Market Closed

भ्याल्यू इन्भेष्टर्सले बुझ्नैपर्ने प्रमुख ५ वित्तीय मेट्रिक्स के–के हुन् ? यिनीहरुले खासमा के सिकाउँछ ?

17 Jan,2023
  • value_new_1_17_2023_7_34_14.jpg
नेपाली पैसा
 
काठमाडौं : भ्याल्यू इनभेष्टर्सहरुले विभिन्न मेट्रिक्सहरुकोे प्रयोग गरी बजारमा अन्डरभ्याल्यूड (अवमूल्यन) मा परेका स्टकहरु पत्ता लगाउने गर्दछन् । अर्थात, भ्याल्यू इन्भेष्टिङमा आवद्ध लगानीकर्ताहरुले कम्पनीको वास्तविक मूल्य भन्दा कम भाउ भएका सेयरहरु पत्ता लगाउने र अनुसन्धान गरी खरिद गर्ने काम गर्दछन् । भ्याल्यू इनभेष्टिङ यस्तो लगानी शैली हो, जसमा धेरैले नरुचाएका र चर्चामा नआएका तर राम्रो फन्डामेन्टल भएका कम्पनीहरु खोज्ने गरिन्छ ।
 
यस्ता कम्पनीहरु नाफा तथा कमाईको तुलनामा भाउ निकै सस्तो भएका, बजारको औसत भन्दा कम रेटिङ रहेका र धेरै नरुचाइएका ढीलो वृद्धि हुने किसिमका सेयर पर्छन् । सामान्य अर्थमा भन्नुपर्दा अवमूल्यनमा परेका कम्पनीहरु भ्याल्यू इभेष्टरले खोज्ने गर्दछन् । प्रख्यात लगानीकर्ता वारेन बफेट, चार्ली मंगरलगायतलाई सफल भ्याल्यू इनभेष्टरका रुपमा चिनिएको छ । 
 
यद्दपि, यस्ता स्टकहरुको खोजी गर्ने काम सहज भने छैन । भ्याल्यू स्टकहरु पत्ता लगाउने कुनै एउटै निश्चित वा यकिन तरिका पनि छैन । तसर्थ, भ्याल्यू इन्भेष्टरहरुले पनि कम्पनीको आधारभूत विश्लेषण गर्न मद्दत गर्ने वित्तीय अनुपातहरुकै सहारा लिएका हुन्छन् । भ्याल्यू इनभेष्टरका लागि महत्वपूर्ण मानिएका तिनै वित्तीय अनुपातलाई यहाँ चर्चा गरिएको छ ।
 
१) मूल्य–आम्दानी अनुपात (पीई रेसियो) 
 
कम्पनीको बजार भाउलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अंकलाई पीई रेसियो भनिन्छ । यसले कम्पनी ओभरभ्याल्यूड छ कि अन्डरभ्याल्यूड छ भन्ने विषयको जानकारी दिन मद्दत पुर्याउँछ । पीई रेसियोले १ रुपैयाँ नाफा कमाउन कति रुपैयाँ लगानी गर्नुपर्छ भन्ने विषयको पनि जानकारी दिन्छ । उदाहरणका लागि, यदि कुनै कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ र बजार भाउ प्रतिकित्ता १०० छ ।
 
यसआधारमा यसको पीई रेसियो १० हुन जान्छ । यसको अर्थ हुन्छ, तपाईंले उक्त कम्पनीबाट १ रुपैयाँ कमाउन १० रुपैयाँ खर्च गर्दै हुनुहुन्छ । त्यसकारण, लगानीकर्ताले सकेसम्म, पाएसम्म कम पीई रसियो भएका कम्पनी छनोट गर्न आवश्यक छ । तर पीई रेसियोको तुलना भने एउटै सेक्टरमा पर्ने कम्पनीहरुसँग गर्नुपर्छ ।
 
२) मूल्य आम्दानी–वृद्धि अनुपात (पीइजी रेसियो) 
 
मूल्य आम्दानी–वृद्धि अनुपात अर्थात प्राइस अर्निङ टु ग्रोथ रेसियो (पीइजी रेसियो) सेयरको भ्याल्यू मापन गर्ने एक विधि हो । पीइजी रेसियो गणनामा कम्पनीको बजार भाउ, प्रतिसेयर आम्दानी र भविष्यमा कम्पनीको ग्रोथ सम्भावनालाई लिने गरिन्छ । पीइजी रेसियोलाई सेयरको वास्तविक मूल्यको सही सूचक मानिन्छ र पीई रेसियोमा जस्तै न्यून पीइजी रेसियो भएको सेयरलाई अन्डरभ्याल्यूड मानिन्छ ।
 
कम्पनीको पीई रेसियोलाई अपेक्षित वृद्धिदरले भाग गर्दा पीइजी रेसियो थाहा हुन्छ । उदाहरणका लागि, पीई रेसियो २० भएको कम्पनीको अपेक्षित वृद्धिदर १०% छ भने त्यसको पीइजी रेसियो २ हुन्छ । यद्दपि, प्रतिसेयर आम्दानी अनुमान र अपेक्षित वृद्धिदर भने अनुमानका विषय भएकाले यसले पीइजी रेसियोलाई केही जटिल बनाउन सक्छ ।

साधारण नियम अनुसार, १ वा १ भन्दा कम पीइजी रेसियोलाई राम्रो मानिन्छ । यस्तो पीइजी रेसियोले सेयरको भाउ उचित छ वा अन्डरभ्याल्यूड पनि हुन सक्छ भन्ने संकेत गर्छ । १ भन्दा बढी पीइजी रेसियोले भने स्टक ओभरभ्याल्यूड छ भन्ने संकेत गर्छ ।
 
३) प्राइस टु बुक (पीबी) रेसियो 
 
कम्पनीको बजार भाउलाई त्यसको प्रतिसेयर बुक भ्याल्यू (किताबी मूल्य) ले भाग गर्दा आउने अंकलाई पीबी रेसियो भनिन्छ । कम्पनीको बुक भ्याल्यू थाहा पाउन कुल सम्पतिबाट कुल दायित्व घटाउनुपर्छ । कम्पनीको हकमा कुल बुक भ्याल्यू र सेयरहोल्डर इक्विटी एउटै हुन्छ । कुल बुक भ्याल्यूलाई कुल सेयर संख्याले भाग गर्दा प्रतिसेयर बुक भ्याल्यू निस्कन्छ । पीबी रेसियो पनि कम्पनी अन्डरभ्याल्यूड छ वा ओभरभ्याल्यूड छ भन्ने पत्ता लगाउने एक माध्यम हो ।

कम पीबी रेसियो भएका कम्पनी अन्डरभ्याल्यूड मानिन्छन् भने धेरै पीबी रेसियो भएका कम्पनी ओभरभ्याल्यूड । यसले कम्पनीको स्टकको बजार मूल्य र किताबी मूल्यबीचको भिन्नता पनि देखाउने भएकाले भ्याल्यू इन्भेष्टरका लागि महत्वपूर्ण मानिन्छ । बजार मूल्य भनेको कम्पनीको अपेक्षित भविष्यको आम्दानीका आधारमा लगानीकर्ताहरुले स्टकको लागि तिर्न इच्छाएको मूल्य हो । यता, बुक भ्याल्यूले भने कम्पनीको वास्तविक मूल्य जनाउँछ ।
 
४) डेब्ट टु इक्विटी (डीइ) रेसियो 
 
यो रेसियोले कम्पनीको दायित्व र इक्विटीको संक्षेप प्रदान गर्दछ । कम्पनीको कुल दायित्वलाई कुल इक्विटीले भाग गर्दा डेब्ट टु इक्विटी रेसियो पाइन्छ । यसले कम्पनी कति लोनमा र कति आफ्नै सम्पतिमा सञ्चालन भइरहेको भन्ने संकेत गर्छ । यस रेसियोले कम्पनीको ऋण अधिक छ कि छैन भन्ने पत्ता लगाउन सहयोग पुर्याउँछ ।

बढी डीइ रेसियोले कम्पनी अधिक ऋणमा छ भन्ने संकेत गर्दछ । तर धेरै ऋण हुनु सँधै प्रतिउत्पादक नै हुन्छ भन्ने चाहिँ छैन । कम्पनीले समयमै कर्जा चुक्ता गर्दै ऋणलाई सही उपयोग गर्न सक्दा फाइदाकारी नै हुने सम्भावना पनि रहन्छ । अर्थात, उच्च डीइ अनुपातले बढी जोखिमको संकेत भने गर्छ । 
 
५) फ्रि क्यास फ्लो (नगद प्रवाह)
 
‘फ्रि क्यास फ्लो’ भनेको कम्पनीले आफ्नो सञ्चालन खर्च र पुँजीगत खर्चको भुक्तानी गरिसकेपछि बाँकी रहेको नगद हो । अर्थात, व्यवसाय सञ्चालनको खर्च कटाएर बाँकी रहने नगद नै फ्रि क्यास फ्लो हो । फ्रि क्यास फ्लो गणनाले लगानीकर्तालाई कम्पनीको वित्तीय अवस्थाबारे अन्तर्दृष्टि प्रदान गर्दछ । साथै, कम्पनीले नगदलाई कसरी व्यवस्थापन गर्दैछ भन्ने पनि थाहा पाउन सकिने भएकाले भ्याल्यू इन्भेष्टरलाई लगानी निर्णय गर्न मद्दत गर्दछ ।

यसले व्यवसाय सञ्चालनपछि पनि लगानीकर्तालाई लाभांश वितरण गर्न कम्पनीसँग पर्याप्त रकम बाँकी छ कि छैन भन्ने पनि संकेत गर्दछ । फ्रि क्यास फ्लो बढ्दा सामान्यतयः कम्पनीको आम्दानी पनि बढ्ने गर्दछ । तसर्थ, लगानीकर्तालाई भविष्यमा कम्पनीको आम्दानी बढ्छ कि बढ्दैन भन्ने विषयको सुरुवाती जानकारी पनि यसले दिने गर्दछ ।

यदि कुनै कम्पनीको नगद प्रवाह बढ्दो क्रममा छ भने, यो कि बिक्रीमा वृद्धि वा लागतमा कटौतीको कारणले हुन सक्छ । अर्को अर्थमा, नगद प्रवाहले भविष्यमा लगानीकर्तालाई पुरस्कृत गर्न सक्छ । यदि कुनै कम्पनीको सेयर मूल्य कम छ, तर नगद प्रवाह बढिरहेको छ भने कम्पनीको आम्दानी र सेयरको मूल्य छिट्टै उकालो लाग्दैछ भन्ने बुझ्न सकिन्छ ।
 
–एजेन्सीहरुको सहयोगमा ।
 

Post Your Comment