नेपाली पैसा
काठमाडौं : नेप्सेमा सूचीकृत १५ फाइनान्स कम्पनीहरु मध्ये १२ वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसअवधिमा अधिकांश फाइनान्स कम्पनीहरुको नाफा घटेको छ । फाइनान्सहरुको नाफा समग्रमा ३७.५३% ले घटेर ३८ करोड ४ लाख रुपैयाँमा झरेको छ । गत वर्ष यिनीहरुको खुद मुनाफा ६० करोड ८९ लाख रुपैयाँ थियो ।
पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ४.८५% ले बढेर १० अर्ब ८६ करोड ८९ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष पुँजी १० अर्ब ३६ करोड ५६ लाख ९० हजार रुपैयाँ रहेको थियो । त्यस्तै, जगेडा कोषमा कुल ४ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको भन्दा ०.२६% ले मात्र धेरै हो ।
यस अवधिसम्म फाइनान्स कम्पनीहरुको खुद ब्याज आम्दानी १ अर्ब ८१ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष उक्त आम्दानी १ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो । यसपटक फाइनान्स कम्पनीहरुले इम्पेयरमेन्ट चार्ज वापत थुप्रै रकम छुट्याउनुपरेको हुँदा नाफामा तीव्र गिरावट आएको हो । अधिकांश प्रमुख सूचकहरुमा गोर्खाज फाइनान्स र मञ्जुश्री फाइनान्स अगाडि रहेका छन् । अब हेरौं, कुन फाइनान्सको वित्तीय अवस्था कस्तो छ ?
फाइनान्सहरुको चुक्ता पुँजी ४.८५% ले बढ्यो, सबैभन्दा धेरै मञ्जुश्रीको

चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा १२ वटा फाइनान्स कम्पनीहरुको चुक्ता पुँजी समग्रमा ४.८५% ले बढेर १० अर्ब ८६ करोड ८९ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यिनीहरुको पुँजी १० अर्ब ३६ करोड ५६ लाख रुपैयाँ रहेको थियो ।
सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । त्यसपछि, आइसीएफसी फाइनान्सको १ अर्ब १८ करोड ३४ लाख रुपैयाँको चुक्ता पुँजी रहेको छ । ६ वटा फाइनान्सको पुँजी गत वर्षकै यथावत छ । सबैभन्दा कम मल्टीपर्पस फाइनान्सको ४५ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
जगेडा कोष ०.२६% ले बढ्यो, सबैभन्दा धेरै गोर्खाजको

यसअवधिमा आइपुग्दा १२ वटा फाइनान्स कम्पनीहरुको जगेडा कोष समग्रमा ०.२६% बढेर ४ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यिनीहरुको जगेडामा ४ अर्ब ८४ करोड रुपैयाँ जम्मा थियो । १२ फाइनान्समध्ये सबैभन्दा धेरै जगेडा कोष गोर्खाज फाइनान्सको रहेको छ ।
यसको जगेडा कोष ३.९९% ले बढेर ७३ करोड २९ लाख २५ हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा ७ वटाको मात्र जगेडा कोष बढेको छ । सबैभन्दा कम मल्टीपर्पस फाइनान्सको ३ करोड ६३ लाख रुपैयाँको रिजर्भ रहेको छ ।
खुद ब्याज आम्दानी ३८.४४% ले बढ्यो, सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको

पुस मसान्तसम्ममा १२ वटा फाइनान्स कम्पनीहरुको खुद ब्याज आम्दानी ३८.४४% ले बढेर १ अर्ब ८१ करोड ४६ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यिनीहरुले १ अर्ब ३१ करोड ७ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएका थिए । श्री इन्भेष्टमेन्ट फाइनान्सको मात्र खुद ब्याज आम्दानी घटेको छ ।
यसको उक्त आम्दानी ४.०९% ले घटेको हो । सबैभन्दा धेरै खुद ब्याज आम्दानी आर्जन गर्नेमा मञ्जुश्री फाइनान्स अगाडि रहेको छ । यसले पुस मसान्तसम्म ३२ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ६४.२२% ले धेरै हो ।
फाइनान्स कम्पनीहरुको नाफा ३७.५३% ले घट्यो
रिपोर्ट सार्वजनिक गर्ने फाइनान्सहरुको समग्रमा खुद नाफा ३७.५३% ले घटेर ३८ करोड ४ लाख ४ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसै अवधिमा यिनीहरुको खुद नाफा ६० करोड ८९ लाख ६० हजार रुपैयाँ थियो । सबैभन्दा धेरै खुद नाफा कमाउनेमा मञ्जुश्री फाइनान्स अगाडि रहेको छ ।
यसको खुद नाफा ८१.१०% ले बढेर १३ करोड ६५ लाख २९ हजार रुपैयाँ पुगेको हो । गत वर्ष उक्त नाफा ७ करोड ५३ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा ३ फाइनान्सबाहेक अन्यको खुद नाफा घटेको छ । यता, प्रोग्रेसिभ फाइनान्सले भने चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
फाइनान्सहरुको वितरणयोग्य नाफा ऋणात्मक

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १२ वटा फाइनान्स कम्पनीहरुको समग्र वितरणयोग्य नाफा घटेर ५६ करोड ५८ लाख ९३ हजार रुपैयाँ ऋणात्मक बनेको छ । गत वर्षको यसैअवधिमा भने ५ करोड २७ लाख ४३ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । सबैभन्दा धेरै वितरणयोग्य नाफा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको रहेको छ ।
गत वर्षको तुलनामा ५२.३२% ले घटेको भएता पनि सबैभन्दा धेरै वितरणयोग्य नाफा यसको देखिएको छ । यस फाइनान्सको वितरणयोग्य नाफा ५ करोड ४२ लाख रुपैयाँ छ । त्यस्तै, गोर्खाज फाइनान्सको वितरणयोग्य नाफा बढेर २ करोड ४९ लाख ४० हजार रुपैयाँ पुगेको छ । यस अवधिमा गोर्खाज फाइनान्सको मात्र वितरणयोग्य नाफा बढेको हो ।
मञ्जुश्री फाइनान्सको प्रतिसेयर आम्दानी सबै भन्दा धेरै

पुस मसान्तसम्ममा आइपुग्दा मञ्जुश्री फाइनान्सको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ । यसको इपीएस ९ रुपैयाँ ४ पैसाले बढेर २० रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै, गोर्खाज फाइनान्सको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४७ पैसा रहेको छ । गत वर्ष यसको इपीएस ४ रुपैयाँ ४६ पैसा थियो । यस अवधिसम्म आइपुग्दा ३ वटा फाइनान्सको मात्र प्रतिसेयर आम्दानी बढेको छ ।