Market Closed

द चेन्जमेकर्स : शैलेन्द्र, जसले सपनाहरु देखिरहे, असफलतासँग कहिल्यै पनि हार खाएनन्

12 Mar,2023
  • mero_job_3_12_2023_9_17_13.jpg
धिरज पौड्याल
 
काठमाडौं : नेपालमा सीपयुक्त जनशक्ति र रोजगारीको अवसरका बीच समन्वयको अभाव वर्षौंदेखि कायम छ । राष्ट्रको शैक्षिक प्रणालीले पढ्न सिकाए पनि पढेपछि रोजगारी बजारमा आफूलाई कसरी स्थापित गर्ने भन्ने ज्ञानको अभाव पनि विद्यार्थीहरुमा वर्षौंदेखि रहँदै आइरहेको छ । जसका कारण एकातर्फ सक्षम व्यक्तिहरुले पनि रोजगारी पाउन मुस्किल परिरहेको छ भने अर्कोतर्फ कम्पनीहरुले पनि दक्ष जनशक्ति पाउन सकिरहेका छैनन् । नेपालको मानव संसाधन बजारलाई हर्ने हो भने पनि दक्ष जनशक्ति खोज्ने र रोजगारी खोज्नेले पनि चाहेको बेला उपयुक्त काम नपाउने दुवै समस्या व्याप्त छ ।

यसैसन्दर्भमा करिब दुई दशकदेखि यही समस्यालाई समाधानको प्रसाय गर्दै आइरहेका छन् उद्यमी शैलेन्द्रराज गिरी । सन् २००६ मा शैलेन्द्रले सुरुवात गरेको ‘मेरो जब’ ले अहिले लाखौं व्यक्तिहरुलाई रोजगारीका अवसरहरुसँग प्रत्यक्ष जोड्दै आइरहेको छ । नेपालमा रोजगारीको अवसर खोज्नेहरुका लागि शैलेन्द्रको ‘मेरो जब’ सहारा बनिरहेको छ ।

‘मेरो जब’ मा अहिले ३८ हजारभन्दा बढी रोजगारदाता कम्पनी आवद्ध छन् भने १० लाख बढी रोजगारी खोजिरहेका व्यक्तिहरु दर्ता भएका छन् । कुनै बेला आफैं रोजगारीको अवसर खोज्दै हिँडेका शैलेन्द्र अहिले लाखौं व्यक्तिहरुलाई रोजगारीका अवसरसँग जोडिरहेका छन् । प्रस्तुत छ ‘द चेन्जमकर्स’ को आजको अंकमा उनै शैलेन्द्रको उद्यमशीलताको लामो यात्रा : 
 
जहाँ शैलेन्द्रले सपना देख्न सिके 
 
उच्च माध्यमिक तहसम्मको अध्ययन पूरा गरेका शैलेन्द्र नेपालका स्नातक कलेजमा हुने राजनीतिबाट आजित थिए । उनलाई नेपालमा कलेजको राजनीतिक दलदलमा प्रवेश गर्नुभन्दा बरु विदेश नै पढ्न जान उपयुक्त लाग्यो । उनले अध्ययनका लागि भारत जाने सोच बनाए र सन् १९९६ मा बैंगलोरको एक कलेजमा स्तनक अध्ययन सुरु गरे । तर भारत र बैंगलोर सहर उनका लागि नयाँ थियो । कलेजमा उनी तमाम भारतीयका बीच एक्ला नेपाली विद्यार्थी थिए । 
 
त्यसबेला उनलाई कसैले भनेका थिए, ‘भारतमा समय कटाउन सक्ने हो भने उसको लागि विश्वका अरु राष्ट्रहरु केही पनि होइन ।’ भारतको बसाई सम्झिँदै शैलेन्द्र भन्छन्, ‘सुरुमा त मलाई यो भनाईको तात्पर्य बुझ्ने चाहना थियो । तर भारतको बसाई अनुभवले यो भनाइको मर्म पनि बुझायो ।’ नेपालमा राम्रोसँग बाहिरी अनुभव नभएका शैलेन्द्रका लागि भारतको बसाइँ चुनौतीपूर्ण बन्न पुग्यो । 
 
शैलेन्द्र भन्छन् ‘स्नातकको पहिलो वर्ष उनीहरुसँग चिनजानमा सीमित रह्यो । दोश्रो वर्षबाट उनीहरुसँग राम्रोसँग घुलमिल हुन थालँे । भारत बसाईको अवधिमा उनीहरुको रहनसहन र जीवनशैलीबाट धेरै कुराहरु सिक्ने मौका मिल्यो । भारतमा विद्यार्थीहरु पैसा कम खर्च गर्ने गर्थे, बरु पैसा बचाएर किताब किनेर पढ्नुपर्छ भन्थे । उनीहरू सबैमा पढ्ने, नयाँ कुरा सिक्ने र केही गर्नुपर्छ भन्ने हुटहुटी देख्थेँ । आफूले लक्ष्य लिएपछि त्यसलाई हासिल गर्न प्रतिबद्ध बन्दथे ।

लक्ष्य कसरी पूरा गर्न सकिन्छ भन्ने उत्साह उनीहरुमा सधैं देख्थेँ । जसको प्रभाव म मा पनि परेको थियो । सोही प्रभावका कारण कठीन अवस्थामा पनि संघर्ष गर्ने ऊर्जा मिलिरहन्थ्यो र सधैं मेहेनेत गर्नुपर्छ भन्ने लाग्यो । अध्ययनको अबधिमा पढाई सँगसँगै अन्य धेरै बाहिरी कुराको अनुभव लिने अवसर मिल्यो । भारतको बसाईले आफैंले केही गर्नुपर्छ, मैले नगरे मैले भन्दा पहिले अर्कोले गर्छ र लिएको अठोट पूरा गर्न प्रतिबद्ध र लगनशील भई निरन्तर लागिरहनुपर्छ भन्ने सिकाएको थियो ।’
 
काम गर्ने अवसरको खोजी 
 
अध्ययन सकेर नेपाल फर्किएका शैलेन्द्र कामको अवसर खोजिरहेका थिए । उनलाई कामको अनुभव लिन मन थियो । ‘विज्ञापन पछ्याउँदै एक कम्पनीमा इन्टरभ्यु दिन पुगे । इन्टरभ्यु फाराममा आफ्नो विवरण भरेपश्चात अपेक्षित तलब उल्लेख गर्नुपर्ने थियो । मेरो प्राथमिकतामा काम सिक्नु नै पहिलो थियो । तलब ६ हजार उल्लेख गरेको थियो, मैले ३ हजार भरें । इन्टरभ्युको क्रममा तलब कम उल्लेख गरेको कारण सोध्नुभएको थियो, मैले जबाफमा मसँग कामको अनुभब नभएको र काम सिक्न मन भएको बताएँ । कम्पनिले छैटौं इन्टरभ्युपछि मेरो नाम अर्को कम्पनीमा सिफारिस गर्यो ।’ 
 
शैलेन्द्र विजया मोटर्समा सेल्स म्यानको लागि आवद्ध भए । उनको जिम्मेवारी कार बेच्नुपर्ने थियो । आएका ग्राहकहरुलाई सवै विवरण राम्रोसँग दिने गर्थे र उनको आफ्नो सेल्सको सीपले कार बिक्रीको गतिलाई बढाइरहेका थिए । ‘एक वर्ष कामको समीक्षा गर्दा धेरै कार बेचिसकेको रहेछु । कम्पनीको सेल्स निकै बढाएको रहेछु । कम्पनीले तलब पनि बढाएको थियो । मैले आफूसँग भएको क्षमता पहिचान गर्ने अवसर मिल्यो । आफैंले केही गर्ने हो भने गर्न सक्ने रहेछु भन्ने आत्मविश्वास पलायो । आफैं किन केही नगर्ने भन्ने सोचेर सेल्सको जागिर त्यागें’ शैलेन्द्र बताउँछन् ।
 
जागीर छाडेर उद्यमी बन्ने सपना : असफलताले दिएको सफलताको मार्गदर्शन 
 
करिब १ वर्षको अनुभवपछि शैलेन्द्रले सेल्सको जागिर त्यागे र आफैं केही व्यवसाय सुरुवात गर्ने निर्णय लिए । उनले एक आफन्तसँग मिलेर रियल होम नामक कम्पनीको सुरुवात गरे, जसले घरायसी विद्युतीय समानहरु जस्तै टिभी, फ्रिज, वासिङ मसिनहरु किस्ताबन्दीमा दिने गर्दथ्यो । शैलेन्द्रका आफन्तले अन्त कतै यो मोडलमा राम्रो व्यापार गरेको देखेर उनलाई पनि यही गर्ने सल्लाह त दिएका थिए तर उनीहरु दुवैजना किस्ताबन्दी व्यवसायमा हुने समस्यासँग परिचित भने थिएनन् । 
 
‘किस्ताबन्दीमा सामान उपलब्ध गराउने हुँदा सुरुवातमा व्यवसाय राम्रो देखियो । सबैले सामान लैजान्थे तर विस्तारै किस्ताको पैसा उठाउने बेलामात्र वास्तविक समस्या थाहा भयो । अधिकांश ग्राहकहरु काठमाडौं बाहिरबाट आएर कोठा भाडामा लिएर बस्नेहरु हुन्थे, उनीहरु सामान लैजान्थे तर किस्ता उठाउन जाने बेला उनीहरु अन्तै कोठा सरिसकेका हुन्थे । उनीहरुबाट पैसा उठाउनै सकिएन । यो व्यवसायबाट पैसा कमाउन नसकेपछि ६ महिनामै बन्द गर्नुपर्यो, शैलेन्द्र सम्झिन्छन् ।
 
पहिलो व्यवसायबाट राम्रो अनुभव लिएका शैलेन्द्र अब केही फरक र बजार सुहाउँदो आइडियाको खोजीमा थिए । अन्य ३ जना साथीहरु मिलेर रियल सोलुसन नामको कम्पनी सुरुवात गरे । यसबाट कलाकारहरुको प्रोफाइल व्यवस्थापन गर्ने आइडिया थियो । उनीहरुले कलाकारले कहिले के गर्ने, कहाँ जाने भन्नेका साथै कन्सर्ट व्यवस्थापन पनि गर्ने गर्थे । केही कलाकारलाई आवद्ध गरेका थिए । नेपालमा विभिन्न कलाकार तथा व्यक्तित्वको पोष्टर राख्ने चलन बढ्दो थियो । उनीहरुले नेपालीमा मोटिभेसनल पोष्टर तयार गरेर बेच्ने सोच बनाएँ । 
 
यसमा पनि समस्याहरु थियो । ‘कलाकार व्यवस्थपन गर्दा इभेन्टको आयोजकले पैसा दिँदैनथे । काम झन्झटिलो थियो । अर्कोतर्फ पोष्टर प्रिन्ट गर्न खर्च धेरै लाग्थ्यो, यसर्थ, यो पनि दीर्घकालीन व्यावसायिक आइडिया थिएन । फेरि पैसा खर्चमात्र भइरहन्थ्यो । यो आइडिया पनि नाफामूलक नलागेपछि यसमा पनि थप काम नगर्ने निर्णय लिएँ,’ शैलेन्द्र बताउँछन्
 
जब शैलेन्द्रले पाए ठूलो अवसरको संकेत (आई ओपनिङ मुमेन्ट)
 
दुई वटा आइडियामा असफल भएका शैलेन्द्रलाई अब भने केही फरक काम गर्ने इच्छा जाग्यो, ‘नेपाली बजारमा कहीँ नभएको, कसैले गरेको भएता पनि सफल नभएको र भविष्यमा ठूलो स्कोप भएको व्यवसाय गर्न मन थियो’, शैलेन्द्र बताउँछन् । यस्तो तेश्रो आइडियाको खोजीमा थिए, उनी । तर आइडिया भने आइसकेको थिएन । यसैसन्दर्भमा एक दिन एक जना साथीको मा गएका थियौंं । साथीलाई ‘रियल सोलुसन’ नामको कम्पनी खोलेको कुरा सुनाएँ । उसले भन्यो रियल सोलुसनबाट के–के कुराको सोलुसन दिन्छौ त ? हामीले भन्नकै लागि सबै सेवा दिन्छौँ भन्यौं ।

उसलाई एक जना मेकानिक र रिसेप्सनिस्ट चाहिएको रहेछ । उसले यस्तो काम गर्ने कर्मचारी खोज्दिन भन्यो । उसको प्रश्नले आँखा खोलिदियो अनि नेपालमा मानव संसाधन बजारमा प्रवेश गर्ने प्रारम्भिक सोच बनाएँ’, शैलेन्द्र बताउँछन् । व्यवस्थापनको अध्ययन गरेका शैलेन्द्रले नेपालमा मानव संसाधनको (एचआर) क्षेत्रमा राम्रो स्कोप देखेका थिए । ‘भारतमा बस्दा सा ना ठूला सबै कम्पनीमा एचआर डिपार्टमेन्ट देखेको थिएँ । नेपालका ठूला, विभिन्न पुराना–नयाँ कम्पनीहरुमा पनि मानव संसाधन शाखा थिएनन् ।

हामीलाई मानव संसाधन शाखा बिना कुनैपनि कम्पनी राम्रोसँग चल्न सक्दैन भन्ने थाहा थियो । यसैलाई यहाँ ठूलो अवसर देख्यौं, शैलेन्द्र बताउँछन् । शैलेन्द्रले मानव संसाधन व्यवस्थापनका विश्वव्यापी अभ्यासको अध्ययन सुरु गरे । उनले नेपालमा ‘रिक्रुटमेन्ट प्रोसेस आउटसोर्सिङ’ उपयुक्त हुने देखेर सो को कन्सेप्ट विकास गरी बजारमा इन्ट्री गरे । ‘रिक्रुटमेन्ट प्रोसेस आउटसोर्सिङ’ बारे सुरुवातमा प्रचार गरेता पनि नयाँ कन्सेप्ट भएका कारण आइडियाले बजार पाएन ।

शैलेन्द्र र उनको टिमले पहिला अपनाएका रणनीतिप्रति समीक्षा गर्न थाले । ‘हामीले प्रचारको लागि पत्रिकामा विज्ञापन छाप्ने गर्यौं । प्रचारको आधार त्यही थियो तर त्यसबाट प्रभावकारी नतिजा आएको थिएन । हामीले विज्ञापन गरेर उनीहरु आउनेछन् भनेर कुरेर बसेका थियौं । हामी सच्चियौं, आफैं कम्पनीहरु समक्ष जाने निर्णय लियौं र कम्पनीहरुलाई प्रस्ताव पठाउन थाल्यौं,’ शैलेन्द्र बताउँछन् । 
 
पहिलो सफलता 
 
हालको एनआइसी एसिया बैंक त्यसबेला एनआइसी बैंक थियो । शैलेन्द्रलाई एनआइसी बैंकबाट फोन आयो । बैंकलाई नयाँ कर्मचारी हायर गर्नका लागि ‘रिक्रुटमेन्ट आउटसोर्स’ गर्नुपर्ने थियो । उनलाई बैंकका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण रिसालले फोन गरेर प्रपोजल तयार गर्न भने । ‘इमेलमा बैंकको तर्फबाट के कस्तो गर्ने भन्ने विवरण आएको थियो र मलाई सो अनुसारको प्रपोसल बनाउनुपर्ने थियो । के गर्ने भन्ने नै थाहा भएन । यस अगाडि प्रपोजल बनाएको थिइन् । प्रपोजल तयार गरेर लक्ष्मण सरलाई फोन गरेँ ।

नेपाल बन्दको दिन थियो, सरले नेपाल बन्दको कारण अर्को दिन आउन भन्नुभयो । पहिलो अनुभव थियो आजै आउँछु भनेँ र हिँढ्दै अनामनगरबाट कमलादी बैंकको कार्यालय पुगेँ । सरले प्रपोजल माग्नुभयो, जम्मा २ पेजको थियो । यो त कहाँ प्रपोजल भयो त ? यो त हामीले जे गर्न सक्छौ भनेर सोध्यौं त्यो गर्छु भनेको मात्र पो भयो । सरले हाँस्दै कसरी काम गर्छौ भनी सोध्नुभयो, मैले सबैको जवाफ उत्साहका साथ दिएँ ।’
 
बैंकले शैलेन्द्रको प्रयास र लगनशीलतामाथि जोखिम लियो । लक्षमण रिसालले तत्कालै बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सशीन जोशीलाई फोन गरे र शैलेन्द्रको जोशीसँग भेट भयो । शैलेन्द्रको लगनशीलता र उत्साहले बैंकका सीइओ जोशी तत्कालै प्रसन्न भए र शैलेन्द्रलाई ‘रिक्रुटमेन्ट आउटसोर्सिङ’ को जिम्मा दिने निर्णय गरे । ‘मेरो कुनै सीइओसँगको पहिलो भेट थियो, हिड्दै आउँदा थाकेको थिएँ झन् रातो भएछु ।

सरले पहिलोपटक गर्दैछौ कसरी गर्छौं भनेर सोध्नुभयो । मैले मलाई थाहा भएसम्मको सबै बताएँ । सशीन सरले राम्रोसँग जिम्मेवारी पूरा गरेको खण्डमा अन्य थप १० क्लाइन्ट आफैं खोजिदिने प्रतिवद्धता व्यक्त गर्नुभयो,’ शैलेन्द्र सम्झिन्छन् । शैलेन्द्रले सफलरुपमा एनआइसी बैंकको काम सम्पन्न गरे । उनलाई बैंकका सीइओले प्रतिवद्धता व्यक्त गरेजस्तै अन्य १० कम्पनीमा उनको नाम सिफारिश गरिदिए ।

‘बैंकको काम सकेर रिपोर्ट लिएर फेरि सीइओ सरलाई भेट्न गएँ । सर मेरो कामबाट प्रसन्न हुनुभयो । काम सम्पन्न गर्न धेरै मेहनत पनि गरेका थियौं । मेरै अगाडि १० वटा कम्पनीमा फोन गर्नुभयो र यो मान्छे नयाँ छ तर जिम्मेवारीका साथ काम सम्पन्न गर्छन् भन्नुभयो । हामीसँग १० नयाँ कम्पनी थपिए’’ शैलेन्द्र सम्झिन्छन्
 
समस्याले दिएको सफलता
 
नेपालमा रोजगारीका लागि सोर्स–फोर्स धेरै लाग्ने गथ्र्यौं र अझै पनि यसबाट मुक्ति मिलिसकेको पनि छैन । कम्पनीहरु यसबाट आफैंमा आजित पनि थिए । उनीहरु हाम्रो भन्दा राम्रो मान्छे चाहन्थे । तर परिस्थिति बाध्यात्मक बन्दा उनीहरु हाम्रोलाई रोजगारी दिन बाध्य हुन्थे । ‘रोजगारी दिने बेला कम्पनीलाई प्रेसर आउने गथ्र्यो । आउटसोर्स गरेपश्चात कम्पनीमाथि पर्ने प्रेसर घटना थाल्यो । कम्पनीले आउटसोर्स गरेको बताउँथे, हामीलाई ट्रयाक गर्ने बेलासम्म हामीले काम सम्पन्न गरेर प्रतिवेदन कम्पनीमा पठाइसक्थयौं । यसकारण पनि हामीसँग नयाँ कम्पनीहरु थपिँदै गए” शैलेन्द्र जोड्छन् । 
 
उनी थप्छन्, “यो प्रक्रिया निष्पक्ष हुन्थ्यो र कम्पनीमा क्षमता भएका व्यक्तिले रोजगारी पाउँथे । नेपालमा ‘रिक्रुटमेन्ट प्रोसेस आउटसोर्सिङ’ ले नयाँ उचाई लिँदै गयो र हामीलाई धेरै ठाउँबाट फोन आउन थाल्यो । हामी स्थिर अवस्थामा रहेका थियौं । प्रक्रिया अहिले जस्तो सजिलो थिएन, रोजगारीका आवेदन हुलाकमार्फत आउने गर्थे । आएका आवेदनहरु बोरामा उठाएर मोटरसाइकलबाट अफिसमा ल्याएर त्यसलाई एकएक गर्दै छुट्याउने गथ्र्यौं । तिनलाई कम्प्युटरमा इन्ट्री गर्न त महिनौं लाग्थ्यो ।”
 
रियल सोलुसनमा पर्याप्त टेबलहरु थिएनन्, ल्याएका आवेदनहरुहरु भुइँमा बसेर छुट्याउने र डाटा इन्ट्री गरिन्थयो । अफिसको कार्यालय सहयोगीको आफन्तले उधारोमा टेबल बनाइदिने बताए । अफिसमा बस्ने कुर्सी आवश्यक पर्यो । कुर्सी किन्नको लागि शैलेन्द्रसँग पैसा पनि थिएन । “टेबल त पछि पैसा दिने सर्तमा बनाइदिने हुनुभयो तर कुर्सी किन्नको लागि आफूसँग पैसा थिएन । एउटै कुर्सीकै २–३ हजार पथ्र्यो । सबै पैसा सकिइसकेको थियो । तलव खुवाउनेसम्म पैसा थिएन । ऋण खोजेको कतै पाइएन । ४५ दिने क्रेडिटबाट कुर्सी किन्यौंँ । अनि बल्ल मजाले बसेर काम गर्न थाल्यौँं ” शैलेन्द्र बताउँछन् । 
 
 रियल सोलुसनले राम्रो गरिरहेको थियो तर शैलेन्द्र आफैं भने सन्तुष्ट थिएनन् । उनलाई यो काम गर्ने तरिका हो जस्तो लागेको थिएन । यसको विकल्प खोजिरहेका थिए । “प्रकृया निकै झन्झटिलो थियो, मलाई काम गर्ने तरिका यो हो जस्तो लागेको थिएन । विकल्प खोजिरहेँ, पछि ‘इमेल’ बाट आवेदन लिन थाल्यौं । तर इमेलमा पनि समस्या थियो । आएका इमेललाई इन्ट्री गर्नुपथ्र्यो, टेबल बनाउनुपथ्र्यो । समस्या समाधान भएको थिएन । हामीले एउटा फर्म डेभलप गर्यौंँ । जसबाट आवेदकले आवेदन दिन सक्थे र हामीलाई पनि डाटा व्यवस्थापनमा केही सजिलो भयो’, शैलेन्द्र बताउँछन् । 
 
‘मेरो जब’ को सुरुवात ​
 
शैलेन्द्र रियल सोलुसनबाट राम्रो गरिरहेका थिए । तर उनी आफ्नो प्रगतिबाट सन्तुष्ट भने थिएनन् । उनले गर्न खोजेको यति मात्र थिएन । उनी कागजी प्रक्रिया अन्त्य गर्न चाहन्थे । मानव संसाधन चाहिएका रोजगारदाता कम्पनीहरुले आफ्नो कर्मचारी माग अनुसारको फारम खोल्न सक्ने र रोजगारी खोजेका मान्छे सहजै आफ्नो विवरण अनलाइन रजिस्टर गरी आवेदन दिनसक्ने प्लेटफर्म बनाउन चाहन्थे । 
 
‘विदेशमा यस प्रकारको अभ्यास हुँदै आइरहेको थियो, नेपालमा यस्तो प्रयास पहिला भएता पनि सम्भव भएको थिएन । म इन्टरनेटको विस्तार हुनेमा विश्वस्त थिए । हामीले नेपालको लागि एउटा आफ्नै प्लेटफर्म किन नबनाउने भन्ने लाग्यो । पहिले बनाएर डाटा लिएजस्तै फर्म वेबसाइटमा इन्ट्रिग्रेट गर्ने र थप परिष्कृत वेबसाइट बनाउने सोच बनाएँ । मैले ५ वर्षको योजना बनाएँ र काम सुरु भयो’, शैलेन्द्र भन्छन् ।
 
शैलेन्द्रले यसअघि रियल सोलुसनबाट एचआर सेवा दिँदै आएका थिए । नयाँ कार्ययोजनाको लागि उनले अनलाइन जबलाई ब्रान्डिङ गर्न चाहन्थे । उनले ‘मेरो जब डट कमको परिकल्पना गरे । डोमेन उपलब्ध थियो, मेरो जब डटकम को यात्रा शैलेन्द्रले सन् २००६ बाट सुरु गरे । उनले ‘मेरो जब’ लाई सीप भएका व्यक्तिले आफ्नो सीप अनुरुपको जागिर खोज्ने प्लेटफर्मको रुपमा विकास गरे । उनको बिजनेस मोडेल प्रयोगकर्ताहरु, जो रोजगारी खोजिरहेका छन्, उनीहरुलाई निःशुल्क उपलब्ध गराउने र रोजगारदाता कम्पनीबाट रोजगारीको अवसर लिस्टिङको सेवावापत पैसा लिने थियो ।
 
शैलेन्द्रले सन् २००६ मा यो योजना अगाडि सारेका थिए । एक वर्षसम्म वेबसाइटलाई अरुभन्दा फरक र अरुले नगरेको के–के सेवा सुविधा थप्न सकिन्छ भन्ने लगायतका विभिन्न रणनीति तयार गर्न लाग्यो । शैलेन्द्र आफैं पनि स्नातक अध्ययनको क्रममा कोडिङ सिकेका थिए । उनले रियल सोलुसनका आफ्नै एक कर्मचारीसँग मिलेर आफैं वेबसाइट तयार गरे । “हामीले वेवसाइट आफैं सिक्दै तयार गर्यौं । २००७ बाट हामीले वेवसाइट बनाउन सुरुवात गर्यौं । मसँग क्लियर बिजनेस आइडिया थियो । हामीलाई वेबसाइट पूर्णरुपमा तयार गर्न २ वर्ष लाग्यो । २००९ मा वेबसाइटको काम पूरा भयो’, शैलेन्द्र सम्झिन्छन् ।
 
शैलेन्द्र आफूले के गर्ने र कसरी अगाडि बढ्ने भन्नेमा प्रष्ट थिए । उनीहरुले तयार गरेको वेबसाइट आफूले बनाउन चाहेअनुरुपको बनाए । वेबसाइटबाट रोजगारी खोज्नेले एकै क्लिकको भरमा रोजगारीको आवेदन दिन पाउँथे भने कर्मचारी खोजिरहेका कम्पनीले सहजै लिस्टिङ् गर्न सक्थे । अब ‘मेरो जब’ लाई धेरैजनाबीच पुर्याउन आवश्यकता थियो । शैलेन्द्रले कम्पनीको मार्केटिङमा भन्दा ब्रान्डिङमा ध्यान दिए ।
 
‘हामीलाई कम्पनीको ब्रान्डिङ गर्नुपर्छ भन्ने लाग्यो । त्यसबेला नेपालमा ब्रान्डिङको अवधारणा प्रचलित थिएन । सबै कम्पनीहरु मार्केटिङ गर्ने गर्थे । केही बहुराष्ट्रिय कम्पनी मात्र ब्रान्डिङ क्याम्पेन चलाउँथे । हामीले ‘मेरो जब’ को ब्रान्डिङ गर्न मार्केटिङ एजेन्सीलाई एप्रोच गर्यौं । उनीहरु हामीसँग काम गर्न तयार नै भएनन् । मसँग धेरै पैसा थिएन । उनीहरु ५०–६० लाख बजेटको प्रोजेक्ट लिने गर्थे । मसँग ५ लाखको बजेट थियो ।

मैले ३ वर्षभित्र त्यस मूल्यको ब्रान्डिङ गर्ने वचन दिएपछि एक मार्केटिङ एजेन्सी हाम्रो लागि ५ लाखको कन्ट्रयाक्टको काम गर्न तयार भयो । मसँग ५ लाख पनि थिएन एकजना साथीले लगानी गरेर सहयोग गरेपछि त्यो सम्भव भएको हो’, शैलेन्द्र सम्झिन्छन् । सन् २००९ मा ‘मेरो जब’ को मेरो जव डटकम वेबसाइटबाट औपचारिक सुरुवात भयो । सुरुवातको केही हप्तामै ‘मेरो जब’ को सर्वत्र चर्चा चुलियो ।

मेरो जबले रोजगारी खोजिरहेकाहरु बीच रोजगारी खोज्ने र आवेदन दिने वास्तविक माध्यम यो हो भन्ने अनुभूति दिलाउन सफल भयो । व्यवस्थित रूपमा रिक्रुटिङ र हायरिङ गर्न चाहनेले ‘मेरो जब’ मा रजिस्टर हुन थाले । शैलेन्द्रले पहिलो १ हजार व्यक्ति जोड्न १ वर्ष लाग्ने अपेक्षा राखेका थिए । तर सुरुवातको पहिलो महिनामै १ हजार जना बढीले दर्ता गरे । पछि उनले सुरुवातमा ५ वर्षको लागि तयार गरेको लक्ष्य २ वर्षभित्रै हासिल गरे ।
 
“हामी सुरुमा आफैं विभिन्न रोजगारदाताको मा पुगेर रजिस्टर गर्न सिकाउँथ्यौं । कतिपय कम्पनीमा हामीले आफैं इन्टरनेट जोड्न लगाएर समेत उहाँहरुलाई तरिका यो हो भनेर सिकायौं । हामीले गुणस्तरीय सेवा दियौं । हामीलाई हाम्रो बारे बढी मार्केटिङ गर्नै परेन । माउथ टु माउथ मार्केटिङले धेरै व्यक्ति जोडिनुभयो ” शैलेन्द्र सम्झिन्छन् । 
 
अहिले ‘मेरो जब’ मा ३८ हजार बढी रोजगारदाता कम्पनीहरु जोडिएका छन् भने १० लाख बढी व्यक्तिले रोजगारीका लागि दर्ता गरेका छन् । रोजगारीका अवसरहरुको खोजीमा रहेका लाखौं व्यक्तिले ‘मेरो जब’ को वेबसाइट मेरो जब डटकम दैनिक रूपमा खोल्ने गर्छन् । ‘मेरो जब’ अहिले रोजगारी खोज्ने व्यक्ति र कर्मचारी खोज्ने कम्पनीको लागि साझा माध्यम बनेको छ । शैलेन्द्र २० वर्ष अगाडि सोचेको परिकल्पनाले अहिले नेपालको मानव संसाधनको बजारलाई व्यवस्थित गर्न मद्दत गरिरहेको छ । 
 
अहिले शैलेन्द्र मेरो जबबाट अफिसको कर्मचारी मात्र हैन ब्लु कलर जबका लागि कामदार खोज्न रोजगारी डट कम सञ्चालनमा ल्याएका छन् । रोजगरी डटकमले अहिले काम र कामदारलाई एकै ठाउँमा ल्याएको छ । ‘मेरो जबबाट कर्मचारी खोज्ने काम त गर्यौंँ तर हामी अर्को महत्वपूर्ण पक्षमा चुकिरहेका रहेछौं । समाजमा अलिकति कम पढेलेखेका र ग्रामीण क्षेत्रका व्यक्तिहरु पनि हुनुहुन्छ जसले आफैं जागिर खोज्न सक्नुहुन्न् र ठूलो सीपयुक्त काम गर्न सक्षम हुनुहुन्न । हामीले उहाँहरुलाई रोजगारी खोज्ने गाइड गर्न रोजगारी डट कमको सुरूवात गर्यौं । 
 
रोजगारी डट कममा ‘मेरो जब’मा जस्तै कामको लिस्टिङ हुन्छ । काम गर्न इच्छुकले विवरण दिन सक्छन् । उहाँहरुलाई त्यो प्रक्रिया आएन भने हामी फोनबाटै पनि उहाँहरुको तर्फबाट सबै काम गरिदिन्छौं” शैलेन्द्र बताउँछन् । रियल सोलुसन, मेरोजब, रोजगारी डटकम सँगसँगै अहिले उनले आयुलजिक पनि सञ्चालनमा ल्याएका छन् । आयुलजिक कम्पनीको मानव संसाधन व्यवस्थापन गर्ने सफ्टवेयर हो । जसले मानव संशाधन व्यवस्थापनको कार्यलाई सहज गर्ने गर्दछ । 
 
साथसाथै अहिले उनीहरु एचआर कन्सल्टिङ सेवा पनि दिँदै आइरहेका छन् । शैलेन्द्रले सुरुवात गरेको कम्पनी ‘मेरो जब’ अहिले पब्लिकमा जाने प्रक्रियामा रहेको छ । सार्वजनिक निष्कासन (आइपीओ) मा जाने प्रक्रिया थालेको छ । “मैले सुरुवात गरेको कम्पनी भएपनि यो कम्पनी मसँगै नसकियोस् भन्ने सोच छ । यसलाई वर्षौंसम्म निरन्तर लैजानुपर्छ । हामी छिट्टै आइपीओमा जाने तयारीमा पनि छौं’ शैलेन्द्र भन्छन् । 
 

Post Your Comment