नेपाली पैसा
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा राष्ट्र बैंकको नियम विपरीत काम गर्ने कुल ९ वटा वाणिज्य बैंकहरुलाई बैंक सुपरीवेक्षण विभागले कारवाही गरेको छ । यसमध्ये ४ वटा वाणिज्य बैंकहरुले सम्पति शुद्धीकरण सम्बन्धी निर्देशन उल्लंघन गरेपछि राष्ट्र बैंकले जरिवाना गरेको छ । केन्द्रीय बैंकले प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमान्डू (हाल ग्लोबल आइएमई बैंक) र प्राइम कमर्सियल बैंकलाई ५० लाख रुपैयाँका दरले जरिवाना तिराएको हो ।
प्रभु बैंकलाई कर्जा सूचना तथा कालो सूची सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंकले सचेत पनि गराएको छ । यता, कर्जा लगानी गरेपश्चात प्रिमियम दर वृद्धि गरेको तथा डिस्काउन्ट प्रदान गरेको भन्दै तत्कालिन नेपाल इन्भेष्टमेन्ट बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), माछापुच्छ्रे बैंक र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई राष्ट्र बैंकले सचेत गराएको छ । माछापुच्छ्रेले पुँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको पनि राष्ट्र बैंकले जनाएको छ ।
यता, सानिमा बैंकले तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएपछि राष्ट्र बैंकले सचेत गराएको छ । यस्तै, नबिल बैंकले पनि ‘सम्पति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बनधी व्यवस्था’ मा रहेको ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नगरेको भन्दै राष्ट्र बैंकले सचेत गराएकोे छ ।