Market Closed

रणनीति र योजना बनाएर लगानी गर्दा सेयर बजारबाट सयौं गुणा नाफा कमाउन सकिन्छ : मुक्ति अर्याल

15 Jan,2023
  • mukti_1_15_2023_8_09_26.jpg
नेपाली पैसा
 
काठमाडौं : नेप्से सूचक एक महिनायता समग्रमा बढ्न सुरु गरेको छ । १८५० को विन्दुमा रहेको सूचक यस अवधिसम्म आइपुग्दा २१४९ को विन्दुमा पुगेको छ । यी सूचकलाई आधार मान्दा अहिले पनि बजार १५% ले बढेको देखिन्छ । यद्दपि, नेप्सेले गत मंगलबार बनाएको २२७७ को इन्ट्रा डे हाईलाई आधार मान्ने हो भने बजार १८५० को विन्दुबाट २३% ले बढेको भन्न सकिन्छ । उक्त विन्दुबाट अहिले सामान्य करेक्सन आएर सूचक २१४९ बन्द भएको छ ।

अघिल्लो न्यूनतमा विन्दुबाट बजार २०% बढ्यो भने बुल रन सुरु भएको बुझ्न सकिने जानकारहरु बताउँछन् । त्यसैले पनि आगामी दिन नेप्सेले तय गर्ने यात्रा सुखद हुने कुरामा लगानीकर्ताहरु विश्वस्त छन् । माघ महिना लागेसँगै सूचीकृत कम्पनीहरुले दोस्रो त्रैमासको वित्तीय रिपोर्टहरु पनि सार्वजनिक गर्नेछन् । रिपोर्ट पनि राम्रो आउने अनुमान गर्न सकिन्छ । दैनिक कारोबार रकम पनि बढेको छ । बजारमा तरलता पनि सहज हुँदै गएको छ । देशमा भित्रिने रेमिटेन्स पनि गत वर्षको भन्दा २३% ले बढेको छ । 
 
अर्थतन्त्रका अन्य सूचकहरु पनि सुधारोन्मुख देखिनु बजार बढ्ने आधार भएको जानकारहरुको भनाई रहेको छ । यसरी बजारमा सकारात्मक माहोल रहँदै गर्दा लगानीका लागि कस्ता कम्पनी छनोट गर्ने, लगानीकर्ताले सेयर खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु, सरकार तथा नियामकले खेल्नुपर्ने भूमिका, बजारलाई आवश्यक पर्ने उपकरणह्ररु लगायतका विषयहरुमा केन्द्रीत रहेर सेयर बजारका जानकार तथा वित्तीय विश्लेषक मुक्ति अर्यालसँग नेपाली पैसाका निराजन सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः
 
करिब एक महिनादेखि नेप्से बढ्न थालेको छ, के बजार बुल रनमा प्रवेश गर्न लागेको हो ? यसका आधारहरु के–के छन् ? 
 
बुल रन सुरु भएको हो भन्नका लागि बजार अघिल्लो न्यूनतम विन्दुबाट २०% ले बढ्नुपर्छ । पछिल्लो दुई महिनाभित्रको सबैभन्दा कम विन्दु १८४०–५० बीचमा कतै छ । बजार त्यो विन्दुबाट २०% भन्दा धेरैले बढेर २२ सय माथि आएको हो । यसो हेर्दा बुल रन सुरु गरेको जस्तो देखिन्छ ।

तर यो बढाई कति लामो समयसम्म जान्छ र कति समय टिक्छ भन्ने कुरा पनि हेर्न जरुरी हुन्छ । टेक्निकल डेफिनेसन अनुसार थोरैमा २०% बढ्यो भने बजारले बुल रन सुरु गरेको भन्न सकिन्छ । चाहे त्यो १ महिनामा २०% बढोस् या ४ महिनामा वा २ वर्षमा भए पनि त्यतिको रेसियोमा बजार बढ्यो भने त्यसलाई बुल रन मान्न सकिन्छ । 
 
यस्तो अवस्थामा कस्तो सेयरमा लगानी गर्दा ठीक हुन्छ ?
 
राम्रो कम्पनीमा लगानी गर्नुपर्छ । राम्रो ग्रो गरिरहेको कम्पनीमा लगानी गर्नुपर्छ । जसको नाफा नै छैन, त्यस्ता कम्पनीमा लगानी गर्नु हुँदैन । फन्डामेन्टल राम्रो भएको कम्पनीमा लगानी गर्नु भनेको सामान्य वा आधारभूत कुरा नै हो । ट्रेडिङ चाहिँ जुन कम्पनी बढी भोलाटाइल छ त्यसैमा गर्ने हो । 
 
फन्डामेन्टल एनालाइसिस गर्दा मुख्य रुपमा कुन कुरालाई हेर्नुपर्छ ?
 
मुख्य रुपमा कम्पनीको ग्रोथ हेर्नुपर्छ । खासगरी क्यास फ्लोको ग्रोथ हेर्नुपर्छ । हाम्रोमा एउटा गलत खालको बुझाई के छ भने, यहाँ सबैले जहिले पनि प्रतिसेयर आम्दानीलाई मात्र बढी फोकस गरेको देखिन्छ । क्यास फ्लोको ग्रोथ राम्रो भएको कम्पनीको इपीएसको ग्रोथ पनि स्वचालित रुपमा हुन्छ । त्यसले गर्दा क्यास फ्लोको ग्रोथ हाई भएको कम्पनीहरुमा लगानी गर्नुपर्छ । 
 
ब्लुचिप कम्पनी र ग्रोथ कम्पनीमध्ये कुन छान्ने वा कुनमा लगानी गर्दा अझ बडी राम्रो हुन्छ ?
 
यसलाई तथ्यांकबाट हिसाब गरेर मात्र कुन ठीक वा कुन बेठीक भनेर हेर्नुपर्छ । यदि बजार भोलाटायल छ भने ब्लुचिप कम्पनी खरिद गर्दा राम्रो हो । अलिकति भोलाटायल नभएको, साइडवेजमा गएको अथवा ग्रोईङ मार्केटमा ग्रोथ कम्पनी नै ठीक हुन्छ । त्यसैले लगानी गर्दा कुन बेलामा कस्तो खालको कम्पनी ठीक हुन्छ भन्ने कुरा बजारको अवस्थाले पनि निर्धारण गर्छ ।

तर समग्रमा ब्लुचिप कम्पनी नै किन्नुपर्छ । जोखिमदेखि अरु कुराहरु पनि हेर्नुपर्ने हुँदा ब्लुचिप कम्पनी लगानीका लागि सुरक्षित हुन्छन् । यिनीहरुमा जोखिम पनि कम हुन्छ । ग्रोथ कम्पनीले प्रतिफल धेरै दिन सक्छ, तर रिस्क पनि हुन्छ । हाम्रो जस्तो बजारमा जोखिमलाई पनि व्यवस्थापन गर्नुपर्ने हुँदा ब्लुचिप कम्पनीहरुलाई सायद अलि ध्यान दिनुपर्छ । 
 
अहिले कुन–कुन सेक्टर अन्डर भ्याल्यूड छन् ? 
 
सीधा भन्नुपर्दा बैंकहरु अन्डर भ्याल्यूड देखिएका छन् । यसमा कुनै शंका नै छैन । साथै, विकास बैंक, माइक्रोफाइनान्स पनि ठीकै छन् । त्यस्तै, अरु सेक्टरका पनि कुनै–कुनै सेयरहरु पनि अन्डर भ्याल्यूड देखिएका छन् । 
 
हाल बजारमा लगानी गर्नेहरु दीर्घकालीन (लङ टर्म) भन्दा पनि अल्पकालीन (सर्ट टर्म) मै किन बढी केन्द्रीत भएका होलान् ?
 
लगानीकर्ताले लङ ट्रमको भ्याल्यू नबुझेर हो । यसरी लगानी गर्दा सयौंं गुणा सम्पत्ति बढाउन सकिन्छ । लगानीकर्ताले ट्रेड गर्नुको कारण हाम्रो मार्केटको भोलाटाइल वा बजारको साइकलको कारणले पनि हुन सक्छ । हाम्रो बजारको बुलिस र बियरिस साइकल २–३ वर्षमा चल्ने गरेकाले मान्छेहरुले सर्ट टर्ममा ध्यान दिएका हुन् । उनीहरु नाफा कमाउने र बाहिरिने गरेको देखिन्छ । लगानी गर्दा लङ टर्म नै होल्ड गर्नुपर्छ ।
 
नेपालमा पुँजी बजार विकासका लागि मुख्यरुपमा के–के पक्षमा सुधार आवश्यक रहेको देख्नु भएको छ ?
 
बजार विकासका लागि एउटा छुट्टै शक्ति सम्पन्न आयोग बनाउनुपर्छ । त्यो आयोगले पुँजी बजार सम्बन्धी ३–४ महिनाको अन्तरालमा रिपोर्ट दिनुपर्छ । उक्त रिपोर्टलाई जस्ताको त्यस्तै लागू गरिनुपर्छ । त्यसो गरियो भने पुँजी बजारको विकास हुन्छ, यसले राम्रो छलाङ मार्छ । अहिलेसम्म पुँजी बजारले खासै राम्रो परफमेन्स सकिरहेको छैन । हामीले अन्य देशको बजारसँग तुलना गरेर हेर्ने हो भने तिनीहरुको बजार धेरै विकास भइसकेको छ ।

हाम्रो धितोपत्र बोर्ड स्थापना भएको २५–३० वर्ष हुन लागिसक्यो । ३० वर्षमा अरु देशमा भएको विकास र हाम्रो देशमा भएको विकास हेर्ने हो भने आकाश जमिनको फरक छ । फेरि हाम्रोमा केही पनि नभएको भने होइन । तर त्यो समयले मात्र ल्याएको सुधार वा विकास हो । बोर्डले गरेर या अरु कसैले विकासका लागि यस्तो गर्नुपर्छ, नयाँ योजन ल्याउनुपर्छ भनेर भएको होइन । यो व्यवस्थित नभई समयचक्रसँगै भएको कुराहरु हुन् ।

अहिले भएको कुरामा हामी सन्तोष हुन सक्दैनौं । धितोपत्र बोर्डलाई स्वतन्त्र बनाउनुपर्छ । हामीले पुँजी बजारका संस्थाहरु धेरै ल्याउनुपर्यो । वित्तीय साधनहरुको विकास गर्नुपर्यो । त्यसो भयो भने पुँजी बजारको विकास हुन्छ । होइन भने हामी १० वर्षपछि पनि यिनै कुराहरुमा अल्मलिएका हुनेछौं । सबैभन्दा महत्वपूर्ण भनेको त्यो आयोग गठन नै हो । त्यसरी बनेको आयोगले दिएको सुझावहरु हुवहु लागू गरेमा हाम्रो बजार विकास हुन्छ । 
 
नीति निर्मातामा पुँजी बजारप्रतिको सोच कस्तो पाउनु भएको छ ?  
 
नीति निर्माताहरुको बुझाई १% पनि पुग्दैन र काम लाग्ने किसिमको पनि छैन । उनीहरुको बुझाई गलत भएकाले हाम्रो पुँजी बजारले विकास गर्न नसकेको हो । पहिलो कुरा त उनीहरु सकारात्मक नै छैनन् । यदि सकारात्मक भए पनि बुझ्नै सकेका छैनन् । जति उनीहरुको बुझाई छ, त्यसले १% पनि काम गर्दैन । त्यसै कारणले गर्दा एउटा शक्ति सम्पन्न आयोग चाहियो भनेको हो । त्यसमा योग्य मान्छे हुनुपर्यो, जसले दुनियाँभरको पुँजी बजार सम्बन्धी कुराहरु बुझेको होस् । उसले दिएको रिपोर्ट सरकारले जस्ताको त्यस्तै लागू गर्नुपर्छ । त्यसो गर्यो भने यी नीति नियमनका संस्थाहरु परिवर्तन हुन बाध्य हुन्छन् । 
 
इन्भेष्टर्सहरुलाई लगानीका लागि के टिप्स दिन चाहनु हुन्छ ? 
 
इन्भेष्टर्सलाई लामो होराइजन राखेर, योजना बनाएर लगानी गर्नुहोस् भन्छु । योजनाबिना लगानी गर्ने मान्छे बजारमा टिक्न सक्दैन । अलिकति लामो समयका लागि दीर्घकालिन प्लान हुने हो भने यही बजारमा पनि मनग्य कमाउन सकिन्छ, सयौं गुणा पनि कमाउन सकिन्छ । तर कोहीसँग पनि अहिले २०–३० वर्षको योजना छैन । जब यति समयसम्मको प्लान हुँदैन हाम्रा लगानीकर्ताहरु मार्केट बढ्दा मात्तिने अनि घट्दा चाहिँ आत्तिने मात्र हुन्छन् । रणनीति बनाएर लगानी गर्ने हो भने यही मार्केटले मनग्य प्रतिफल दिन सक्छ ।
 

Post Your Comment