नेपाली पैसा
काठमाडौं : अर्जेन्टिनाको मुद्रास्फीति दर फ्रेबुअरीमा १००% नाघेको छ । तीन दशकअघि सन् १९९१ मा भएको हाइपरइन्फ्लेसनको अवधिपछि पहिलो पटक अर्जेन्टिनाको महँगी दर १००% भन्दा धेरै पुगेको हो । मंगलबार सार्वजनिक गरिएको सरकारी तथ्याङक अनुसार फेब्रुअरीमा वार्षिक मुद्रास्फीति दर १०२% पुगेको छ । अघिल्लो महिनाकोे तुलनामा फेब्रुअरी महिनामा मात्रै मुद्रास्फीति ६.६% ले बढेको हो । जसमा खाद्यान्न र पेय पदार्थ सबैभन्दा बढी प्रभावित भएका छन् ।
नेसनल इन्स्टिट्युट अफ स्टाटिस्टिक एन्ड सेन्सस (आइएनडीइसी) का अनुसार मासु, दूध र अण्डा जस्ता खद्य उत्पादनको लागतमा ९.८% वृद्धि भएको छ । देशको उत्तरी कोरिएन्टेस प्रान्तलगायत क्षेत्रहरूमा लागेको डढेलोसँग लड्दा यस्तो अवस्था आइपुगेको अल जजिराले जनाएको छ । यो देश भटमासको प्रमुख निर्यातकर्ता हो । साथै, मकै, गहुँ र अन्य खाद्यान्न जस्ता कृषि उत्पादनहरु पनि निर्यात गर्दै आएको छ । अर्जेन्टिना दक्षिण अमेरिकामा दोस्रो ठूलो अर्थतन्त्र भएको देश हो ।
पछिल्ला केही वर्षदेखि धेरैजसो समय यसको बजार अस्थिर रहेको छ । सन् १९८० को दशकभरी ऋण संकटले अर्जेन्टिना क्रोनिक हाइपरइन्फ्लेसनसँग जुधेको थियो । मुद्रास्फीति सन् १९८९ मा करिब २६००% पुगेको थियो । बढ्दो अन्तर्राष्ट्रिय ऋणसँग संघर्ष गरिरहेको अर्जेन्टिनालाई पतनबाट जोगाउन अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१८ मा ५७ अर्ब डलर भन्दा बढी ऋण दिने सम्झौता गरेको थियो । यो इतिहासमा सबैभन्दा ठूलो ऋण प्याकेज हो । यद्दपि, सन् २०१८ देखि पुनः मुद्रास्फीति दर उच्च भएको छ ।