Market Closed

एनआइसी एसिया २४ वर्षमा : ग्राहकलाई २४% क्यासब्याक, १ कित्ता आइपीओको भाउ १३ हजार पुग्यो

22 Jul,2021
  • nic_asia_agm_12_19_2018_10_42_40.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइसी एसिया बैंक २४औं वर्षमा प्रवेश गरेको छ । बैंकले २४औं वर्षमा प्रवेश गरेको अवसरमा आफ्ना ग्राहकहरूलाई विद्युतीय भुक्तानीमा २४% सम्म क्यासब्याक योजना सार्वजनिक गरेको छ । जस अन्तर्गत बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी पीओएस तथा इ–कमर्समा भुक्तानी गर्दा तथा एनआइसी एसिया मोबाइल बैंकिङमार्फत स्क्यान गरी भुक्तानी गर्दा २४% वा ५०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिन्छ । 
 
वार्षिक उत्सवको अवसरमा साउन ७ गते कार्ड वा एनआइसी एसिया मो बैंकबाट कारोबार गर्ने पहिलो १ हजार ग्राहकहरूले यो सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल माध्यमलाई थप विस्तारित बनाउँदै जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने गरी ‘सेल्फ हेल्प’ तथा ‘लाइफ स्टाइल’ बैंकिङको अवधारणा अघि सारेको पनि जानकारी गराएको छ ।
 
यता, २४ वर्षको अवधिमा सेयरधनीहरुलाई लगानीमा उच्चतम प्रतिफल प्रदान गर्न सफल भएको बैंकको भनाई छ । बैंकका अुसार सर्वसाधारण सेयरधनीको सुरुवाती एक कित्ता पब्लिक सेयरको मूल्य हाल १३ हजार ६६२ पुगेको छ । जुन सुरुवाती लगानी रकमको करिब १३६ गुणाको वृद्धि हो ।

त्यसैगरी, देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउँदै स्थापनाकालदेखि हालसम्म गरी प्रत्यक्ष र अप्रत्यक्ष १५ अर्ब ७३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिएको बैंकले जानकारी गराएको छ ।
 
हाल एनआएसी एसियाले ३५६ शाखा, ७० विस्तारित काउन्टर, ८१ शाखा रहित बैंकिङ तथा ४७१ एटीएममार्फत बैंकिङ सेवा सञ्चालन गरिरहेको छ । २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता तथा ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत ग्राहकलाई सेवा प्रदान गर्न सफल भएको बैंकले जनाएको छ ।

Post Your Comment