नेपाली पैसा
लामो समयदेखि पुँजी बजारको गति सुस्त भएको छ । नेप्से सूचक घटिरहँदा कारोबार रकम पनि न्यून छ । यसअघि छोटो समयमा २२७८ आसपाससम्मको रफ्तार लिएको बजार त्यसपछि भने निरन्तरजसो घटिरहेको छ । अहिले बजार १९ सयको लाइनमा घुमिरहेको छ । यसबीचमा भएका राजनीतिक अस्थिरता, अर्थमन्त्री पद खालीलगायतका कारणले बजारमा लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको अनुमान गरिएको छ ।
यस्तै, नाफा बुक गरेका ट्रेडरहरु अझै ‘पर्ख र हेर’कै अवस्थामा रहनु, अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक अर्थतन्त्रले गति लिन नसक्नु लगायतका कारणले आम लगानीकर्ताको मनोबल कमजोर बनेको देखिन्छ । यद्यपि, सेयर बजारको गति र प्रवृत्ति परिवर्तन भइरहन्छ । निरन्तर घटेको बजार अवश्य पनि एउटा विन्दुमा पुगेपछि बढ्न थाल्नेछ । यसर्थ, आम लगानीकर्ताले सेयर भाउ सस्तो भएका बेला सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्दै जान अनुभवीहरुले सुझाव दिने गरेका छन् ।
बैंकहरुले विस्तारै ब्याजदर घटाउन थालेका छन् । तरलता पनि क्रमशः सहज हुँदै जान थालेको अवस्था छ । यसअघि बजार बेस्सरी प्रभावित हुनुमा बैंकमा तरलता अभाव र चर्को ब्याजदर प्रमुख कारण बनेका थिए । घटेको बजार माथि लैजान अब लगानीकर्ताको मनोबल उकास्न जरुरी देखिन्छ । मनोबल उकास्नका लागि सरकार तथा नियामकले केही सकारात्मक सन्देश जाने नीति, कार्यक्रम घोषणा गर्न आवश्यक हुन्छ । यस्तै, नियामक निकाय र सरकारका सम्बद्ध पदाधिकारीले आत्मबल उकास्ने कुराहरु सार्वजनिक रुपमा उद्घोष गर्न आवश्यक हुन्छ ।
यस्तो रह्यो साताको सेयर बजार
यस साता नेप्से सूचक ३.४६% ले घटेर १९३३.३१ विन्दुमा बन्द भएको छ । अघिल्लो साता भने सूचक २००२.७० विन्दुमा बन्द भएको थियो । बिहीबार १ अर्ब १४ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण २७ खर्ब रुपैयाँ भन्दा बढी कायम भयो ।
दैनिक कारोबार रकम

आइतबार साताकै उच्च १ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो भने बिहीबार साताकै न्यून १ अर्ब १४ करोड रुपैयाँ बढीको कारोबार भयो । यस साता औसतमा दैनिक १ अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
सूचीकृत समूहहरुको प्रदर्शन

यस सता सूचीकृत सबै समूहको सूचकमा गिरावट आएको छ । माइक्रोफाइनान्स समूह साताकै उच्च ५.४५% ले घटेको छ । त्यसपछि, बैंकिङ र जीवन बिमा समूहमा क्रमशः ४.६६% र ४.०९% गिरावट आएको छ ।
धेरै कमाउने

यस साता शुभम् पावरको भाउ सबैभन्दा धेरै ६०.९५% ले बढेको छ । त्यसपछि, युनिक नेपाल लघुवित्त ४४.०३% र रु रु जलविद्युत परियोजना १०.२७% ले बढेका छन् ।
धेरै गुमाउने

हिमालयन बैंकको सेयर भाउमा साताकै उच्च ११.६१% ले गिरावट आएको छ । त्यसपछि, आदर्श लघुवित्तको भाउ १०.८५% ले घटेको छ । तेस्रोमा खप्तड लघुवित्तको भाउ १०.०४% ले घटेको छ ।
धेरै कारोबार
यस साता कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा आएको छ । यसको ३४ करोड ५० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । त्यसपछि, शिवम् सिमेट्सको २३ कारोड ४० लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको २० करोड ५० लाख रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।