नेपाली पैसा
काठमाडौं : ‘सेक्युरिटीज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले सेयर बजारको दुरुपयोग रोक्न सेयर ब्रोकरहरुका लागि संस्थागत संयन्त्र तयार पारेको छ । जसअनुसार अब सेयर ब्रोकरहरुले नै बजारको दुरुपयोग पत्ता लगाउन र रोकथाम गर्न प्रणालीहरु विकास गर्नुपर्ने हुन्छ । भारतको सेयर बजार नियामकले मंगलबार एक परामर्श पत्र जारी गर्दै उक्त प्रस्ताव गरेको हो । हाल भारतमा सेयर दलालहरुलाई बजार दुरुपयोग रोक्नको लागि प्रणालीको जिम्मेवारी दिने कुनै विशेष नियामकीय प्रावधानहरु रहेको छैन ।
परामर्श पत्रमा सेबीले ब्रोकर कम्पनीहरु र तिनीहरुको वरिष्ठ व्यवस्थापनलाई ठगी वा बजार दुरुपयोग पत्ता लगाउन र रोकथामको लागि जवाफदेही बनाउन नियामकीय ढाँचा प्रस्ताव गरेको छ । जसका लागि ब्रोकरहरुले बलियो निगरानी र नियन्त्रण प्रणालीहरु स्थापना गर्नुपर्ने हुन्छ । यसका साथै, नियामकले ब्रोकरहरुसँग उपयुक्त रिपोर्टिङ संयन्त्र हुनुपर्ने पनि सुझाव दिएको छ । सेबीको नयाँ संयन्त्रले ब्रोकर कम्पनीका व्यवस्थापकहरुलाई थप जिम्मेवार बनाउने भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
सेयर दलालको व्यवस्थापन र अडिट कमिटिले सबै नियम पालना भए नभएको हेर्नुपर्छ । सेबीले बजार दुरुपयोगको सम्भावित उदाहरणहरु पनि सूचीवद्ध गरेको छ, जसको निगरानी गर्न ब्रोकरको प्रणाली सुसज्जित हुनुपर्छ । विशेषगरी, इन्साइडर ट्रेडिङ, सेयर भाउमा चलखेल, मिस–सेलिङ, पम्प एन्ड डप्प, भ्रामक कारोबार लगायत बजार दुरुपयोग तथा गडबडीहरुको निगरानी र रोकथाम गर्न ब्रोकर कम्पनीहरुको प्रणाली सक्षम हुनुपर्ने सेबीले जनाएको छ ।