Market Closed

निर्जीवन बिमा : नाफामा नेकोले मार्यो बाजी, अरु महत्वपूर्ण सूचकहरुमा कसको अवस्था कस्तो ?

16 Feb,2021
  • profits_2_16_2021_8_06_07.jpg
इशारा कोइराला
 
काठमाडौं : नेप्सेमा सूचीकृत १८ निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसअवधिमा अधिकांश कम्पनी अधिकांश सूचकहरुमा मजबुत बन्दै गएका छन् । पुस मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा नेको इन्सुरेन्स अग्रस्थानमा परेको छ । नेको इन्सुरेन्सले अधिकांश महत्वपूर्ण सूचकहरुमा प्रगति हासिल गरेको छ । प्रतिसेयर आम्दानी लगायतका कतिपय महत्वपूर्ण सूचकहरुमा निर्जीवन बिमा क्षेत्रकै अग्रणी शिखरलाई समेत चुनौती दिएको छ ।

यसैगरी, अन्य केही निर्जीवन बिमा कम्पनीहरुको प्रगति पनि आकर्षक देखिएको छ । चुक्ता पुँजी भने शिखर इन्सुरेन्सको सबैभन्दा धेरै छ । जगेडा कोष, बिमा कोष, प्रतिसेयर आम्दानीमा सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनी मजबुत देखिएको छ । यसैबीच यो वर्ष नै आइपीओ जारी गरेका जनरल, अजोड रसानिमा जनरल इन्सुरेन्स पनि मजबुत बन्दै गएका छन् । अब हेरौं, कुन कम्पनीको अवस्था कस्तो :
 
चुक्ता पुँजी शिखर इन्सुरेन्सको धेरै
 
पुस मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी शिखर इन्सुरेन्सको रहेको छ । शिखरको चुक्ता पुँजी ३०% ले बढेर १ अर्ब ३७ करोड ४५ लाख ३ हजार रुपैयाँ पुगेको छ । नेको इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ छ । एक वर्षको अवधिमा १० कम्पनीको चुक्ता पुँजी बढेको छ । एनएलजी र प्रुडेन्सियल इन्सुरेन्सको पुँजी ६०% ले बढेको छ । यसै वर्ष आइपीओ जारी गरेका तीन कम्पनीको पुँजी ४२.८५% ले बढेको छ । 

 
सबैभन्दा धेरै बिमा कोष राष्ट्रिय बिमा कम्पनीको
 
पुस मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै बिमा कोष राष्ट्रिय बिमा कम्पनीको रहेको छ । यसको बिमा कोष २०.०९% ले बढेर २ अर्ब ३१ करोड ८७ लाख १६ हजार रुपैयाँ पुगेको छ । शिखर इन्सुरेन्सको बिमा कोषमा १ अर्ब १७ करोड ८० लाख १५ हजार रुपैयाँ छ । यसअवधिमा १७ वटा कम्पनीको जीवन बिमा कोषको आकार बढेको छ । सबैभन्दा धेरै बिमा कोष बढ्नेमा अजोड इन्सुरेन्स रहेको छ । यसको बिमा कोषको आकार ९६.२१% ले बढेर ८ करोड २७ लाख १४ हजार रुपैयाँ पुगेको छ । युनाइटेड इन्सुरेन्सको बिमा कोषको आकार भने घटेको छ । 

 
नेको इन्सुरेन्सको खुद नाफा सबैको भन्दा बढी 
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १६ कम्पनीको खुद नाफा बढेको छ । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नेको इन्सुरेन्स रहेको छ । नेकोको खुद नाफा ६०.२२% ले बढेर २६ करोड ४० लाख ४ हजार रुपैयाँ पुगेको छ । शिखर इन्सुरेन्सले २४ करोड १४ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । एक वर्षको अवधिमा सबैभन्दा धेरै नाफा बढ्नेमा भने जनरल इन्सुरेन्स रहेको छ । यसको नाफा १५९.३५% ले बढेर ३ करोड ६४ लाख १९ हजार रुपैयाँ पुगेको छ । नाफा घट्नेमा हिमालयन जनरल र राष्ट्रिय बिमा कम्पनी रहेका छन् । 

 
१६ कम्पनीको जगेडा कोष बढ्यो
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १६ कम्पनीको जगेडा कोषको आकार बढेको छ । सबैभन्दा धेरै जगेडा कोष बढाउनेमा अजोड इन्सुरेन्स छ । यसको जगेडा कोष १३६.९१% ले बढेर ६ करोड ६३ लाख २४ हजार रुपैयाँ पुगेको छ । जगेडा कोष घट्नेमा हिमालयन जनरल र युनाइटेड इन्सुरेन्स रहेका छन् । सबैभन्दा धेरै जगेडा कोष राष्ट्रिय बिमा कम्पनीको छ । 


 
११ को प्रतिसेयर आम्दानी वृद्धि
 
पुस मसान्तसम्म आइपुग्दा ११ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । यसअवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्नेमा नेको इन्सुरेन्स रहेको छ । नेकोको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ०७ पैसाले बढेर वार्षिक ४० रुपैयाँ ०८ पैसा पुगेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी राष्ट्रिय बिमा कम्पनीको रहेको छ ।

यसको प्रतिसेयर आम्दानी वार्षिक १०३ रुपैयाँ ०६ पैसा छ । ४ कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । सानिमा जनरल इन्सुरेन्सले यसै वर्ष आइपीओ जारी गरेकाले वित्तीय विवरणमा गत वर्षको प्रतिसेयर आम्दानी उल्लेख छैन । यता, सिद्धार्थ इन्सुरेन्सले गत वर्ष र यस वर्षकै प्रतिसेयर आम्दानी वित्तीय विवरणमा उल्लेख गरेको छैन । 

 
 

Post Your Comment