Market Closed

गुमनाम भयो नागरिक स्टक डिलर : १२ करोड क्यापले खुम्चियो सेयरमा लगानी

16 Mar,2023
  • stok_dealer_3_16_2023_8_16_32.jpg
निराजन सापकोटा 
 
काठमाडौं :  नागरिक स्टक डिलर कम्पनीले पुस मसान्तसम्म कुल १ अर्ब ८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । जसमध्ये ५० करोड ८७ लाख रुपैयाँको धितोपत्र खरिद र ५७ करोड ८१ लाख रुपैयाँ बराबरको बिक्री गरेको पाइएको हो । यसको चुक्ता पुँजी नै साढे ३ अर्ब रुपैयाँको छ । पछिल्ला दिनहरुमा नागरिक स्टक डिलकको सेयर बजारमा सक्रियता निकै न्यून देखिएको छ । बजार बुल रनमा रहेको बेला दैनिकजसो सेयर कारोबार गर्दै आएको यस डिलर कम्पनीले अहिले भने बजारमा सहभागिता शून्यजस्तै पारेको छ ।

वि.स. २०७६ सालमा स्थापना भएको यो स्टक डिलरले सेयर बजारमा हुने अत्याधिक उतारचढावलाई केही हदसम्म स्थिर राख्ने लगानीकर्ताहरुको अपेक्षा थियो । तर हालको अवस्थालाई हेर्ने हो भने यसको बजारमा त्यति प्रभाव नै देखिँदैन । सञ्चालनमा आएको पहिलो महिना नै ८०–८५ करोड रुपैयाँ बजारमा लगानी गरेको यसको अवस्था भने अहिले निकै सुस्त हुँदै गएको हो ।
 
नेपाल राष्ट्र बैंकको नीतिले पनि लगानीको स्रोत जुटाउन सहज नभएको नागरिक स्टक डिलरका एक अधिकारी बताउँछन् । उनले भने, ‘ हामी जस्तो संस्थाले बैंकबाट कर्जा लिएर कारोबार गर्नुपर्ने हो । तर राष्ट्र बैंकको नीतिले हामीलाई अहिले लगभग निष्कृय  नै बनाएको छ । सेयरमा लगानीका लागि १२ करोड रुपैयाँको लिमिट दिइएको छ, त्यो त हाम्रो लागि केही पनि होइन । यो आफैँ साढे ३ अर्बको कम्पनी हो ।

थप लगानीको स्रोत नभइ आफ्नै क्यापिटले मात्रै बजारमा प्रवेश गरिएको हो । लगानीकर्ताहरुले अपेक्षा गरे अनुसार ठूलो टर्नओभर हुने अवस्था छैन् । हाम्रो आफ्नै संस्थाको स्ट्रक्चरले पनि त्यति दिँदैन । तर पनि हाम्रो नीतिले गर्न दिने चिजहरुलाई रोकेका छैनौ।’ 
 
त्यसो त, राष्ट्र बैंकको १२ करोडको क्यापका कारण धेरै संस्थागत लगानिकर्ताहरु निरुत्साहित भएका छन् । जबकी सेयर बजारलाई अति आवश्यक भनेका संस्थागत लगानीकर्ता पनि हुन् । लगानीको हिस्सा पनि धेरै हुने हुँदा बजारलाई अघि बढाउनेमा यिनीहरुले मुख्य भूमिका निभाउँछन् । जबसम्म संस्थागत लगानीकर्तालाई उकास्ने नीति बनाइँदैन तबसम्म सेयर बजारको विकास र विस्तार पनि सम्भव नहुने जानकारहरु बताउँछन् । 
 
ती अधिकारीका अनुसार स्टक डिलर कम्पनीले सेयर खरिद वा बिक्री कति बेला गर्ने भनेर आफ्नै इन्भेष्टमेन्ट पोलिसी हुने गरेको बताउँछन् । उनले भने, ‘खरिदबिक्री कति बेला गर्ने भन्ने हुन्छ । हामीले जथाभावी कारोबार गर्न मिल्दैन । पोर्टफोलियो लिमिटहरु पनि हुन्छ । कुन सेक्टरमा कसरी लगानी गर्ने, कुन बेलामा गर्ने भन्न पनि हुन्छ । पोर्टफोलियो विविधीकरण कसरी गर्ने भन्ने हुन्छ । हामी भनेको पब्लिक ऐनले गभर्न गर्ने संस्था हो।’
 
‘सरकारी इन्भेष्टमेन्ट कम्पनीहरुमा सेयर खरिदका कुराहरु मात्र होइन अन्य सार्वजनिक खरिदका कुराहरुमा सार्वजनिक खरिद ऐन नियामवली लागू हुन्छ । जस्तो पायो त्यस्तैमा लगानी गरी हाल्नु हुँदैन । हामीले एक लेवलको इन्भेष्टमेन्ट पहिला गरेको हो । तरलता मेन्टेन गर्नुपर्ने कुराहरु पनि हुन्छ । बजारको अवस्था पनि घट्दो छ । सरकारी पैसा लगानी गर्ने कुरा जहाँ भन्यो त्यहीँ मिल्दैन’, उनले भने । 
 
उनले स्टक डिलर सेयर ट्रेड गर्ने भन्दा पनि होल्डिङ गर्ने कम्पनी रहेको बताए । ‘होल्डिङ गर्ने भनेको एक चोटी खरिद हुन्छ । किनबेच धेरै हुँदैन । त्यो हिसाबले टर्नओभर एक चोटी आउँछ । हाम्रो धेरै पोर्टफोलियो होल्डिङमा हुन्छ । त्यसैले लगातार ट्रेडरले जस्तो मार्केटमा देखिन्न’, उनले भने। 
 
राष्ट्र बैंकको नीतिका कारण ठूला संस्थागत लगानीकर्ताहरु भने मारमा परेका छन् । जुन हिसाबले कम्पनी सञ्चाल गरिएको हो त्यसलाई लगानीको स्रोत नै जुटाउन नसक्दाको परिणामा सेयर बजारमा परेको देख्न सकिन्छ । यसरी स्थापना भइ सकेका ठूला संस्थागत लगानीकर्तालाई नै स्रोत नजुटेपछि नयाँ आउने अवस्था पनि रहँदैन ।
 

Post Your Comment