Market Closed

द चेन्जमेकर्स : यी ३, जसले लोकसेवा तयारीलाई डिजिटलाइज गरी दूरदराजमा पुर्याइदिए

02 Mar,2023
  • png_20230302_195945_0000_3_2_2023_8_16_38.png
धिरज पौड्याल 
 
काठमाडौं : नेपालमा सरकारी जागिरप्रति आकर्षण बढ्दै जाँदा लोकसेवा आयोगको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गर्ने संस्थाहरु पनि देशभर खुलेका छन् । तर करिब ३–४ वर्षको अघिको समयलाई मात्र नियान्ने हो भने पनि तयारी कक्षा लिनका लागि अहिले जत्तिको सजिलो थिएन । लोक सेवाका तयारी कक्षाहरु प्रायः काठमाण्डौंमै र देशका प्रमुख शहरहरुमा मात्र सीमित थिए । त्यसो त, अहिले पनि दूरदराजका भेगमा रहेकाहरुले लोक सेवा तयारीका लागि सदरमुकामसम्म नै धाउनुपर्छ ।

मोफसलका प्रमुख शहरहरुमै गुणस्तरीय तयारी कक्षा सञ्चालित हुन नसकिरहेको अवस्थामा दूरदराजमा गुणस्तरीय कक्षाको आशा कल्पनामा मात्र गर्न सक्ने अवस्था थियो । तर यी कल्पनाहरुलाई चार्टर्ड एकाउन्टेन्ट्स अध्ययन पूरा गरेका ३ जना उद्यमीहरुले व्यवहारमा साकार पारेका छन् । उद्यमीहरु ऋषीराम चालिसे, सुवाष पौडेल र प्रदीप सिग्देल गुणस्तरीय लोकसेवा तयारीका कक्षाहरु अनलाइन प्लेटर्फम मार्फत घरमै बसेर पढ्न मिल्ने ‘ओटिस’ को सुरुवात गरे ।

अहिले यी ३ उद्यमीले सुरुवात गरेको ओटिसमार्फत देशभरका ७० हजार बढी विद्यार्थीहरुले अप्रत्यक्ष्यरुपमा र २५ हजार भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्षरुपमा अध्ययन गरिरहेका छन् । अहिले मोबाइल फोनका कारण धेरैका नागरिकहरुको इन्टरनेटमा पहुँच पुगिसकेको छ । सोही इन्टरनेटलाई नै माध्यम बनाएर ओटिशले दूर दराजका क्षेत्रमा रहेका विद्यार्थीहरुलाई समेत लोक सेवा आयोगको तयारी कक्षा लिन सक्ने अवसर प्रदान गरिदिएको हो । 
 
यसरी सुरु भयो ओटिसको यात्रा 
 
यी उद्यमीहरुको उद्यमशीलताको यात्रा सुरु हुन्छ ‘बीज हब कन्सल्टिङ’ बाट । ऋषीराम, सुवाष र प्रदीपको व्यावसायिकरुपमा सीए सम्बन्धी एक कार्यक्रममा भेट भएको थियो । ‘सुरुवातमा फण्डको अभाव हुन्थ्यो, कमाई थोरै हुन्थ्यो, हामीले हाम्रो अग्रसरतामा अन्य साथीहरुसहित ११ जनाको टिम बनायौं । मासिकरुपमा सबैजना बाट २–२ हजार रुपैयाँ उठाउने गथ्र्यौं । हाम्रो मासिक संकलन २२ हजार हुन्थ्यो । यसरी विस्तारै बचत बढ्दै गयो ।

हामीले गरेको संकलनबाट आवश्यक पर्नेले पैसा चलाउने गथ्र्यौ र पैसा चलाएवापत केही प्रतिशत ब्याजजस्तै जम्मा पनि गर्दथ्यौंं । ११ जनाको समूहले पछि बीज हब कन्सल्टिङ सर्भिस प्राइभेट लिमिटेड कम्पनीको स्थापना गर्यौं । हामीले कम्पनीबाट बिजनेस कन्सल्टिङ सँगसँगै विभिन्न किसिमका बैंक, वित्तीय संस्था, इन्सुरेन्स, चार्टर्ड एकाउन्टेन्ट्सहरुलाई तालिमका कार्यक्रमहरु गर्ने गर्यौं’, ऋषीराम स्मरण गर्छन् ।
 
उनी थप्छन्, ‘हामिले बिजनेस कन्सल्टिङ सँगसँगै अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजनामा काम गर्दै गयौं । साना अडिट फर्म तथा ल फर्महरुका लागि सफ्टवेयर बनाउने सोचमा थियौं । सँगसँगै हामीले इन्ट्रेस्ट बजार सुरुवात गर्यौं, जसबाट प्रयोगकर्ताले विभिन्न बैंकहरुको ब्याजदर एकै ठाउँमा हेर्न सक्थे र उपयुक्त ब्याजदर भएको बैंकमा पैसा जम्मा गर्ने वा लोन कहाँ लिने भन्ने छनोट सहजरूपमा गर्न सक्थे । हामीले प्रयोगकर्ताले सहजरुपमा बैंकसँग सम्पर्क गर्न मिल्ने सिस्टम पनि बनाएका थियौं । तर यो आइडिया प्रभावकारी लागेन । हामीले विभिन्न अन्य आइडियाहरुमा पनि काम गर्दै अनि छाड्दै पनि गयौं । 
 
भारतबाट चर्टर्ड एकाउन्टेन्ट्सको अध्ययन पूरा गरेका सुवाष पौडेल र नेपालबाट चार्टर्ड एकाउन्टेन्ट्सको अध्ययन पूरा गरेका प्रदीप सिग्देल र ऋषीराम चालिसेले छलफलकै क्रममा नेपालमा रेकर्डेड माध्यमबाट विभिन्न तयारीका कक्षाहरू सञ्चालन गर्ने सोच बनाए ।

सीए अध्ययनका क्रममा उनीहरुले रेकर्डेड कक्षा पढ्दाको अनुभवले रेकर्डेड कक्षाको प्रभावकारिता र गुणस्तरीयताबारे उनीहरु विश्वस्त पनि थिए, सोही विश्वासले उनीहरुलाई ओटिस सुरुवात गर्न आत्मविश्वास दियो । समूहका अन्य साथीहरुलाई जोडिन आव्हान गरे पनि जोडिने इच्छा व्यक्त नगरेपछि ३ जना मात्रै मिलेर उनीहरुले ओटिससँगको यात्रा सुरु गर्ने तय गरे । 
 
ओटिसको सुरुवाती चरण
 
सुरुवातमा नाम के राख्ने भन्नेमै दुविधा भएको ऋषीराम सम्झिन्छन् । ‘डिस्ट्यान्स लर्निङ, घरमै पढौं लगायतका नाम सोचेका थियौं, तर यी नाम सर्च गर्न गाह्रो हुन्थ्यो र झन्झटिलो पनि भयो । हामीले सर्ट फर्मको क्याची नाम राख्ने सोच बनायौं । शिक्षा सम्बन्धी नेपाली, संस्कृत नाम राख्न खोज्यौं तर त्यसको डोमेन पाएनौं । हामीले आफैं सानो नाम राखौं र त्यसलाई ब्राण्डिङ गरौं भन्नेमा पुग्यौं । हाम्रो कन्सेप्ट अनुसार ‘अनलाइन–टिचिङ–ट्रेनिङ–इन–स्टुडेन्ट्स होम’ सोच्यौं र नाम ‘ओटिस’ राख्यौं । ‘घरमै पढौं समय र पैसाको बचत गरौं’ ट्याग राख्यौं । हाम्रो नामको अर्थ नै छैन, शब्द मिलाएर नाम राख्यौं’, ऋषीरामले भने ।
 
 आफैंले रेकर्डेड क्लास पढेका कारण हामीमा आत्मविश्वास थियो र रेकर्डेड क्लासको प्रभावकारितालाई बुझेका पनि थियौं । अन्य अवसर त काठमाडौं केन्द्रित थिए नै । तर संविधानले सुनिश्चित गरेको पढ्न पाउने अधिकार र समान अवसरको अधिकार पनि काठमाडौं बाहिर गएका थिएनन् । दुर्गमबाट काठमाडौं आएर बस्ने, महँगो शुल्क तिरेर पढ्न नसक्ने अवस्थामा रहेका व्यक्तिहरुले अवसर नपाएकै कारण पढाइबाट बञ्चित हुन पुगेका थिए । सँगसँगै उपलब्ध अवसरमा प्रतिस्पर्धा र सहभागी हुनसम्म बञ्चित थिए ।

हामीले नेपालमा विस्तार हुँदै गरेको इन्टरनेटको पहुँचलाई शिक्षा र अवसरमा जोड्ने संकल्प गर्यौं’, संस्थापक सुवाष बताउँछन् । यी ३ जना उद्यमीहरुकोे समूहले सुरुवाती चरणमा ओटिसबाट सीए मेम्बरसीप र इपीएस तयारीका अनलाइन कक्षाहरु सञ्चालन गरे । आफैं पनि सीए भएका कारण सजिलो पनि भयो । सीए मेम्बरसीपका २ वटा विषयका कक्षा र कोरियन भाषा कक्षाको माग एकदमै धेरै थियो ।

निम्न वर्गीय परिवारबाट कोरिया जाने सपना बोकी काठमाडौंसम्म आएर होस्टेल खोज्नुपर्ने, महँगो शुल्क तिरेर पढ्नुपर्ने समस्यालाई हटाउन बजारको शुल्कभन्दा कम शुल्कमा र घरबाटै पढ्न मिल्ने व्यवस्था गरिएको थियो । काठमाडौं पढ्न आउँदा लाग्ने १ लाख रुपैयाँको खर्चको सट्टा ५ हजार रुपैयाँमा घरबाटै पढ्ने व्यवस्था ओटिसले गरिदियो । 
 
अर्कोतर्फ, लोकसेवाका कक्षाहरु काठमाडौं केन्द्रित हुँदा दूरदराजका व्यक्तिहरु एउटा अवसरबाट वञ्चित थिए । तयारी कक्षाहरुमा विद्यार्थीले पैसा तिरे पनि गुणस्तर नहुने, मनपरी शुल्क अशुल्ने, सिट क्षमताभन्दा बढी विद्यार्थीका बीच अध्ययन–अध्यापन भइरहेको देखेर समस्याको समाधान गर्नेतर्फ ओटिस समूह लागिपर्यो । समस्या समाधान गर्न लोकसेवाको तयारी कक्षामा जानुपर्ने महशुस गरी सोही अनुसार २०७७ असारमा ओटिस दर्ता भएको ऋषीराम बताउँछन् ।
 
‘समस्याहरु धेरै थिए र सामाधान गर्न पनि खोजिरहेका थियौं । अर्कोतर्फ, हामी आफैं पनि संघर्ष गरिरहेका थियौं । हामीलाई शिक्षकहरुलाई मनाउनै समस्या भयो । चार्टर्ड अकाउन्टेन्ट कक्षा सुरुवात गर्दा हामी आफैं सीए भएको कारण समस्या भएन, कोरियन भाषाको एक जना सर हुनुहुन्थ्यो, उहाँले सहयोग गर्नुभयो । जब हामी लोकसेवा तयारी कक्षा सञ्चालनमा अघि बढ्यौं, हामी आफैंलाई लाग्यो कि हामी अब लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न सक्दैनौं ।

यतिसम्म कि आइडिया ड्रप गर्ने सोचसम्म पुगेका थियौं तर मनमा भने दुर्गमका साथीहरुले पनि नेपाल सरकारको जागिर खाएर राष्ट्रमा योगदान गर्नुपर्छ भन्ने सोच थियो’, प्रदिप बताउँछन् । सोच र चुनौतीपूर्ण यात्रा सँगसँगै थिए । ओटिसको सुरुवात हुँदा नेपालमा अर्को कुनै पनि यस्तै काम गरिरहेको प्लेटफर्म थिएन । ओटिस नै नेपालको पहिलो प्लेटफर्म थियो । नाम चलेका शिक्षकले आएर पढाउन मान्दैन थिए । एकपटक रेकर्ड गरेपछि सकिने हो कि भन्ने जायज डर शिक्षकहरुमा थियो ।

एकपटक रेकर्ड गरिसकेपछि कन्टेन्ट चोरी हुन्छ वा बजारभरि बाँडिन्छ, भिडियोमार्फत मैले पढाउने कुरा सबै अनलाइनमा पाइएपछि मेरो अस्तित्व नै के होला भन्ने शिक्षकहरुको सोच सच्याउन ओटिस समूहलाई ३ महिना लागेको सुवाषको भनाई छ । अन्तर्राष्ट्रिय रुपमा सफल भएका कम्पनीहरु उडेमी, बाइजु, कोर्ससेरा लगायतका प्लेटफर्म बारे बताएर शिक्षकहरुलाई मनाउने गरेको ऋषीराम बताउँछन् ।
 
ओटिसको विस्तार
 
ओटिसको सुरुवाती चरणमा ३ उद्यमी आफैंले कम्पनीको सम्पूर्ण जिम्मेवारी सम्हालेका थिए । सामाजिक सञ्जालमा आउने जिज्ञासा र प्रश्न समाधान ३ जना पालैपालो दिने गर्दथे । ३ जनाबाट सुरुवात भएको ओटिसमा अहिले ४५ जना व्यक्तिहरुले प्रत्यक्ष रुपमा रोजगार पाइरहेका छन् । ‘हामीले कम्पनीको सुरुवात गर्दा मार्केटिङ गर्न आफैं लागि पर्र्यौं । त्यसबेला, प्रचारका अन्य विकल्पहरु थिएनन् ।

दिनभरि काम गरेर राति विभिन्न ठाउँमा पर्चा टास्ने गर्यौं । हामी पर्चा टाँस्दै काठमाडौंदेखि बुटवलसम्म पुग्यौं यात्राका क्रममा बाटोका विभिन्न ठाउँहरुमा चिया पसलमा पर्चा टाँस्यौं । हामी पर्चा टास्न अन्य सहयोगी लिएर आफैं जाने गरेको घरमा पनि बताएका थिएनौं, थाहा हुनेले सीए पढेको मान्छे के काम गरिरहेको भन्ने गर्थे । अझै पनि कतिपयले त यही भन्ने गर्नुहुन्छ । तर, हामी हाम्रो लक्ष्य र सोचमा अडिग थियौं’, सुवाष बताउँछन् । 
 
कम्पनीको सुरुवातमा सबै काम उनीहरुले आफैं गरेका थिए । भिडियो खिच्नेदेखि ग्राफिक्ससम्म आफैं बनाउने गर्दथे । कोभिडको समयमा विद्यार्थीहरुमा पढ्ने चाहना थियो तर विकल्प थिएन । सुरक्षा प्रोटोकल पालन गरी शिक्षकहरुलाई भिडियो खिच्न घरमै लिन र पुर्याउनसमेत आफैं जाने गरेको सुवाष बताउँछन् । ‘भिडियो खिच्नका लागि एउटा स्टुडियो छुट्टै लिएका थियौं । शिक्षकहरुलाई त्यहीँ ल्याएर भिडियो रेकर्ड गरिन्थ्यो र घरमै छाड्न पनि पुग्थ्यौं । यो कामका लागि हामीले २४ घण्टामा १८ घण्टा समय दिएका थियौं’, सुवास सम्झिन्छन् । 
 
सुरुवातको ९ महिनापछि कोभिड महामारीको पहिलो चरण सुरु भयो । अनलाइनमार्फत पठनपाठन बढिरहँदा ओटिसलाई वृद्धिको थप एउटा अवसर मिल्यो । अनलाइन कक्षा चलिरहेको बेला नेपालको विद्युत, इन्टरनेट लगायतका कुराले अनलाइन भन्दा रेकर्डेड कक्षाको प्रभावकारिता थप बढी थियो । कक्षाका सबै पाठ्यक्रम रेकर्डेड फरम्याटमा उपलब्ध गराउने, जिज्ञासा समाधानका लागि नियमित लाइभ सेसन सञ्चालन गर्ने र विद्यार्थीरुले लाइभमा अन्तक्र्रिया र जिज्ञासा समाधान गर्न सक्ने भएपछि प्रभावकारिता पनि बढेको ऋषिरामले बताए ।
 
उनि थप्छन्, ‘शिक्षकहरुलाई कन्भिन्स गरेपछि पनि विद्यार्थीहरुलाई बुझाउन समय र मेहनेत गर्नुपर्यो । विद्यार्थीहरु सुरुवातमा साइन अप गर्नलाई अप्ठ्यारो मान्नुहुन्थ्यो । हामीले विद्यार्थीलाई सहजीकरण गरी प्लेटफर्ममा अभ्यस्त गरायौं । भिडियो बफर हुने समस्याहरु थिए, त्यसलाई पनि समाधान गर्यौं । विद्यार्थीलाई पेमेन्ट गर्न समस्या हुन्थ्यो, हामीले विभिन्न प्राविधिक समस्या समाधान गर्यौं । हामीसँग विस्तारै विद्यार्थीहरु जोडिँदै जानुभयो र उहाँहरुको पनि सफल नतिजा आउन थाल्यो ।

हाम्रो कक्षाबाट विद्यार्थी आफैंले मार्केटिङ गर्ने गर्थे । हामीलाई माउथ टु माउथ मार्केटिङले धेरैसँग पुग्न सहयोग पुर्यायो । ओटिसमार्फत पढेर सफल नतिजा निकालेका विद्यार्थीहरुले ओटिसमा पढेर सफल भएको कुरा सामाजिक सञ्जालमा लेख्नुहुन्थ्यो, जसकारण हामीलाई नयाँ विद्यार्थीको विश्वास मिल्यो । कोभिडले एउटा अवसर दियो । सुरुवातमा प्रोडक्ट डेभलपमेन्टको चरणमा कोभिडको प्रभावका कारण आर्थिक क्रियाकलाप पनि ठप्प थिए । हामीले विभिन्न लोकसेवाको कक्षाहरु रेकर्ड गर्यौं । पाठ्यक्रम अनुरुप कक्षाहरु अद्यावधिक गर्दै पनि लैजान्छौं’, ऋषिराम बताउँछन् ।
 
३ वर्ष अगाडि ३ उद्यमीले काठमाडौं केन्द्रित लोकसेवाको तयारीलाई विकेन्द्रीकृत गर्न गरेको परिकल्पना अहिले सफल भएको छ । अहिले राष्ट्रका विभिन्न ठाउँमा बसेर विद्यार्थीले विभिन्न तहका तयारी कक्षाहरु पढिरहेका छन् । ओटिसले आर्थिकरुपमा कमजोर तथा फरक क्षमताका व्यक्तिहरुलाई आवश्यक्ता अनुसार छुट पनि प्रदान गर्दै आएको छ ।
 

Post Your Comment