Market Closed

माइक्रोफाइनान्सको आइपीओ पर्नेहरु मालामाल : नेप्सेमा सूचीकरण भएपछि ३००% सम्म वृद्धि

18 Jan,2023
  • rocket-5_1_18_2023_7_33_58.jpg
निराजन सापकोटा 
 
काठमाडौं : चालु आर्थिक वर्षको माघ महिनासम्म आइपुग्दा १३ वटा कम्पनीहरुले  सर्वसाधारणलाई आइपीओ निष्कासन तथा बिक्री गरेका छन् । जसमध्ये ४ वटा लघुवित्त र ८ हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गरेका हुन् । यता, होटल तथा पर्यटन समूह अन्तर्गत पर्ने कालिन्चोक दर्शन लिमिटेडले भने यही मंगलबार (माघ ३ गते) देखि आइपीओ बिक्री खुला गरेको छ । यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ८ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो ।
 
चालु आर्थिक वर्षमा सर्वसाधारण लगानीकर्तालाई आइपीओ जारी गर्ने कम्पनीहरुले ३ अर्ब ५६ करोड ५५ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर बिक्री गरेका हुन् । आइपीको बिक्री गरेका यी सबै कम्पनीहरुको सेयर नेप्सेमा सूचीकृत भई कारोबार पनि सुरु भएको छ । चालु आर्थिक वर्षमा सेयर बिक्री गर्ने कम्पनीहरु मध्ये श्रीजनशील लघुवित्तको सेयर भाउ सबैभन्दा धेरै २४८५ रुपैयाँको उच्च विन्दुमा पुगेर फर्किएको छ । यसले ३ लाख ९३ हजार ७५० कित्ता सेयर जारी गरेको थियो । 
 
सूचीकरणपछिको पहिलो कारोबार दिन यस कम्पनीको सेयर भाउ ९९६ रुपैयाँ ६० पैसा रहेको थियो । सूचीकृत मूल्यबाट यस लघुवित्तको सेयर १५०% ले बढेर उच्च विन्दु अर्थात् २४८५ रुपैयाँसम्म पुगेको हो । बुधबार यसको सेयर मूल्य २२९८ रुपैयाँ कायम रहेको छ । २४८५ रुपैयाँबाट यसको सेयर भाउ ७.५३% ले घटेको छ । त्यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य पनि सूचीकरणपछि ३००% ले बढेर १८७० रुपैयाँसम्म पुगेको थियो । पहिलो कारोबार दिन यसको सेयर भाउ ४६७ रुपैयाँ रहेको थियो । हाल उच्च विन्दुबाट यसको मूल्य २३.५३% ले घटेर १४३० कायम भएको छ ।

यता, हाइड्रोपावर समूह अन्तर्गत सूचीकरणपछि सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरको सेयर १२३% ले बढेर ४३५ रुपैयाँसम्म पुगेको थियो । यसको पहिलो कारोबार दिनको अन्तिम मूल्य १९४ रुपैयाँ ८० पैसा थियो । हाल यसको सेयर भाउ ४१७ रुपैयाँमा रहेको छ । यता, बाराही हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको सेयर भने हालसम्म उच्च मूल्यमै कारोबार भइ रहेका छन् ।  
 
त्यस्तै, अन्य धेरै कम्पनीहरु पनि आइपीओ जारी गर्ने क्रममा रहेका छन् । माघ ९ गते सुपर माई हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । यता, माया खोलाले पनि माघ १३ गते आइपीओ निष्कासन गर्दैछ । यस्तै, धितोपत्र बार्डको पाइपलाइनमा आइपीओ जारी गर्न अनुमति कुरेर बसेका कम्पनीहरुको संख्या पनि धेरै रहेको छ । 
 
कतिपय अनुमति प्राप्त कम्पनीले भने वैदेशिक रोजगारीमा रहेका नेपाली र स्थानीय बासिन्दालाई पहिलो चरणमा सेयर निष्कासन गरिरहेका छन् । तिनीहरुले पनि आगामी दिनमा आम सर्वसाधारण आइपीओ बिक्री गर्नेछन् । यस आर्थिक वर्षमा सूचीकृत भएका आइपीओहरुलाई आधार मान्दा माइत्रफोफाइनान्स समूहका कम्पनीबाट लगानीकर्ताले अधिक लाभ लिएको देखिन्छ । 
 
 

Post Your Comment