Market Closed

अन्ततः बढेर बन्द भयो नेप्से, अघि बढ्नका लागि २१ सयको लाइनमा शक्ति सञ्चय भइरहेको हो त ?

24 Jan,2023
  • bull_3_1_24_2023_3_12_59.png
नेपाली पैसा 
 
काठमाडौं : कारोबार अवधिको अधिकांश समय घटेको बजार अन्तिम प्रहरमा बढेर बन्द भएको छ । यस दिन नेप्से सूचक ८.१४ अंकले बढेर २१७३.२४ विन्दुमा आएको छ । ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । केही दिनयता सेयर बजार २१ सयको लाइनमा घुमिरहेको छ । यसअघि छोटो समयमा रफ्तार लिंदै बजार २२ सय विन्दुसम्म पुगेको थियो । त्यसपछि नाफा बुक गर्नेहरु सक्रिय भए, जसका कारण नेप्से केही दबाब पर्यो ।

नेप्सेले २२ सयतिर लम्किने प्रयास गरिरहेको छ । त्यसअघि २१ सयको लाइनमा अकुमुलेसन चलेको जानकारहरु बताउँछन् । यो चरण सकिएपछि नेप्सेले पुनः माथिल्लो यात्रा तय गर्न सक्ने उनीहरुको भनाई रहेको छ ।  बजार बुल रनमा जानका लागि आधारहरु तय भइरहेका छन् । मुख्य पक्ष ब्याजदर हो । बैंक तथा वित्तीय संस्थाहरुले माघदेखि नै लागू हुने गरी ब्याजदर घटाइसकेका छन् । बजार माथि जान सहयोग गर्ने यो नै सबैभन्दा प्रमुख पक्ष हो ।

यस्तै, सरकार तथा नियामक निकायहरु पुँजी बजारप्रति प्रतिबद्ध देखिनु दोस्रो महत्वपूर्ण कारण रहेको छ । यसैगरी, वियरिस चक्र समाप्त हुनु हो । हाम्रो बजार जहिले पनि निश्चित अवधिको बुल र बियर साइकलमा चलेको हुन्छ । बजारले करिब १७ महिना अवधिको वियरिस चक्र पूरा गरिसकेको अनुमान गरिएको छ । यसआधारमा अब नेप्से बुल रनमा गएको अनुमान धेरैको छ ।  
 
यस्तै, अर्थतन्त्र सुधारतर्फअघि बढ्नु हो । पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गएको छ । बाह्य क्षेत्रमा पनि सुधार भएको छ । रेमिटेन्स बढ्न थालेको छ । कोरोनबाट शिथिल भएको पर्यटन क्षेत्र लयमा फर्किन सुरु गरेको छ । यसैगरी, आगामी दिनमा वित्तीय प्रणालीमा तरलता सहज हुँदै जाने र त्यसै अनुरुप ब्याजदर पनि थप घट्दै आउने संकेतहरु देखिएका छन् । ब्याजदर घटेपछि बैंकबाट सस्तोमा सेयर कर्जा पाउन सकिनेछ । यसको सकारात्मक प्रभाव सेयर बजारमा क्रमशः देखिंदै जाने जानकारहरु बताउँछन् । 
 
तरलता सहज हुँदै गर्दा सीडी रेसियो तल आएको छ । जसबाट बैंकहरुले थप लगानी गर्न सक्छ भन्ने पुष्टि हुन्छ । यस्तै, अन्तर बैंक ब्याजदर पनि तल आएको छ । यी तमाम पक्षहरुलाई हेर्दा आगामी दिनहरु पुँजी बजारका लागि सुखद् हुँदै जाने विश्लेषण गर्न सकिन्छ ।  भाउ सस्तो भएका बेला आम लगानीकर्ताहरुले योजनाबद्ध रुपमा सबल वित्तीय सूचक भएका तथा लाभांश क्षमता पनि राम्रो रहेका कम्पनीहरुमा लगानी गर्दै जान अनुभवीहरुले सुझाव दिने गरेका छन् ।

जोखिम बहन क्षमता, होल्ड गर्न सक्ने समय लगायतमा ख्याल गर्दै लगानी सम्बन्धी निर्णय गर्नुपर्ने जानकारहरु बताउँछन् । सेयर बजारमा लगानीकर्ताको सकारात्मक मनोविज्ञानको पनि मुख्य भूमिका हुने गर्छ, त्यही भएर घटेको बजार पुनः बढ्छ भनेर सकारात्मक मनोभावना विकास गर्न जरुरी हुने जानकारहरु बताउँछन् ।

 
यस दिन २४८ कम्पनीको ८३ लाख कित्ता सेयर कारोबार भएको छ । १२ करोड ९१ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा शिवश्री हाइड्रोपावर र तेस्रोमा अपि पावर परेका छन् ।
 

Post Your Comment