Market Closed

निक्षेपको ब्याज जति पनि दिएनन् बैंकहरुले लाभांश, एफडी गर्दै फाइदा हुने भएपछि बिच्किएका हुन त लगानीकर्ता ?

15 Mar,2023
  • FD_image_3_15_2023_8_31_35.jpg
निराजन सापकोटा 
 
काठमाडौं : वाणिज्य बैंकहरुले आफैंले मुद्दति निक्षेपमा दिँदै आएको ब्याजदर भन्दा कम प्रतिफल सेयर लगानीकर्तालाई वितरण गरेका छन् । ११ वटा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गरेको लाभांशदर भन्दा यिनीहरुले फिक्स्ड डिपोजिटमा प्रदान गर्दै आएको ब्याज नै धेरै देखिएको छ । यही चैत महिनाका लागि बैंकहरुले १ वर्षे मुद्दति निक्षेपमा ११% सम्म ब्याज दिने भएका छन् । रेमिटेन्स खातामा भने यो भन्दा अझ धेरै छ । बैंकहरुले मुद्दति निक्षेपमा केही महिना अघि १२% भन्दा बढी ब्याजदर दिंदै आएका थिए ।

घटेर अहिले ११% मा झरेको हो । यस्तै, अहिले भने बैंकहरुले बचतको ब्याजदर पनि घटाएका छन् । यसरी मुद्दति निक्षेपमा दिइने ब्याजदर भन्दा बैंकहरुको लाभांशदर कम हुन आएपछि सेयर लगानीकर्ताहरुलाई वास्तविकरुपमा घाटा भएको देखिन्छ । फिक्स्ड डिपोजिटमा धेरै ब्याज पाए पनि बैंकहरुको सेयरमा गरिएको लगानी वापतको प्रतिफल भने कम भएपछि विगत लामो समयदेखि लगानीकर्ता सेयर बजारमा आकर्षित भएका छैनन् । 
 
  सेयर बजारमा लगानीकर्ताको आकर्षण कम हुनुमा लाभांश कम हुनुलाई पनि एक कारण मानिएको छ । लगानीकर्ताले सेयर बजारमा भन्दा फिक्स्ड डिपोजिटमा रकम बचत गर्न रुचाइरहेका छन् । अब सेयरमा आकर्षण बढ्नको लागि ब्याजदर घट्ने र सूचीकृत कम्पनीहरुले दिने लाभांशदर बढ्न आवश्यक हुन्छ । यस्तै, बजारबाट पुँजीगत लाभ आर्जन गर्न सक्ने अवस्था आउन जरुरी देखिन्छ । 
 
बैंक ब्याजदर घट्दा सेयर बजारमा सकारात्मक असर पर्ने र बढ्दा नकारात्मक असर गर्ने किसिमको सम्बन्ध सेयर बजार र ब्याजदरबीच रहेको हुन्छ । मुद्दतिमा पाउने ब्याज भन्दा बैंकको प्रतिफल कम भएपछि लगानीकर्ताले सेयर खरिद नगर्नु स्वभाविकै रहेको जानकारहरु बताउँछन् । त्यसमाथि फिक्स डिपोजिटमा राखेको रकममा जोखिम पनि नहुने र ब्याज नआउने सम्भावना पनि हुँदैन । तर बैंकमा गरिएको लगानीमा प्रतिफल नै पाइँदैन कि भन्ने त्राससमेत लगानीकर्तामा हुने गरेको छ । किनभने यसपटक ४ वटा बैंकले लाभांश नै वितरण गरेनन् ।  

किन घट्यो लाभांश दर ?
 
बैक तथा वित्तीय संस्थाको आम्दानीको मुख्य स्रोत कर्जा लगानीबाट आउने ब्याज नै हो । तर बैंकहरुको पछिल्ला त्रैमासिक रिपोर्टहरु अनुसार खराब कर्जा दर ह्वात्तै बढेको देखिन्छ । बैंकहरुले इम्पेयरमेन्ट चार्ज वापत थुप्रै रकम प्रोभिजन गर्दा नाफामा संकुचन आएको हो । कोभिडको समय सेयर बजारमा तीव्र वृद्धि भएको थियो । सो समय बैंकहरुले पनि पुँजी बजारमा लगानी गरेर मनग्य नाफा कमाउन सफल भएका थिए । पछि केन्द्रीय बैंकले सेयर बजारमा बैंकहरुको लगानीमाथि कडाई गरेपछि  नाफा पनि घट्न गएको हो ।
    
यस्तै, लाभांश दर घट्नुको अर्को कारण पुँजी वृद्धि पनि हो । पुँजी अनुसारको व्यापार वृद्धि गर्न नसक्दा बैंकहरुको प्रतिफल दर घटेको देखिन्छ । बैंकहरुले गत वर्ष वितरण गरेको लाभांश दर पछिल्ला वर्षहरुको भन्दा कम छ । त्यस्तै, विगत केही समययता बैंकिङ च्यानलमा चरम तरलता अभाव पनि देखियो । नेपाल राष्ट्र बैंकले बजारमा तरलता कायम राख्न बेला–बेला रिपो पनि जारी गर्ने गरेको पाइन्छ । तर रिपो जारी गर्दैमा तरतला धेरै टाइट भयो भनेर भन्न नहुने बैंकरहरु बताउँछन् । 
 
त्यसो त, समग्र सीडी रेसियो अहिले सहज अवस्थामा नै छ । तर पनि बैंकहरुबाट कर्जा प्राप्त नभएको व्यवसायीहरुको गुनासो छ । त्यमाथि बैंकहरुको चर्को ब्याजदरका कारण ऋणीहरु अहिले आन्दोलित पनि छन् । ब्याजदर उच्च भएको कारण कर्जाको मागमा संकुचन आएको छ । बैंकहरुको कर्जाको ब्याज धेरै भए पनि अपेक्षा अनुसार नाफा आर्जन गर्न सकिरहेका छैनन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कृषि विकास बैंकले घाटा व्यहोरेको छ । बैंकहरुमा यस्तो वित्तीय अवस्था निकै कम देख्न सकिन्छ । 
 
लगानीकर्ताहरु भने राष्ट्र बैंकको नीतिका कारणले यो अवस्था उत्पन्न हुन पुगेको बताउँछन् । केन्द्रीय बैंकको अस्थिर नीतिले नै बैंकहरुको अवस्था यस्तो भएको उनीहरुको दाबी छ । चैत महिनाका लागि सबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा ११% ब्याजदर तोकेका छन् । यसलाई लाभांशसँग् तुलना गर्दा गत वर्षको नाफाबाट ७ बैंकले ११% वा सोभन्दा पनि कम प्रतिफल वितरण गरेको देखिन्छ । यस्तै, ४ वटा बैंकले लाभांश वितरण नै गरेनन् । यिनीहरुले क्यापिटल रिक्वायरमेन्ट पुर्याउन नसक्दा लाभांश वितरणमा रोक लागेको हो । 
 
गत वर्षको नाफाबाट साविक नेपाल इन्भेष्टमेन्ट बैंकले लगानीकर्तालाई ११% लाभांश वितरण गरेको छ । त्यस्तै, सानिमा र नेपाल एसबीआई बैंकले क्रमशः १०.९८% र १०.५३% लाभांश वितरण गरेका हुन् । सबैभन्दा कम प्रभु बैंकले ८% लाभांश वितरण गरेको छ । लाभांश वितरण गरेर पनि मर्जर तथा एक्विजिसनमा गएका बैंकहरुलाई भने यसमा उल्लेख गरिएको छैन । यी ११ बैंक बाहेक अरुले भने लगानीकर्तालाई ११% भन्दा धेरै लाभांश वितरण गरेका छन् । तर अधिकांशको लाभांश २०% भन्दा कम छ । 
 
फिक्स्ड डिपोजिटबाट फाइदा कि लाभांशबाट ?
 
‘ब्याज’ र ‘लाभांश’ लगानीकर्ताले प्राप्त गर्न सक्ने २ प्रमुख प्रकारका आम्दानीहरु हुन् । कहिलेकाहीँ कम्पनीहरुको लाभांश वितरण क्षमता उच्च हुन्छ भने कहिले घटेको हुन्छ । यस्तै, ब्याजदर पनि कहिलेकाहीँ उच्च हुन्छ भने कुनै बेला न्यून विन्दुमै आएको हुन्छ । यी दुवै अस्थिर नै छन् । बजारको अवस्थाले लाभांश र ब्याज दुवैलाई प्रभावित बनाइरहेको हुन्छ । साथै, नीतिगत व्यवस्थाहरुले पनि दुवैलाई अस्थिर बनाउँछन् ।
 
कम्पनीले आज दिएको लाभांशले भविष्यको पनि प्रतिनिधित्व गर्दैन । यस्तो अवस्थामा ठोकुवा गरेरै सधैंका लागि ब्याजदर भन्दा लाभांश राम्रो वा लाभांश भन्दा ब्याजदर असल भन्न सकिँदैन । लगानीकर्ताले सम्पूर्ण परिस्थितिलाई विचार पुर्याएर लगानी गर्नुपर्दछ । कतिपय अवस्थामा ब्याजदर फाइदाकारी बन्न सक्छ भने कुनै बेलामा लाभांश लाभदायक हुन सक्छ । कुनमा बढी राम्रो अवसर छ भनेर चिन्ने खुबी लगानीकर्तासँग हुनुपर्छ । 
 

Post Your Comment