निराजन सापकोटा
काठमाडौं : गत आर्थिक वर्ष २०७८–७९ को पहिलो महिना अर्थात असारदेखि यस अवघिसम्म आइपुग्दा हकप्रद सेयर खरिद गरेका अधिकांश लगानीकर्ताहरु घाटामा रहेको देखिएको छ । विभिन्न हाइड्रोपावर, इन्सुरेन्स, विकास बैंकलगायत कम्पनीहको हकप्रद सेयर खरिद गरेका लगानीकर्ताले आफ्नो लगानीसमेत उठाउन सकेका छैनन् । कम्पनीहरुले वितरण गरेको बोनस सेयरलाई जोड्ने हो भने पनि लगानीमा धेरै घाटा देखिएको हो ।हकप्रद खरिद गरेर कित्ता बढे पनि कम्पनीहरुको सेयर भाउमा तीव्र गिरावट आउँदा लगानीकर्ताले घाटा व्यहोर्नु परेको हो ।
१ हजार रुपैयाँभन्दा बढीमा खरिद गरेको सेयर अहिले घटेर ५ सय रुपैयाँभन्दा पनि तल झरेको छ । त्यसैले, सेयर संख्या बढे पनि अझै पनि यसरी लगानी गर्नेहरुले लगानीको साँवा समेत उठाउन सकिरहेका छैनन् । बजार बुल रनमा रहेको समयमा हकप्रद सेयर घोषणा गरेका कम्पनीमा लगानीकर्ताको आकर्षण पनि उत्तिकै थियो । हकप्रदको सूचना आउनासाथ अधिकांश कम्पनीको सेयर भाउ ३००% भन्दा अझै धेरैले बढेको पनि देखिन्छ ।
1.jpg)
तर अहिले घट्दो बजारमा हकप्रद सेयर भर्दा पनि घाटा हुने गरेको पाइएको छ । यस अवधिसम्म आइपुग्दा १३ वटा कम्पनीहरुले हकप्रद बिक्री गरेका थिए । जसमध्ये ५ हाइड्रोपावर, ३ विकास बैंक, २ निर्जीवन बिमा कम्पनी, २ फाइनान्स र एउटा लगानी क्षेत्रको कम्पनीले हकप्रद बिक्री गरेको छ । यस अवधिसम्म ङादी ग्रुप पावर बाहेक राइट सेयर जारी गरेका सबै कम्पनीमा गरिएको लगानी घाटामै रहेको देखिन्छ । सबैभन्दा धेरै घाटा शिखर इन्सुरेन्सका लगानीकर्तालाई भएको छ ।
बुक क्लोजको अघिल्लो दिन यसको सेयर मूल्य प्रतिकित्ता १९ सय ८६ रुपैयाँ रहेको थियो । यस इन्सुरेन्सको हालको भाउ ७१७ रुपैयाँ २० पैसा रहेको छ । शिखर इन्सुरेन्सको १०० कित्ता १९८६ रुपैयाँमा खरिद गरेका लगानीकर्ताले यस अवधिसम्म सेयर बिक्री नगरेको भएमा बोनस र राइट सेयर गरी जम्मा १५० कित्ता हुन पुग्छ । यसमा गरिएको कुल लगानी २ लाख १६ सय रुपैयाँ (विभिन्न चार्ज बाहेक) हुन जान्छ ।
तर अहिलेको बजार भाउमा कुल कित्तालाई गुणान गर्ने हो भने जम्मा १ लाख ७ हजार ५८० रुपैयाँ हुन आउँछ । जसबाट लगानीकर्तालाई ९४ हजार रुपैयाँ घाटा भएको देखिन्छ । जुन लगानीको ५०% घाटा हो । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकका सेयरधनीहरु पनि ६१ हजार रुपैयाँ घाटामा रहेको देखिएको छ ।
यस बैंकले वितरण गरेको बोनस सेयर जोड्दा पनि लगानीकर्तालाई घाटा नै छ । बुक क्लोजको अघिल्लो दिन यसको सेयर मूल्य १ हजार ५३ रुपैयाँ रहेको थियो । अहिले ३२४ रुपैयाँ ७० पैसा रहेको छ । खरिद गरेको १०० कित्ता बढेर १४५ पुगेको छ । सेयर भाउमा तीव्र गिरावटका कारण यसमा गरिएको लगानीमा घाटा हुन पुगेको हो ।
हाल धितोपत्र बोर्डमा हकप्रद अनुमति पर्खेर बसेका कम्पनीहरु पनि धेरै छन् । बजार बियरिस मोडमा गएको पनि करिब १९ महिना भएको छ । कम्पनीहरुको सेयर भाउ पनि धेरै घटिसकेको छ । त्यसैले पनि बुल मार्केटमा हकप्रद खरिद गरेर धेरै घाटा व्यहोरे पनि बियर मार्केटमा भने त्यति धेरै घाटा हुने देखिँदैन ।