Market Closed

संकटमा परेका बैंकहरुले फेडरल रिजर्भबाट लिए ३ खर्ब डलर ऋण, अन्तिम ऋणदाता सुविधा मात्रै १ खर्ब ५२ अर्ब

17 Mar,2023
  • federal-reserve-symbol-black-background-may-barnaul-russia-system-249166089_3_17_2023_5_26_22.jpg
नेपाली पैसा
 
काठमाडौं : सिलिकन भ्याली बैंकको पतनपछि नगद संकटमा परेका अमेरिकी बैंकहरुले केन्द्रीय बैंकबाट ३ खर्ब डलर भन्दा बढी ऋण लिएका छन् । यी बैंकहरुलाई विगत केही दिनको अवधिमै ३ खर्ब डलर तरलता प्रदान गरिएको फेडरल रिजर्भले बिहीबार जानकारी गराएको छ । जसमध्ये करिब आधा रकम अर्थात १ खर्ब ४३ अर्ब डलर गत हप्ता असफल भएका दुई प्रमुख बैंकहरु सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकको होल्डिङ कम्पनीहरुमा गएको छ ।
 
यद्दपि, बाँकी रकम प्राप्त गर्ने बैंकहरुको बारेमा भने फेडरल रिजर्भले नखुलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । असफल भएका सिलिकन भ्याली र सिग्नेचर बैंकको होल्डिङ कम्पनीहरु फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेसन (एफडीआइसी) ले स्थापना गरेको हो । होल्डिङ कम्पनीले दुवै बैंकको सम्पूर्ण नियन्त्रण लिएका छन् । बैंकहरुले बुधबारसम्म ‘डिस्काउन्ट विन्डो’ भनेर चिनिने फेडरल रिजर्भको अन्तिम ऋणदाता सुविधामार्फत १ खर्ब ५२ अर्ब ९० करोड डलर लिएका छन् । जुन इतिहासकै उच्च हो ।
 
यसअघि सन् २००८ को चरम वित्तीय संकटको समयमा अमेरिकी बैंकहरुले १ खर्ब १२ अर्ब डलर अन्तिम ऋणदाता सुविधा लिएका थिए । यता, फेडको नवनिर्मित ‘बैंक टर्म लेन्डिङ’ कार्यक्रमबाट अमेरिकी बैंकहरुले ११.९ अर्ब डलर ऋण लिएका छन् । तथापि, फेडले अमेरिकी बैंकहरुलाई हालसम्म गरेको सहायता १५ वर्ष पहिलेको वित्तीय संकटको समयमा भन्दा लगभग आधा मात्र हो । 

Post Your Comment