नेपाली पैसा
काठमाडौं : पछिल्लो समय आफ्ना कर्मचारीहरु माथि धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र सांघातिक आक्रमण बढ्न थालेपछि बैंक, वित्तीय संस्था तथा लघुवित्त संस्थाका छाता संघठनहरुले सरकारसँग सुरक्षाको माग गरेका छन् । यी संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कर्मचारीहरु माथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग मागसमेत गरेका छन् । यस प्रकारका अप्रीय घटना नरोकिएमा कर्मचारीहरुको सुरक्षा निमित्त बैंकिङ सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहेको पनि विज्ञाप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न समयमा मुलुकले विषम परिस्थितीको सामना गर्दासमेत आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरेका हाम्रा कर्मचारीहरु माथि जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्की लगायतका क्षेत्रमा भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी प्रति हाम्रो घोर आपत्ती रहेको छ’, । विज्ञप्तिमार्फत घटनामा संलग्न दोषीहरुलाई यथाशीघ्र हदैसम्मको कारवाहीको माग गरिएको छ ।
साथै, अराजक र उत्तेजित अभिव्यक्ति दिएर यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानुनी दायरामा ल्याउन माग गरिएको छ । बैंकिङ जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भइरहेको आक्रमणले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको बैंक, वित्तीय संस्था र लघुवित्तका छाता संगठनहरुको भनाई छ । तसर्थ, यस्ता गैरजिम्मेवार क्रियाकलापको आडमा जबरजस्ती कानुन आफ्नो हातमा लिएर भइरहेका अराजक घटनालाई समयमा नै नियन्त्रण गर्न राज्यका सम्बन्धित निकायहरु अग्रसर हुन उनिहरुले अनुरोध गरेका छन् ।