Market Closed

वालेट ट्रान्सफर, मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत गरिने भुक्तानी सीमा बढ्यो

14 Sep,2021
  • NRB-Logo_1_5_2020_10__8_24_2021_8_37_30.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन – २०७८’ जारी गरेको छ । निर्देशनमार्फत केन्द्रीय बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबार सीमा र विद्युतीय वालेटको माध्यमद्वारा गरिने रकमान्तरको अधिकतम सीमा बढाएको छ । नयाँ निर्देशन अनुसार मोबाइल बैंकिङ (क्यूआर कोडसमेत) मार्फत प्रतिदिन २ लाख रुपैयाँ र इन्टरनेट बैंकिङमार्फत प्रतिदिन २० लाख रुपैयाँ कारोबार गर्न सकिनेछ ।


 
यसअघि मोबाइल बैंकिङमार्फत प्रतिदिन १ लाख रुपैयाँ मात्र कारोबार गर्न सकिने व्यवस्था रहेको थियो । यस्तै, बैंक खाताबाट वालेटमा गरिने रकमान्तर सीमा प्रतिकारोबार २५ हजार रुपैयाँबाट बढाएर ५० हजार रुपैयाँ पुर्याएको छ । वालेटबाट अन्य बैंक खातामा रकमान्तर सीमा पनि प्रतिकारोबार ५० हजार रुपैयाँ पुर्याएको छ । यसअघि यस्तो कारोबारको सीमा पनि २५ हजार रुपैयाँ मात्र थियो । वालेट ट्रान्सफर प्रतिदिन १ लाख रुपैयाँसम्म गर्न सकिनेछ । जुन यसअघिकै व्यवस्थालाई निरन्तरता दिइएको हो । 


 
यद्दपि, विद्युतीय वालेटमार्फत प्रतिमहिना फन्ड ट्रान्सफर सीमा भने ५ लाखबाट बढाएर १० लाख रुपैयाँ पुर्याएको छ । यस्तै, राष्ट्र बैंकले वालेटको ओभरनाइट ब्यालेन्सको सीमा पनि बढाएको छ । वालेटमा अधिकतम ५० हजार रुपैयाँ भन्दा बढी मौज्दात ओभरनाइट राख्न पाइने छैन । यसअघि यस्तो सीमा २५ हजार रुपैयाँ मात्र थियो ।
 
बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङमार्फत ग्राहकहरुले विद्युतीय रकमान्तर (इन्टर बैंक फन्ड ट्रान्सफर) गर्दा ५० हजार रुपैयाँसम्म प्रतिकारोबार अधिकतम १० रुपैयाँ शुल्क लिन सक्नेछन् । यस्तै, ५० हजार १ रुपैयाँदेखि १ लाखसम्मको कारोबारमा अधिकतम २० रुपैयाँ र १ लाख १ रुपैयाँभन्दा माथिको कारोबारमा प्रतिकारोबार ३० रुपैयाँ शुल्क लिन सक्नेछन् ।



 

Post Your Comment