Market Closed

नेप्से सूचक सामान्य वृद्धि हुँदा ६ अर्ब बढीको सेयर कारोबार

04 May,2021
  • bull_bear_new_5_4_2021_3_17_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । तर औसतमा ६ अर्बभन्दा बढीको कारोबारलाई राम्रै मान्नुपर्छ । यस दिन बजार केही अस्थिर पनि देखिएको छ । सामान्य अंकले नेप्से तलमाथि गर्नेक्रम कारोबार अवधिभर नै चलिरह्यो । अन्ततः नेप्से हरियै भएर बन्द भएको छ । करेक्सनपछि बजार विस्तारै माथितिर जाने अनुमानहरु भइरहेको छ । तर यसका लागि केही समय लाग्न पनि सक्छ । बजार जहिले पनि बाँडोटिंगो रेखामा हिँड्छ ।

बजारको घटबढको पनि आफ्नै नियम हुन्छ ।  यसर्थ, आम लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ । राम्रा कम्पनीको सेयर किनेपछि केही समय होल्ड गर्न सक्ने क्षमता अत्यावश्यक हुन्छ । सेयर बजारमा लगानीकर्ताको आत्मबल सबैभन्दा महत्वपूर्ण पक्ष हो । सकारात्मक मनोविज्ञानका साथमा धैर्य गर्न सकेमा लाभ लिन सकिने सम्भावना अघिक रहन्छ । 
 
पछिल्लो समय हाम्रो बजारमा ट्रेडरहरुको संख्या पनि वृद्धि हुँदै गएको छ । यस्ता कारोबारीले निश्चित प्रतिशत मुनाफा भएपछि बेचिहाल्ने भएकाले पनि राम्रोसँग बजार बढेपछि फेरि करेक्सन आउने गर्दछ । यसलाई स्वभाविक प्रक्रिया मान्न सकिन्छ । तथापि, बजारमा पर्याप्त क्रेताहरु आएका छन् । नाफा बुक गर्न चाहनेहरु सक्रिय हुँदा अरुले किनिरहेका पनि रहेका छन् । सोही कारण सेयरहरु सजिलै खरिदबिक्री हुन सकेको छ । 
 
अल्पकालीन लगानीकर्ताहरु आफ्नो योजना अनुसार निश्चित प्रतिशत नाफा भएपछि बुक गर्छन् । तर दीर्घकालीन लगानीकर्ताले लामो समयसम्म सेयर होल्ड गर्छन् । यसर्थ, लगानीकर्ताले आफू अल्पकालीन कारोबारी बन्ने कि दीर्घकालीन लगानीकर्ता भनेर ख्याल गर्न सक्नुपर्छ । सोही अनुसार आफ्नो रणनीति बनाउन आवश्यक हुन्छ ।
 
यस्तै, सेयर बजारका लगानीकर्ताले नेप्से सूचकलाई मात्र आधार बनाउनुृ हुँदैन । विशेषगरी आफूले लगानी गरेका कम्पनीहरुमा ध्यान केन्द्रित गर्न सक्नुपर्छ । लगानी गर्ने कम्पनीको समग्र अवस्था जस्तो, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, कम्पनी सञ्चालक, व्यवस्थापक अनि भविष्यमा कम्पनीको योजना लगायतलाई ख्याल गर्न आवश्यक हुन्छ । साथै, लगानीकर्ताले होल्ड गर्न सक्ने अवधिमा पनि विचार पुर्याउनुपर्छ ।

जोखिम बहन क्षमतालाई पनि ख्याल गर्न आवश्यक हुन्छ । नेप्से सूचक १.९४ अंकले बढेर २६५४.६९ विन्दुमा आइपुगेको छ । ६ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१३ कम्पनीको १ करोड ३० लाख १५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।



१३ मध्ये ६ वटा समूहको सूचक वृद्धि भएको छ । ९ कम्पनीको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको छ । कारोबार रकममा २३ करोड रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा रहेको छ । दोस्रोमा अरुण काबेली हाइड्रोपावर र तेस्रोमा ग्रामीण विकास लघुवित्त कम्पनी परेका छन् । 

 
 
 
 
 
 
 
 

Post Your Comment