आधारभूत र प्राविधिक पक्षबाट हेर्दा कस्तो देखिन्छ नेपाल इन्सुरेन्सको अवस्था ?

30 May,2021
  • nepal-insurance-company-ltd_4_5_2018_12_04_13.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल इन्सुरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा १७ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा २६.८७% ले बढेको हो । गत वर्ष यसै अवधिमा कम्पनीले १३ करोड ४० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा नोक्सान खाता हेर्दा चैत्र मसान्तसम्म आम्दानी २४.०८% ले बढेर २८ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने खर्च २०.२९% ले बढेर ११ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

लगानी, कर्जा तथा अन्य शीर्षक गत वर्ष भन्दा २७.७१% ले बढेर १० करोड ४९ लाख रुपैयाँ पुगेको छ । एकीकृत आय तथा व्ययबाट ट्रान्सफर गरेको आम्दानी पनि ४०.८९% ले बढेर १८ करोड ३३ लाख रुपैयाँ पुगेको छ । खर्चतर्फ सञ्चालन तथा अन्य खर्च क्रमशः ५.४३% तथा ३३.८३% ले घटेको देखिन्छ । यता, एकीकृत आयव्यय हिसाबमा हेर्दा खुद बिमा शुल्क ३५.२८% ले बढेर ५८ करोड १८ लाख ५७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले ४३ करोड १ लाख २८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले चैत मसान्तसम्म पुनर्बिमा व्यवसायबाट कमिसन आम्दानी भने ६.२१% ले खुम्चिएको छ । चैत मसान्तसम्ममा यस्तो आम्दानी ११ करोड ५० लाख रुपैयाँ मात्रै छ । विभिन्न क्षेत्रमा गरिएको कर्जा तथा लगानीबापत ६ करोड ६२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, खुद दाबी भुक्तानी ८०% ले बढेको छ । कम्पनीले ९ महिनाको अवधिमा १७ करोड ६८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यसै अवधिमा ९ करोड ९२ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो । एजेन्ट कमिसन ८.१७% ले तथा पुनर्बिमा कमिसन खर्च २१.९४% ले बढेको छ ।
 
चुक्ता पुँजी १ अर्ब १५ करोड ३ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ४० करोड १७  लाख रुपैयाँ छ । यस्तै, बिमा कोषमा ५० करोड ७१ लाख रुपैयाँ सञ्चित छ । कम्पनीले हालसम्म १ लाख ११ हजार ७६६ वटा बिमालेख जारी गरी ९६ करोड ८४ लाख ३२ हजार रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ ।

यस अवधिमा नेपाल इन्सुरेन्सको ८ हजार ५३३ बिमालेख नवीकरण भएका छन् । कम्पनीको जारी बिमालेख संख्या ४.४३% ले खुम्चिएको छ । तर बिमालेख नवीकरण भने २९.२३% ले बढेको देखिन्छ । यस कम्पनीले ४ हजार ६०४ वटा बिमालेखबापत ४८ करोड ४८ लाख ७७ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

२ हजार ६९४ वटा दाबीबापत ८२ करोड ९७ लाख ८ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ १ पैसा छ । मूल्य आम्दानी अनुपात ४२.५५ गुणा तथा प्रतिसेयर कुल सम्पतिको मूल्य ३४६.४५ रहेको छ ।

नेपाल इन्सुरेन्सको नाफा २६.८७% ले बढ्दा इपीएस कति ?




फ्लोरसिट



 
नेपाल इन्सुरेन्सको गत दुई हप्ताको फ्लोरसिट अध्ययन गर्दा ३४, २५ र ४३ ब्रोकरबाट सबैभन्दा बढी खरिद भएको छ । यस्तै ६, ३३, ४२ नम्बर ब्रोकरबाट सबै भन्दा बढी बिक्री भएको देखिन्छ । यही २ साताको अवधिमा समग्रमा १ लाख २ हजार ७३८ कित्ता सेयर खरिद तथा बिक्री भएको छ ।

अझै पनि ३४ तथा २५ नम्बर ब्रोकरबाट बढी खरिद भइरहेको पाइन्छ । नेपाल इन्सुरेन्सको टप ५ वटा कारोबार भोलुमको औसत लागत ८२० देखि ८४० रुपैयाँ हाराहारीमा १ लाख ८५ हजार ४८९ कित्ता कारोबार भएको छ ।
  
इलियट वेभ

 
इलियट वेभ सिद्धान्तले नेपाल इन्सुरेन्सको मेजर वेभ (५) बन्ने प्रकिया रहेको देखिन्छ । मेजर वेभ १ देखि वेभ २ बाट फिबोनेसी एक्सटेन्सन लिँदा ८८० देखि ९१० रुपैयाँ आसपासमा मेजर वेभ ३ पर्न आउँछ । कम्पनीको चार्ट हेर्दा पनि ८८० रुपैयाँको तहमा दुई पटक टेस्ट गर्दा समेत ब्रेक गर्न सकेको छैन ।

यदि मेजर वेभ ३ देखि ४ फिबोनेसी एक्सटेन्सन लिँदा १०५० रुपैयाँमा वेभ ५ बन्न सक्ने सम्भावना प्रबल रहेको छ । यदि कम्पनीको मूल्य ७३० रुपैयाँ भन्दा तल आएको अवस्थामा भने माथिको काउन्ट अवैध हुनेछ । यस सिद्धान्तमा ट्रेन्ड सेट सप गर्ने इम्पल्सिभ वेभ तथा करेक्सनको संकेतका रुपमा करेक्टिभ वेभको आधारमा विलेषण गरिन्छ ।
 
प्राविधिक विश्लेषण 

 

मैनबत्ति आकृति विश्लेषण
 
यस साता करोवार बन्द हुँदा तल स्याडो सहितको रातो साप्ताहिक मैनबत्ति बनेको छ । यसले खरिदकर्ता तथा बिक्रीकर्ताको मोलमोलाई बढी भएको जनाउँछ । प्रि ओपनिङ सेसनमा मूल्य बढे पनि नियमित कारोबारमा बिक्रेता पनि उत्तिकै आउने गरेका छन् । 
 
दैनिक १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स
 
१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ६१ बाट ५९ को स्केलमा आएको छ । यदि आरएसआई २० देखि ३० को तहमा आएमा खरिद गर्न सकिन्छ । 
 
मुभिङ एभरेज कन्भरजेन्स डाइभरजेन्स
 
केही साताअघि एमएसीडी र सिग्नल रेखाले बुलिस क्रस गरेको थियो । यस साता पनि बियारिस क्रसको निरन्तरता रह्यो । हिस्ट्रोग्राम पनि सेन्ट्रल लाइन भन्दा माथि आउने क्रममा रहेको छ । यसले ट्रेन्ड परिवर्तनको संकेत गर्दछ ।  
 
कमोडिटी च्यानल इन्डेक्स
 
यस साता कमोडिटी च्यानल इन्डेक्स धनात्मक २०० देखि १०६ को स्केलमा आएको छ । 
 
बोलिन्जर ब्याण्ड 
 
नेपाल इन्सुरेन्सको मूल्यले माथिल्लो ब्याण्डलाई छोएर तल आएको छ भने ३ वटै ब्याण्ड समानान्तर रहेको छ । यसले लो भोलाटाइल भएको संकेत गर्दछ ।
 
मुभिङ एभरेज
 
गत मे १६ तारिखमा ९ दिने मुभिङ एभरेजले २१ दिने मुभिङ एभरेज तलदेखि माथिसम्म क्रस गरेको थियो । ट्रेन्ड फलो गर्ने मुभिङ एभरेजको ट्रेन्ड बुलिस ट्रेन्डमा रहेको देखाउँछ ।
 
निष्कर्ष
 
नेपाल इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २६.८७ प्रतिशतले नाफा वृद्धि गरी १७ करोड १ लाख २२ हजार रुपैयाँ कमाएको छ । खुद बिमा शुल्क ३५.२८% ले बढेको छ भने पुनर्बिमा व्यवसायबाट हुने कमिशन ६.२१ प्रतिशतले घटेको छ । खुद दाबी भुक्तानी ८० प्रतिशतले बढेको छ । यस कम्पनीले ९ महिनाको अवधिमा १७ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्षको यही अवधिमा ९ करोड ९२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

नाफा बढेपछि प्रतिसेयर आम्दानी पनि २०.८३ प्रतिशतले बढेको देखिन्छ । यसले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस र करसहित २ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको छ । प्राविधिक सूचकहरुले मिश्रित अवस्था रहेको संकेत गर्छ । १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स, बोलिन्जर ब्याण्ड तथा कमोडिटी च्यानल इन्डेक्स यी सबै सूचकहरु घटेका छन् ।

एमएसीडी र सिग्नल रेखाले बुलिस क्रस गर्नुका साथै हिस्ट्रोग्राम पनि सेन्ट्रल लाइन भन्दा माथि आउने क्रममा रहेको छ । यसले ट्रेन्ड परिवर्तनको संकेत गर्दछ । कम्पनीको चार्ट हेर्दा पनि ८८० को तह दुई पटक टेस्ट गर्दा पनि ब्रेक गर्न सकेको छैन । प्याटर्न एनेलाइसिसबाट हेर्दा एसेडिङ त्रिभुज बन्दै गएको छ । यही त्रिभुजको ब्रेक आउटले आगामी दिशा तय गर्दछ ।     
 
सावधानी : यो विश्लेषण आफैंमा पूर्ण होइन । लगानीकर्ताले थप अध्ययन अनुसन्धान गरेरमात्र लगानी सम्बन्धी निर्णय लिनु हुन अनुरोध गरिन्छ ।
 

Post Your Comment