Market Closed

सिद्धार्थ बैंकलाई आधारभूत र प्राविधिक कोणबाट हेर्दा यस्तो देखिन्छ अवस्था

03 Apr,2021
  • Siddhartha-bank-Ltd_8_6_2018_11_01_36_1_31_2021_10_06_01.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९१ करोड ८७ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५० प्रतिशतले कम हो । गत वर्ष सोही अवधिसम्ममा यसले १ अर्ब २ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरणयोग्य मुनाफा १३ करोड ६९ लाख ३७ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

वैधानिक रिजर्भमा ६५ करोड ६८ लाख ८२ हजार तथा नियामकीय जगेडा कोषमा ३९ करोड ८७ लाख रुपैयाँ स्थानान्तरण गरेका कारण पनि बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक हुन पुगेको हो । वैधानिक रिजर्भ अन्तर्गत पनि साधारण रिजर्भमा १८ करोड ३७ लाख, सामाजिक उत्तरदायित्व कोषमा ९१ लाख ८७ हजार, कर्मचारी तालिम कोषमा १ करोड ९२ लाख ३२ हजार तथा डिभेन्चर रिडेम्सन रिजर्भमा ४४ करोड १६ लाख ३८ हजार रुपैयाँ छुट्याइएको छ ।    
 
बैकको खुद ब्याज आम्दानी ८.७४ प्रतिशतले घटेर २ अर्ब ५३ करोड १२ लाख रुपैयाँ कायम भएको छ । फि, ब्याज तथा कमिसन आम्दानी पनि ७.८८ प्रतिशतले घटेर २९ करोड ९८ लाख रुपैयाँ कायम भएको छ । नेट ट्रेडिङ आम्दानी भने २८.३१ प्रतिशतले बढेर ३२ करोड ६४ लाख ९५ हजार पुगेको छ । अन्य सञ्चालन आम्दानी पनि १२५ प्रतिशतले बढेर २३ करोड ९२ लाख ९१ हजार रुपैयाँ आर्जन गर्न सिद्धार्थ सफल भएको देखिन्छ ।

जोखिम व्यवस्थापन कोष ५ करोड ३७ लाख रुपैयाँबाट बढेर ७० करोड ६० लाख ६८ हजार रुपैयाँ पुगेको छ ।कर्मचारी खर्च भने १.८६ प्रतिशतले घटेर १ अर्ब १ करोड ७५ लाख तथा अन्य सञ्चालन खर्च पनि ९.४६ प्रतिशतले घटेर ४० करोड १३ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । ९ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड ८ लाख रुपैयाँ रहेको छ ।

यता, रिटेन्ड अर्निङ शीर्षकमा १ अर्ब १२ करोड ४० लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा यस बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड ५९ लाख रुपैयाँ रहेको थियो । पछिल्लो ६ महिनामा सिद्धार्थको निक्षेप १ खर्ब ३९ अर्ब ६० करोड रुपैयाँबाट बढेर रुपैयाँ १ खर्ब ५७ अर्ब ७९ करोड पुगेको छ ।

कर्जा प्रवाह पनि १ खर्ब २३ अर्ब ४४ करोडबाट वृद्धि हुँदै १ खर्ब ३८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको पुुस मसान्तसम्ममा २० रुपैयाँ ९८ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आवको सोही अवधिमा  १८ रुपैयाँ ७७ पैसा कायम भएको छ । 
 
यस अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ २० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.११  गुणा छ । त्यसैगरी, बैंकको निष्कृय कर्जा अनुपात भने ०.३६ प्रतिशतबाट बढेर १.९१  प्रतिशत पुगेको छ । आधार दर १०.०४  प्रतिशतबाट घटेर ७.३८ प्रतिशत कायम भएको छ । यता, स्प्रेड दर पनि ५.१७  प्रतिशतबाट घटेर४.२० प्रतिशतमा आएको छ । 

सिद्धार्थ बैंकको दोस्रो त्रैमासिक विवरण हेर्नुहोस् ।








 
फ्लोरसिट 

 
सिद्धार्थ बैंकको १ साताको फ्लोरसिट अध्ययन गर्दा ४३, ५८ तथा १७ ब्रोकरबाट सबैभन्दा बढी खरिद भएको देखिन्छ । यस्तै, बिक्रीतर्फ ५८, ३३ र १४ नम्बर ब्रोकरबाट सबैभन्दा बढी भएको पाइन्छ । ब्रोकर नम्बर ४३ मार्फत यस साता सर्वाधिक १ लाख ४७ हजार कित्ता सेयर खरिद भएको छ । ब्रोकर नम्बर ५८ बाट किनिएका अधिकांश सेयर बिक्री भएको देखिन्छ । यता, ब्रोकर नम्बर ४३ तथा १७ बाट पनि करिब २० हजार कित्ता सेयर बिक्री भएता पनि अझै होल्डिङमात्रा पर्याप्त भएको पाइन्छ ।

त्यस्तै, बजार मूल्य हेर्दा ४०० देखि ४०५ रुपैयाँमा ३ लाख ५ हजार कित्ता सेयर कारोबार भएको छ । यसलाई ब्रोकर कमिसनलगायतका खर्च समायोजन गर्दा करिब ४२० रुपैयाँ पुग्छ । यसर्थ, समग्रमा ४०० देखि ४२५ रुपैयाँको तहमा ५ लाख २६ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको छ ।
 
प्राविधिक विश्लेषण 

इलियट वेभ विश्लेषण

 
इलियट वेभ सिद्धान्तको आधारमा सिद्धार्थ बैंकको मेजर वेभ (३) को पाँचौं माइनर वेभ (५) बन्ने प्रक्रियामा रहेको छ । बिहीबार कारोबार बन्द हुँदा यस बैंकको तीन बिन्दु मेजर वेभ (१), माइनोर वेभ (२) बाट फिबोनेसी एक्सटेन्सन हेर्दा ३ प्रतिशत अर्थात ४४७ रुपैयाँ आसपासको बिन्दुमा टेवा रहेको छ । उक्त बिन्दु हालसम्मको उच्च बिन्दु पनि हो । यदि ४४७ रुपैयाँको बिन्दु पनि ब्रेक गरेमा मेजर वेभ ३ को माइनोर वेभ ५ फिबोनेसीबाट हेर्दा ४.२३ प्रतिशत अर्थात ५४० रुपैयाँको तह पुग्ने देखिन्छ ।

उक्त तहमा मेजर वेभ (३) पूरा हुनेछ । त्यस्तै, यदि बजार मूल्य ३८० रुपैयाँको तहभन्दा पनि तल गएमा भने यो काउन्ट अवैध हुनेछ । इलियट वेभ सिद्धान्तले लगानीकर्ताको मनोविज्ञानमा हुने लगातारको परिवर्तनलाई मूल्य प्रवृत्तिमा खोजी गर्दछ । यस सिद्धान्तले आवधिक तथा दीर्घकालीन ट्रेन्ड सेट सप गर्ने आकृति इम्पल्सिभ वेभ तथा करेक्सनको संकेतका रुपमा करेक्टिभ वेभका रुपमा विभाजन गर्छ ।

 
मैनबत्ति आकृति विश्लेषण 
 
गत बिहीबार कारोबार बन्द हुँदा तल्लो तथा माथिल्लो भागमा स्याडो सहितको रातो  मैनबत्ति आकृति बनेको छ । सोमबारदेखि बुधबारसम्म खरिद चाप बढी देखिए साताको अन्तिम दिन बिहीबार भने केही बिक्री चाप देखियो । फलस्वरुपः भाउ पनि थोरै घट्न पुग्यो । यसलाई लगानीकर्ताले सर्ट प्रोफिट बुकिङ गरेको मान्न सकिन्छ ।  
 
दैनिक १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स
 
१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ६४ बाट ६२ को स्केलमा आएको छ । करिब ४० को स्केलबाट बढेको आरएसआई ६४ बाट बिहीबार केही घटेर ६२ को स्केलमा आएको हो । हालको स्केल हेर्दा बुलिस ट्रेन्डमा रहेको मान्न सकिन्छ । 
 
मुभिङ एभरेज कन्भरजेन्स डाइभरजेन्स
 
मार्च २१ तारिखमा एमएसीडी र सिग्नल रेखाले स्पस्ट बुलिस क्रस गरेको छ भने हिस्टोग्राम सेन्ट्रल लाइनभन्दा माथि पुगेको छ । यसले ट्रेन्डको स्ट्रेन्थ बढेको देखिन्छ । 
 
कमोडिटी च्यानल इन्डेस्क
 
गत बिहीबार कारोवार बन्द भएसँगै कमोडिटी च्यानल इन्डेक्सले धनात्मक २७० बाट घटेर २४२ को स्केलमा आएको छ । 
 
बोलिन्जर ब्याण्ड 
 
सिद्धार्थ बैंकको मूल्य बोलिन्जरको माथिल्लो ब्याण्डमा रहेको छ । यदि मूल्यले बोलिजर माथिल्लो ब्याण्ड ब्रेक गर्यो भने भाउ बढ्ने सम्भावना प्रबल रहन्छ ।
 
निष्कर्ष 
 
सिद्धार्थ बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १०.५० प्रतिशतले नाफा घटेको छ । ब्याज आम्दानी घटेकाले समग्र खुद नाफा प्रभावित भएको हो । नाफा घट्नुको अर्को कारण भनेको यसले गत वर्ष इम्पेरिमेन्ट चार्ज अन्तर्गत ५२ करोड ३७ लाख रुपैयाँ राखेको थियो । यस वर्ष उक्त कोषमा ३४ प्रतिशतले बढेर ७० करोड ६० लाख रुपैयाँ पुगेको हो ।

यस कारण पनि खुद नाफा थोरै खुम्चिएको हो । बैंकको निष्कृय कर्जा अनुपात १.५५ प्रतिशतबाट केही बढेर १.९१ प्रतिशत पुगेको छ । इम्पेरिमेन्ट चार्ज राइट ब्याक गरेमा तेस्रो त्रैमासमा बैंकको राम्रो नाफा देखिन पनि सक्छ । समग्रमा यस बैंकको प्रायः सबै प्राविधिक परिसूचकहरु सकारात्मक नै देखिन्छन् । 
 
सावधानी : यो विश्लेषण आफैंमा पूर्ण होइन । लगानीकर्ताले थप अध्ययन अनुसन्धान गरेरमात्र लगानी सम्बन्धी निर्णय लिनु हुन अनुरोध गरिन्छ ।
 
 

Post Your Comment