्भावना कत्तिको रहन्छ, त्यो ब्रेक गर्न कति समय लाग्ला ?
 
अहिले नै त त्यस्तो हुने सम्भावना देखिँदैन । पहिला २५०० विन्दु ब्रेक गरेपछि मात्र ३२०० को आशा गर्न सकिन्छ । २५०० भनेको निकै बलियो रेसिस्टेन्स हो । त्यसलाई ब्रेक नगरी ३२ सय नै ब्रेक गर्छ भनेर भन्न अहिले सकिँदैन । २५०० ब्रेक गरेपछि ३२०० त्यसै ब्रेक गर्छ । अहिले नै हेर्ने हो भनेको चाहिँ नेप्से २२६० सम्म जान सक्छ कि सक्दैन भन्ने हो । यो भनेको २०% ले बढ्ने हो । २०% ले बढ्नु भनेको राम्रो हो ।

त्यहाँबाट रिट्रेस गर्दा १०–१२% सम्मको रिट्रेस हुन सक्छ । त्यसपछि कन्फर्म हुन्छ । तर अहिले नै बुल कन्फर्म गर्न सकिँदैन । पुसमा करेक्सन आएन भने केही समयपछि एकपटक सानो करेक्सन आउन सक्छ । यदि फिबोनाची लेभलको ६१.८% नभए ५०% सम्म आयो र २००० वा २१०० बाट बाउन्स लियो भने अर्कोपटक २५०० विन्दु टच गर्न सक्छ । यसका लागि लगभग करिब २ महिनाजति लाग्न सक्छ । २५०० टच गरेर एकपटक फेरि सानो करेक्सन आएपछि मात्र अर्कोपटक २५०० लाई ब्रेक गर्न सक्छ । 
 
कुन सेक्टरले बुल लीड गर्ला ?
 
बैंकिङ सेक्टर बढ्नैपर्छ, नत्र २५०० विन्दु ब्रेक नै हुँदैन । बैंकिङ इन्डेक्सले तानेन भने २५०० सम्म मात्रै हो । त्योभन्दा माथि जान गाह्रो हुन्छ । लीड गर्दा बैंकिङले गर्नुपर्ने हो ।  
 
अहिले एकाएक बजार बढ्नुको कारण बियरिस साइकल सकिएर हो या अन्य कारण पनि छन् ?
 
त्यसै पनि प्रायः अप्रिलदेखि बजार बढ्ने नै गर्दै आएको छ । यस समयमा पहिला २–३ महिना बजार साइडवेज जान्थ्यो । अहिले भने २ महिना छिटो भएको हो । किनभने बटम त लागिसकेको थियो । २ पटक १८०० टच गरिसकेको छ । अघिल्लो बुलको हाइ (१८८१) पनि टच गर्यो ।

१ महिनाको क्यान्डलबाट हेर्ने हो भने ६१% को रिट्रेसमेन्ट लेभलबाट बजार फर्किएको छ । यो लगभग सबै पार्टबाट हेर्ने हो भने बटम कन्फर्म भइसकेको हो । प्रायः बिगतमा बुल आउँदा अप्रिलबाट आएको छ । अहिले अलि छिटो बढ्यो, त्यतिमात्र हो । 
 
 टेक्निकल इन्डिकेटरहरु धेरै हुन्छन्, यसमा कुनले चाहिँ एकुरेट सिग्नल देखाएको हुन्छ ?
 
इन्डिकेटरमा बोलिन्जर ब्यान्ड ठीक हो । बोलिन्जर र इचिमोकु हो । प्राइस एक्सनमा चाहिँ फिबोनाची ट्रेन्डलाइन हो । इन्डिकेटरमा म पनि बोलिन्जर र इचिमोकु हेर्छु । नेपालमा सबैभन्दा बढी एमएसीडी हेरिन्छ, त्यो पनि राम्रो छ । 
 
बजार ३२०० पुगेको बेला यी इन्डिकेटरहरुले सेल सिग्नल देखाएका थिए त ?
 
देखाएको थियो । थुप्रै पटक देखाएको थियो । 
 
अहिले ती इन्डिकेटरहरुले के देखाएको छ त ?
 
अहिले त बाई नै देखाएको छ । हिजोअस्ती २–३ दिन बजार बढ्दा धेरैले सेल गरिहाल्थे । ट्रेन्ड हेर्नलाई सामान्यतयः तपाईंले थोरैमा पनि १०–१५ दिनको कारोबार हेर्नुपर्छ । ट्रेन्ड १५ दिन नर्मल्ली बढ्छ । अहिले बढेको १० दिन भयो अब ४–५ दिन माथि जाला । २२६० सम्म पुगेर एउटा करेक्सन आउँछ कि भन्ने अनुमान छ । 
 
इलिएट वेभबाट हेर्दा बजारले कुन दिशा देखाएको छ ?
 
इलिएट वेभ हेर्ने हो भने कतिपय विष्लेशकहरुले ६ हजारसम्म देखाएका छन् । इलिएट वेभ भनेको लङ टर्मका लागि हो । अहिले हामी सानो थर्ड वेभमा रहेका छौं । थर्ड वेभपछि एउटा करेक्सन आउला, करेक्सनपछि त्यही २ हजार वा २१ सयबाट बजार बाउन्स ब्याक होला । 
 
बजारमा ट्रेडरहरुले नाफा गर्छन् या इन्भेष्टरहरुले ?
 
सामान्यतयः, बजारमा नाफा इन्भेष्टरले नै गर्छन् । तर हाम्रो नेपालको मार्केटमा हर्ने हो भने धेरै ट्रेडरहरुले पनि राम्रै कमाएका छन् ।  
 
तपाईं ट्रेड गर्न सल्लाह दिनु हुन्छ कि इन्भेष्ट गर्न ?
 
इन्भेष्ट गर्दा राम्रो हो । तर अहिले जस्तो सुइङ आएको बेलामा ट्रेड गर्दा पनि ठीकै हुन्छ । ट्रेडरहरुले नाफा गर्दै किनबेच गर्ने गर्छन् । तर इन्भेष्टमेन्ट चाहिँ झन् राम्रो हो । मैले सुझाव दिँदा चाहिँ इन्भेष्ट गर्न नै सुझाव दिन्छु । 
 
तपाईंले एनालाइसिस गर्दा कति एकुरेसी भेट्टाउनु भएको छ ? वा कतिसम्म मिल्छ ?
 
आफूले आफैंलाई भन्न त मिल्दैन, तर टेक्निक्ली हेर्दा अहिलेसम्म धेरै मिलेको महसुश गरेको छु ।
 

Post Your Comment