Market Closed

बुल रनमा मात्रै किन आउँछ हाइड्रोमा हकप्रदको फन्डा ? के छ यसभित्र लुकेको खास कुरा ?

20 Jan,2023
  • Right-Issue-of-Shares_1_20_2023_8_56_17.jpg
निराजन सापकोटा 
 
काठमाडौं : सेयर बजारमा चहलपहल बढ्नासाथ विशेषगरी हाइड्रोपावर कम्पनीहरुले धमाधम हकप्रद सेयर जारी गर्ने घोषणा गर्न थालिहाल्छन् । फेरि बजार घट्दो अवस्थामा रहेको बेलामा भने हकप्रदका विषयहरु ठप्पप्रायः नै हुने गर्छ । यसैक्रममा यतिबेला जलविद्युत कम्पनीहरुको हकप्रद सेयरले अहिले फेरि बजार तताउन थालेको छ । जलविद्युत कम्पनीहरुले नयाँ तथा निर्माणाधीन आयोजनाहरुका लागि पुँजी जुटाउन हकप्रद सेयर जारी गर्न पाउँछन् । कुनै कम्पनीले ५१% वा सोभन्दा बढी स्वामित्व भएको सहायक कम्पनी स्थापना गर्न २००% सम्म हकप्रद सेयर जारी गर्ने पाउने व्यवस्था रहेको छ ।

बजार बढ्ने छाँटाकाँछ सुरु हुने बित्तिकै हाइड्रोपावरहरुले यही प्रावधानको फाइदा उठाउन सुरु गरिहाल्छन् ।  हाल विद्युत नियमन आयोगको पूर्वस्वीकृति लिएर मात्र जलविद्युत कम्पनीहरुले हकप्रद सेयरका लागि धितोपत्र बोर्डमा अनुमति माग्न पाउने व्यवस्था रहेको छ । हकप्रद सेयरका लागि विद्युत नियमन आयोगले विभिन्न सर्तहरु पनि राखेको हुन्छ । विशेषगरी संस्थापक सेयरधनीहरुको लकिङ पिरियड समाप्त हुने समय नजिँकिदै गर्दा अझै बढी हकप्रद सेयर जारी गर्ने चलन रहेको छ ।

हाइड्रोपावर कम्पनीको संस्थापक समूह अन्तर्गतको सेयर लकिङ पिरियड खुला भएपछि सर्वसाधारण सेयरसरह कारोबार हुन्छ । यसलाई संस्थापकले सजिलै बजारमा बिक्री गर्न सक्छन् । त्यसैले पनि उनीहरुले सेयर महँगोमा बिक्री गर्न हकप्रद घोषणा गर्ने र माथिल्लो विन्दुमा पुर्याएर बिक्री गर्ने गरेको एकथरी लगानीकर्ताहरुले आरोप लगाएका छन् ।
 
त्यसो त हकप्रद सेयर घोषणा गर्ने बित्तिकै जारी भइहाल्छ भन्ने चाहिँ कुनै ग्यारेन्टी छैन । कतिपय अवस्थामा घोषणा गरेको महिनौंसम्म वा कुनै–कुनैको त वर्षौंसम्म पनि अनुमतिकै पखाईमै पनि रहने गरेका छन् । तर दोस्रो बजारमा कम्पनीको सेयर भाउमा भने घोषणा गर्ने वित्तिकै प्रभाव परिहाल्छ । 
 
बजारमा अधिकांश हाइड्रोपावरहरुको पुँजी बैंक तथा वित्तीय संस्थाहरुको भन्दा निकै कम रहेको छ । जसले गर्दा यस्ता कम्पनीहरु ट्रेडरको रोजाइमा पर्ने गर्छन् । सोही कुरालाई मध्यनजर गर्दै बजार बढ्न थालेको अवस्थामा राइट सेयरसम्बन्धी सूचनाहरु निकै बढीमात्रामा बाहिर आउने गरेको लगानीकर्ता एसपी चौलागाई बताउँछन् । कम पुँजी भएका कम्पनीहरुलाई दुई–चार जना वा एउटा निश्चित समूह मिलेर चाहेको मूल्यमा पुर्याउन सक्ने भएकाले पनि हाइड्रोपावरहरुमा खेल बढी हुने गरेको हो । 
 
उनले भने, ‘नवप्रवेशी लगानीकर्ताको आकर्षण हाइड्रोपावर कम्पनीहरुमा नै धेरै देखिएको छ । अन्य समूहरुको तुलनामा यसमा ट्रेड गरेर रिट्रन पनि धेरै लिन सकिने उनीहरुको बुझाई छ । संस्थापकहरुले बजार बढ्ने देखेपछि समय मिलाएर राइट सेयर निकाल्ने घोषणा गर्न भ्याइहाल्छन् । त्यस्तै, अरु यस्तैयस्तै आकर्षक सूचनाहरु ल्याएर बजारमा सोझा र खासै अनुभव नभएका लगानीकर्तालाई भारी बोकाएर संस्थापक सेयरधनीहरु बाहिरिने गरेको विगतका थुप्रै उदाहरण छन् । यस्तो खेल पहिला पनि अन्य धेरै कम्पनीहरुमा हुने गरेको थियो ।’
 
त्यसो त, बजारमा हाइड्रोपावर कम्पनीहरुमा इन्भेष्ट गर्ने भन्दा पनि ट्रेड गर्नेहरुको संख्या निकै धेरै छ । छोटो समयअवधिमा धेरै नाफा कमाउन सकिने भन्दै उनीहरु यस्ता कम्पनीमा ट्रेड गर्न रुचाउँछन् । तर यस्तै बेला नयाँ लगानीकर्ता भने फस्ने गरेको पाइन्छ । हकप्रदको आशमा महँगोमा सेयर खरिद गर्दा पछि निकै सस्तो मूल्यमा बिक्री गर्नुपर्ने अवस्था पनि आएको घटना अझै ताजै छ ।

नेप्से ३२ सय आसपासबाट १८ सय नजिक आएको छोटो समयमै बजार मूल्यमा देखिएको गिरावटले यसको थप पुष्टि गर्छ । त्यसो त महँगा, ठूलो पुँजी भएका अनि ब्लूचीप कम्पनीको पनि त्यसअवधिमा भाउ नघटेको भने होइन । तर यस्ता कम्पनीहरुमा लाभांश क्षमता केहीहदसम्म मजबुत हुने गर्छ । यसकारण तुलनात्मकरुपमा कम जोखिम मान्छिन् । तर तुलनात्मकरुपमा कतिपय जलविद्युत कम्पनीहरुको हकप्रद सेयरले भने आम लगानीकर्तालाई झुक्याएको छ ।
 
हाइड्रोपावरको सेयरमा ठूला खेलाडीको धेरै चलखेल 
 
नेपाल धितोपत्र बोर्डले केही समय अघि रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई कानुन विपरीत सेयर किनबेच गरेको भनेर कारबाही गरेको छ । सञ्चालक समितिमा रहँदा वा सञ्चालक छाडेको एक वर्षभित्र आफू वा एकाघरको व्यक्तिले सम्बन्धित कम्पनीको सेयर कारोबार गर्न नपाउने कानुनी व्यवस्था रहेको छ ।

तर, आफू सञ्चालक समिति अध्यक्ष वा सञ्चालक समिति सदस्य हुँदाहुँदै र पद छाड्ने बित्तिकै सेयर कारोबार गरेको भेटिएको हुँदा बोर्डले कारबाही गरेको हो । प्रधानले कम्पनीको अध्यक्ष पद छाड्नसाथ नियम विपरीत श्रीमती, छोरा र छोरीको नाममा रहेको ६ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर बिक्री गरेका थिए ।

रिडी पावरका अध्यक्ष रहँदा न्यौपानेले भने पदमै रहँदा सोही कम्पनीको २८ हजार ९५३ कित्ता सेयर खरिद तथा ३९ हजार २२३ कित्ता सेयर बेचेको पाइएको थियो । उनीहरुमध्ये न्यौपानेलाई बोर्डले जरिवानासहित १० वर्षसम्म कुनै पब्किल कम्पनीको सञ्चालक र व्यवस्थापक हुनबाट रोक लगाइसकेको छ । 
 
जलविद्युत कम्पनीहरुले पटक–पटक हकप्रद सेयर किन जारी गर्दैछन् ?
 
साधारणतयः हाइड्रोपावर कम्पनीहरुले अन्य परियोजनामा लगानी गर्न र बैंकको ऋण तिर्ने उद्देश्यले हकप्रद जारी गर्ने गरेको पाइन्छ । तर हकप्रद घोषणा अधिकांश समय बजारमा चहलपहल छाएकै बेला हुने गरेको छ । अपि पावर कम्पनीले केही दिनअघि मात्रै ४०% हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ । यसअघि अघिल्लो बुल रनमा पनि अपिले २ पटक राइट सेयर जारी गरेको थियो । यसले २०७७ देखि २०७८ को बुल रनमा २ पटक गरी ४७% र २९% हकप्रद सेयर जारी गरेको थियो ।

पछि फेरि २०७८ चैतमा ३९% हकप्रद सेयर पनि बिक्री गर्यो । सो समयमा बजार बियरिस भएता पनि हकप्रद जारी गर्ने घोषणा भने बजार बुल फेजमा रहेको बेला भएको थियो । लगानीकर्ता चौलागाईका अनुसार धेरै हाइड्रोपावरहरुले ३–४ वर्षसम्म लाभांश नदिने तर बजार बुलिस भएका बेला एकैपटक बोनस र राइट सेयर घोषणा गर्ने गरेका छन् । लगानीकर्तालाई भुल्याउन र दोस्रो बजारबाट प्रमोटरहरु आफू बाहिरिन यस्तो खेल खेल्ने गरेको उनी बताउँछन् ।

‘प्रमोटहरुले आफू अनुकूल सूचना पनि ल्याउने र आफ्नो नजिकका कारोबारीहरुलाई सूचना दिएर सेयरको भाउ बढाउने अनि बेचेर बाहिरिने गरेका छन् । बिगतको बुलमा पनि यस्तै भएको थियो’ उनले भने, ‘त्यस्ता कम्पनीहरुको टार्गेटसहित सामाजिक सञ्जालमा मूल्य तोकिन्थ्यो । अहिले पनि हाइड्रोपावर सेक्टरमा प्लानिङसहित खेल हुन थालेको छ । 
 
अघिल्लो बुल समाप्ति भएपछि फाइनान्स र हाड्रोपावर सेक्टरले धेरै गुमाउनु परेको थियो । अहिले पनि त्यो नहोला भन्न सकिँदैन । यो परम्पर जस्तै भएको छ ।’ हकप्रदको सूचना आउनासाथ कम्पनीहरुको सेयर भाउ निकै बढ्ने गरेको पाइन्छ । त्यसमाथि बजार बुल रनमा रहेको बेला भाउ ५००% देखि १०००% भन्दा धेरैले बढ्ने गरेको समेत पाइएको छ । अघिल्लो बुल रनमा राधी हाइड्रोपावरको सेयर पनि हकप्रदको सूचना आउनुअघि तीव्र गतिमा बढेको थियो ।

हकप्रद अघि नै यसले लगानीकर्तालाई ३६% लाभांश दिने घोषणासमेत गरेको थियो । त्यति हुँदा कम्पनीको सेयर भाउ ३०० बाट बढेर १३ सय रुपैयाँसम्म पुग्यो । तर हकप्रदको सूचना आएको केही दिनपछि नै राधीको भाउ सोही गतिमा घट्यो । यता, लगानीकर्ताहरु त्यस समयमा संस्थापक सेयरधनीहरुले आफ्नो सबै सेयर बेचेर बाहिरिएको बताउँछन् । यस्ता घट्ना पटकपटक हुने गरेको भए पनि नियामक निकायले भने यस्ता गतिविधिलाई नजर अन्दाज गर्ने गरेको पाइन्छ । यदि कसूर प्रमाणित भयो भने पनि सामान्य कारबाही तथा जरिवना गरिन्छ । तर लगानीकर्ताहरुले भने करोडौं रुपैयाँ गुमाउनुपरिरहेको छ ।
 
बजार बुल रनमा रहेको बेला कम्पनीहरुले हकप्रद सेयर जारी गर्नुको अर्को कारण बिक्री नभएको सेयरलाई लिलामीमा ल्याउनु पनि हो । जब बजार घट्छ तब कम्पनीहरुको भाउ सस्तो हुँदै जान्छ । यदि कुनै कम्पनीको सेयर १०० रुपैयाँ भन्दा तल छ भने लगानीकर्ताले उक्त कम्पनीको हकप्रद खरिद नै गर्दैनन् । तर सेयर महँगो छ भने बिक्री नभएको हकप्रद लिलामीमा ल्याउँदा महँगो भाउमा बिक्री हुने र त्यसबाट राम्रो प्रिमियम पनि हात पर्छ । जुन रकम लाभांश वितरणमा प्रयोग गर्न सकिन्छ ।

त्यसैले पनि कतिपय कम्पनीहरुको सेयर भाउ हकप्रद जारी गर्नुअघि निकै बढाइएको पाइन्छ । त्यसो त बियरिस बजारमा हकप्रद बिकाउन गाह्रो हुने भएकाले पनि कम्पनीहरु चुपचाप बस्ने गरेको पनि कतिपयको भनाई रहेको छ । संस्थापकले सेयर बेच्नु पर्दा उक्त कम्पनीको खरिद अर्डरमा ठूलो कित्ता देखाएर सर्कुलर ट्रेडिङ गरी लगानीकर्ताहरु फसाउने गरेको चौलागाईले बताए । ‘धितोपत्र बोर्डले पनि प्रमोटरहरु बाहिरिँदा र अन्य परियोजनामा लगानी गर्दा मार्केटको यो स्थिति आएको निष्कर्ष निकालेको थियो ।’

बैंक तथा वित्तीय संस्था र इन्सुरेन्समा भने  नियामक निकायहरुले अलि बढी निगरानी गरेको पाइन्छ । नियामक अलि तगडा छन्, त्यसैले यिनीहरुमा यस्तो खेल खेल्न खासै सकिँदैन तर हाइड्रोपावरमा गतिलो नियमन गर्ने निकाय नभएकाले यस्ता विकृति मौलाउने गरेको उनको भनाई छ । विद्युत नियमन आयोगले हकप्रद अनुमति दिनेबाहेक अरु विषयमा खासै नियमन गर्न सकेको देखिंदैन । 
 
हाल हकप्रद सेयर घोषणा गरेका र धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनी 


हाल नेपाल धितोपत्र बोर्डमा नेसनल हाइड्रोपावरले ५०%, हिमाल दोलखाको ७५% र अरुण काबेलीको १००% हकप्रद सेयर निष्कासनका लागि अनुमति कुरेर बसेका छन् । यिनीहरुलाई बोर्डले स्वीकृति दिएपछि हकप्रद बिक्री गर्नेछन् । यता, अपर तामाकोशीले १००%, रिडी र सिनर्जी पावरको ५०%, घलेम्दी हाइड्रोपावरले २००% र अपि पावरले ४०% हकप्रद जारी गर्ने घोषणा गरिसकेका छन् । यिनीहरुले विभिन्न परियोजना र बैंकको कर्जा तिर्नका लागि हकप्रद जारी गर्न लागेको जनाएका छन् । विद्युत नियमन आयोगले स्वीकृति दिएपछि यिनीहरुले पनि थप प्रकृया अगाडि बढाउने छन् ।

 

Post Your Comment