बोर्डको अध्ययन प्रतिवेदन भन्छ : नयाँ स्टक एक्सचेन्ज आवश्यक, अब के होला ?

08 Jun,2021
  • stock_6_8_2021_8_03_28.jpg
इशारा कोइराला
 
काठमाडौं : नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको निष्कर्ष निकालेको छ । बोर्डले गरेको एक अध्ययन प्रतिवेदनले धितोपत्रको दोस्रो बजारलाई अझ बढी व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको निष्कर्ष निकालेको हो । धितोपत्र बोर्डले बोर्डका डेपुटी कार्यकारी निर्देशक नवराज अधिकारीको संयोजकत्व अध्ययन समिति गठन गरेर थियो ।

उक्त अध्ययन समितिले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन उचित रहेको ठहर गरेको छ । समितिले बोर्ड व्यवस्थापनसमक्ष अध्ययन प्रतिवेदन बुझाइसकेको छ । तर, बोर्ड सञ्चालक समितिमा पेश गर्न भने बाँकी रहेको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । अबको केही दिनमा नै उक्त प्रतिवेदन बोर्ड सञ्चालक समितिमा लगिने तयारी छ ।

बोर्ड सञ्चालक समितिमार्फत नयाँ स्टक एक्चेन्ज सञ्चालन गर्ने प्रस्ताव पारित भएपछि स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइने पनि बोर्ड स्रोतले बतायो । नेप्से परिसूचकसँगै, बजारको आकार, पहुँच र लगानीकर्ताको संख्या बढ्दै गएकाले नयाँ स्टक एक्चेन्ज आवश्यक रहेको समितिको प्रतिवेदनमा उल्लेख छ । साथै, हालको नेपाल स्टक एक्सचेन्जले राम्रो काम गर्न नसकेकाले निजी क्षेत्रको लगानीमा नयाँ एक्सचेन्ज कम्पनी आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ ।
 
तथापि, नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउने कुरा भने नयाँ होइन । विगत लामो समयदेखि नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने आवाज उठेको हो । यसअघि पनि बोर्डले पटकपटक नयाँ स्टक एक्चेन्जलाई लाइसेन्स दिने तयारी भने नगरेको होइन । नयाँ स्टक एक्चेन्जका लागि अर्थ मन्त्रालयले बारम्बार बेवास्ता गरेपछि प्रक्रिया अघि बढ्न नसकेको दाबी गरिएको छ ।

यसपटक पनि धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउनका लागि बजेटमा सुझाव दिएको थियो ।तर, यो विषय बजेटमार्फत सम्बोधन भने भएन । विगतका वर्षहरुमा बोर्डले नयाँ स्टक सञ्चालनमा ल्याउने भनेर बारम्बार नीति तथा कार्यक्रममा समावेश गरेको थियो । तर, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा भने उक्त बुँदा हटाएको थियो । तथापि, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यसले पुनः प्राथमिकता पाउने बोर्डले जनाएको छ । 
 
यता, धितोपत्र बोर्डको २९औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै अध्यक्ष ढुंगानाले नयाँ स्टक एक्सचेन्ज ल्याउनका लागि अध्ययन भएको जानकारी दिएका छन् । नेप्से सरकारी स्वामित्वको संस्था भएकाले बोर्डले चाहे अनुसार सुधार गर्न नसकेको दाबी गरिएको छ । लगानीकर्ताले पनि विगत लामो समयदेखि धितोपत्रको दोस्रो बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ स्टक एक्सेन्जलाई लाइसेन्स दिनुपर्ने बताउँदै आएका छन् । 
 
हाल सञ्चालनमा रहेको नेपाल स्टक एक्सचेन्ज सरकारी लगानीमा सञ्चालन रहेकाले पनि दशक लामो प्रयास गर्दा पनि नेपालमा नयाँ स्टकले लाइसन्स पाउन नसकेको सरोकारवालाको आरोप रहेको छ । २०६६ सालमा शूरवीर पौड्याल बोर्ड अध्यक्ष हुँदा नयाँ एक्सचेन्ज थप्न अनुमतिपत्रका लागि आवेदन आह्वान गरिएको थियो । त्यतिबेला ४ कम्पनीको आवेदन परेको थियो । तर, यसलेपूर्णता पाउन सकेन । त्यसपछि बोर्डले गरेका अरु प्रयास पनि सफल हुन सकेको छैन । 
 
यता, नेपाल स्टक एक्सचेन्जले भने विदेशी रणनीतिक साझेदार भित्र्याएर आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने बताउँदै आएको छ । तथापि, अहिलेसम्म नेप्सेमा रणनीतिक साझेदार भित्र्याउने कार्य पनि हुन सकेको छैन । नेप्से निकै राम्रो नाफामूलक संस्था हो । यसले अहिले अनलाइन प्रणालीको विकास गरेर दोस्रो बजारलाई प्रविधिमैत्री बनाएको छ । तर, प्रविधिमा भने अझै सुधार गर्नुपर्ने अवस्था छ । 
 
 

Post Your Comment