बैतडी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । डडेलधुरा, डोटी, बैतडी, दार्चुला, बझाङ, अछाम र बाजुरा जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । यस्तै, डडेलधुरा जिल्लाको सदरमुकाम आसपासका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । बैतडीको खोड्पे, बझाङको काँडा, बाजुराको बुढीनन्दा तथा गौमुल, दार्चुलाको अपिनाम्पा, डोटीको खप्तड क्षेत्रमा हिमपात भएको स्थानीयले जनाएका छन् ।
बैतडीको सिगासका किसान दानसिंह बोहराका अनुसार सोमबार रातिदेखि मौसममा बदली आएसँगै मंगलबार बिहानदेखि हिमपात भएको हो । वर्षा र हिमपातका कारण पहाडी क्षेत्रमा चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ । यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन् । लामो समयसम्म पानी नपरेका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने किसानहरुको भनाइ छ ।
रासस