Market Closed

इपीएस के हो, किन महत्वपूर्ण छ अनि यसले के–के कुराको जानकारी गराउन सक्दैन ?

20 Jul,2021
  • eps_img_7_20_2021_7_51_19.jpg
समिर गौतम 
 
काठमाडौं : लगानीकर्तालाई कुनै पनि कम्पनीको एउटा सेयरले कति कमाई गर्दछ भन्ने विषयको जानकारी प्रतिसेयर आम्दानी (इपीएस) ले दिन्छ । कम्पनीले आफ्ना प्रतिस्पर्धी तथा समग्र इन्डस्ट्रीको तुलनामा कत्तिको राम्रो प्रदर्शन गरिरहेको छ भन्ने थाहा पाउन पनि लगानीकर्ताले यस अनुपातलाई प्रयोग गर्न सक्दछन् । साथै, प्रतिसेयर आम्दानीले कम्पनीको अन्य वित्तीय सूचकहरु पत्ता लगाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

सामान्य अर्थमा, प्रतिसेयर आम्दानी भनेको उक्त कम्पनीको एउटा साधारण सेयरको कमाई हो । प्रतिसेयर अम्दानी धेरै हुँदा सामान्यतयः सम्बद्ध कम्पनीको वित्तीय अवस्था मजबुत छ, त्यसको भ्याल्यू पनि धेरै छ अनि लगानीकर्तालाई लाभांशको रुपमा दिने नाफा पनि धेरै छ भन्ने बुझिन्छ । सूचीकृत कम्पनीहरुले प्रतिसेयर आम्दानी अनुपात सामान्यतयः प्रत्येक त्रैमासको अन्त्यमा वित्तीय विवरणमार्फत सार्वजनिक गर्ने गरेका छन् ।

कम्पनीको प्रतिसेयर आम्दानी लगानीकर्ताले थाहा पाउनुपर्ने निकै महत्वपूर्णमध्येको एक वित्तीय अनुपात हो । यद्दपि, कुनै पनि कम्पनीमा वित्तीय लगानी गर्दा इपीएसलाई मात्रै विश्लेषण गरेर भने लगानी गर्नु हुँदैन । समय क्रमसँगै कम्पनीको इपीएसमा भएको परिवर्तनलाई पनि ख्याल गर्नुपर्छ । यस्तै, एउटै इन्डस्ट्रीमा रहेका समान कम्पनीहरुबीचको इपीएस तुलना गर्नु पनि महत्वपूर्ण हुन्छ ।
 
इपीएस किन महत्वपूर्ण छ ?
 
कुनै पनि कम्पनीको सेयर बिक्री गर्ने, खरिद गर्ने वा होल्ड गर्ने भन्ने निर्णय लिने बेलामा इपीएस विश्लेषण गर्नु महत्वपूर्ण हुन्छ । इपीएसलाई विभिन्न प्रयोजनमा प्रयोग गर्न सकिन्छ ।
 
१. कम्पनीको नाफा कमाउने क्षमता थाहा पाउन एपीएस काम लाग्छ । नाफा गर्ने क्षमताले कम्पनीको लाभांश क्षमता र सेयर भाउमा पनि असर गर्छ ।
 
२. कम्पनीको मूल्य आम्दानी अनुपात (पीइ रेसियो) थाहा पाउन । पीइ रेसियोले कम्पनीको आम्दानीका आधारमा सेयर भाउ महँगो कि सस्तो भन्ने पत्ता लगाउन सकिन्छ ।
 
३. समयसँगै कम्पनीको नाफा बढ्दै गइरहेको कि घट्दै गइरहेको छ भन्ने थाहा पाउन ।
 
. कम्पनीको वास्तविक प्रतिसेयर आम्दानी र विश्लेषकहरुको अनुमानबीच तुलना गर्न ।
 
५. कम्पनीले प्रतिसेयर आम्दानीकै रेन्जमा लगानीकर्तालाई लाभांश दिएको छ कि छैन भन्ने तुलना गर्न ।
 
यद्दपि, फरक फरक क्षेत्रका कम्पनीको प्रतिसेयर आम्दानी फरक फरक हुन्छ । तसर्थ, यो चाहिँ राम्रो प्रतिसेयर आम्दानी हो भनेर प्रतिनिधित्व गर्ने कुनै एकल संख्या हुँदैन । राम्रो प्रतिसेयर आम्दानी कम्पनीको वर्तमान अवस्था र उक्त कम्पनीले भविष्यमा गर्न सक्ने प्रदर्शनमा भर पर्छ । 
 
प्रतिसेयर आम्दानी कसरी हिसाब गर्ने ? (बेसिक र डाइलुटेड इपीएस)
 
प्रतिसेयर आम्दानी हिसाब गर्ने विधि सरल भएपनि फरकफरक हुन सक्छन् । फरकफरक विधि अनुसार फरकफरक नतिजा पनि आउन सक्छ । कम्पनीहरुले सामान्यतयः बेसिक इपीएस र डाइलुटेड इपीएस गरी दुई किसिमले वित्तीय विवरणमा सार्वजनिक गर्ने गरेका छन् ।  लगानीकर्ताले पनि यसैलाई आधार बनाएका हुन्छन् ।

प्रतिसेयर आम्दानी हिसाब गर्ने एक सामान्य विधि भनेको कम्पनीको खुद नाफालाई कुल साधारण सेयर संख्याले भाग गर्ने हो । जसलाई कम्पनीको ‘ बेसिक इपीएस’ भनिन्छ । यस्तै, डाइलुटेड इपीएस हिसाब गर्ने विधि केही फरक छ ।

बेसिक इपीएसमा कम्पनीको कुल साधारण सेयरलाई मात्र लिइन्छ भने डाइलुटेड इपीएस हिसाब गर्दा साधारण सेयरसहित स्टक अप्सन, प्रिफर्ड सेयर लगायत परिवर्तनीय धितोपत्रहरु पनि समावेश हुन्छ । जसका कारण डाइलुटेड इपीएस बेसिक इपीएस भन्दा कम देखिने सम्भावना रहन्छ । लगानीकर्ताले पाउन सक्ने वा कम्पनीले वितरण गर्न  सक्ने लाभांशको वास्तविक जानकारी पनि डाइलुटेड इपीएसबाटै पत्ता लगाउन सजिलो हुन्छ ।
 
इपीएसले के–के बताउन सक्दैन ?
 
कम्पनीको प्रतिसेयर आम्दानीका बारेमा जानकार हुनु लगानीकर्ताका लागि निकै लाभदायी हुन्छ । यद्दपि, इपीएस समग्र वित्तीय विश्लेषणको एक हिस्सा मात्र हो । इपीएसले मात्र सबै जानकारी दिन सक्दैन । एक त यसले कम्पनीको विद्यमान सेयर भाउसँग सरोकार राख्दैन । तसर्थ, कम्पनीले राम्रै प्रदर्शन गरिरहेको भए पनि सेयर भाउ निकै महँगो भई कम्पनी ओभरभ्याल्यूड हुनसक्छ ।
 
कम्पनीको समग्र नाफाका आधारमा प्रतिसेयर आम्दानी हिसाब गरिएको हुन्छ । त्यसैले बेसिक र डाइलुटेड दुवै इपीएसले कम्पनीमा असाधारण तरिकाको आम्दानी वा खर्च हुने पक्षको बारेमा भने जानकारी दिन सक्दैनन् । उदाहरणका लागि कुनै कम्पनीले कुनै त्रैमासमा एकै पटकको व्यापारबाट ठूलो नाफा गरी इपीएस उच्च बनायो । यद्दपि, कम्पनीले सोही किसिमको व्यापार दोहोर्याउन सकेन भने उच्च इपीएस कायम राख्न सक्दैन ।

तसर्थ, नाफा किन उच्च भयो भन्ने घटनाको जानकारी इपीएसबाट आउँदैन । कम्पनीको इपीएस ट्रेन्ड विश्लेषण गरे पनि इपीएस किन बढ्दो वा घट्दो क्रममा छ भन्ने थाहा पाउन भने अन्य थप खोजी अनुसन्धान गर्नुपर्ने हुन्छ । इपीएससँगै अन्य वित्तीय अनुपातको पनि विश्लेषण महत्वपूर्ण हुन्छ । 
 

Post Your Comment