Market Closed

मार्जिन कारोबार कार्यविधि संशोधन : नीतिगत व्यवस्था सहज, व्यावहारिक जटिलता कायमै

12 May,2022
  • 2_5_12_2022_8_50_16.jpg
इशारा कोइराला

काठमाडौं : नेप्सेले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७७’ लाई प्रथम पटक संशोधन गरेर कार्यान्वयनमा ल्याएको छ । नेप्सेले २ वर्ष अघि नै ब्रोकरमार्फत हुने मार्जिन लेन्डिङका लागि कार्यविधि बनाएर लागू गरेको थियो । तर उक्त कार्यविधि व्यावहारिक नभएको भन्दै ब्रोकर र लगानीकर्ताले चासो नदेखाएपछि यसलाई संशोधन गरेर पुनः कार्यान्वयनमा ल्याएको छ । तथापि, अहिले संशोधन गरेर कार्यान्वयनमा ल्याएको कार्यविधिमा नीतिगत व्यवस्था संशोधन भएपनि कार्यान्वयनमा व्यवहारिक जटिलता कायम नै रहेको सरोकारवालाहरुले बताएका छन् ।
 
एक ब्रोकरले भने, ‘मार्जिन कारोबार कार्यविधिमा नेप्सेले नीतिगत व्यवस्थामा त संशोधन गर्यो तर व्यवहारिक जटिलता कायम नै छ ।’ उनका अनुसार अहिलेको टीएमएसमा मार्जिन कारोबारको अप्सननै भएका कारण यसको कारोबारमा लगानीकर्ता तथा ब्रोकर कम्पनीहरुलाई झन्झटिलो हुने भएको छ । उनले भने ‘मार्जिन कारोबार सुविधा लिएका र नलिएका लगानीकर्ताको कारोबारको विवरण ब्रोकरले छुट्टाछुट्टै राख्नुपर्छ । अहिलेको कारोबार प्रणालीले ती विषय छुट्याउन सक्दैन । कारोबार प्रणाली नै नभएको अवस्थामा मार्जिन सुविधा कार्यान्वयनमा जान झन्झटिलो छ ।’
 
साथै, मार्जिन कारोबारको लागि स्रोत व्यवस्थापन स्पष्ट नहुँदा ब्रोकरहरुले ठूलो रकममा स्रोत व्यवस्थापन गर्न नसक्ने ती ब्रोकरको भनाई छ । उनले भने, ‘स्रोत व्यवस्थापनको बारेमा कार्यविधिमा सम्बोधन नहुँदा ब्रोकरहरुले मार्जिन कारोबारको लागि ठूलो रकम व्यवस्थापन गर्न सक्दैनन् । २­४ जना लगानीकर्तालाई ७­८ करोड रुपैयाँसम्म मात्रै प्रवाह हुन्छ ।’ फलस्वरुपः मार्जिन कर्जा प्रभावकारी रुपमा कार्यान्वयन नहुने उनको भनाई छ । साथै, ब्रोकरहरुलाई लगाइएको विभिन्न किसिमका नीतिगत व्यवस्थाका कारण पनि मार्जिन कारोबार प्रभावकारी नहुने उनको भनाई छ ।
 
ब्याजदरमा ब्रोकरहरुबीच प्रतिस्पर्धा हुने
 
साथै, मार्जिन कारोबारको ब्याजदर बजारले नै निर्धारण गर्ने हुँदा ब्याजदरमा ब्रोकरहरुबीच प्रतिस्प्रर्धा हुने ती ब्रोकरले बताए । उनले भने, ‘मार्जिन कारोबारको ब्याजदर बजारले नै निर्धारण गर्ने भएकाले ब्रोकरबीच ब्याजदरमा प्रतिस्प्रर्धा हुन्छ । सस्तो ब्याजदरमा मार्जिन कारोबारका लागि ऋण दिने ब्रोकरकोमा लगानीकर्ता जान सक्नेछन् ।’ साथै, उनले आफ्नो ब्रोकर कम्पनीमार्फत अहिले कै नीतिगत व्यवस्थामा पनि जेठ लागेसँगै मार्जिन कारोबार सुविधा उपलब्ध गराउने जानकारी दिए । जसअनुसार जेठदेखि नै लगानीकर्ताले ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा लिन पाउने भएका छन् ।
 
६ कम्पनीले मात्रै मार्जिन कारोबारका लागि लाइसेन्स नवीकरण गरे
 
चालु आर्थिक वर्षमा ६ वटा ब्रोकर कम्पनीले मात्रै मार्जिन कारोबारको लागि लाइसेन्स नवीकरण गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेपाली पैसालाई बताए । लाइसेन्स लिएका १६ कम्पनीले भने लाइसेन्स नवीकरण गरेका छैनन् । नेप्सेले मार्जिन कारोबारको सुविधा ल्याएसँगै २२ ब्रोकर कम्पनीले लाइसेन्स लिएका थिए ।
 
लाइसेन्स प्राप्त ब्रोकर कम्पनीले हरेक वर्ष लाइसेन्स नवीकरण गर्नुपर्ने प्रावधान छ । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ परिच्छेद २ को दफा ६ (२) मा भएको व्यवस्था बमोजिम मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन प्राप्त नभएका सदस्य दलालहरूको अनुमति पत्र स्वतः खारेज हुने व्यवस्था कार्यविधिमा छ ।
 
संशोधित कार्यविधिमा के–के व्यवस्था परिवर्तन भयो ?
 
संशोधित कार्यविधिमा अब ब्रोकरले सेयर धितो राखेर लगानीकर्तालाई ७०% सम्म कर्जा दिन सक्छन् । यसअघि ५०% सम्म मात्र कर्जा दिन पाउने व्यवस्था थियो । यस्तै, लगानीकर्ताले धितोका रुपमा राख्ने सेयर मूल्यांकन गर्दा १२० दिनको औसत कारोबार मूल्य वा बजारमा कायम अन्तिम मूल्यमध्ये जुन कम छ । त्यसका आधारमा कर्जा दिन पाउने भएका छन् । यसअघि १८० दिनको औसत मूल्य राखिएको थियो ।
 
मार्जिन सुविधामार्फत लिएको कर्जा रकमबाट सेयर किन्दा एउटा कम्पनीमा बढीमा १०% सम्म मात्र लगानी गर्नुपर्ने सीमा हटेको छ । अब लगानीकर्ताले मार्जिन कर्जाबापतको रकम एकमुष्ट रूपमा एउटै कम्पनीमा वा बढीमा लगानी गर्ने भन्ने छुट पाएका छन् । लगानीकर्ताले पाउने रकमबाट एकभन्दा बढी कम्पनीमै लगानी गर्न ब्रोकरहरूले प्रोत्साहन गर्नुपर्ने व्यवस्था संशोधित कार्यविधिमा छ ।
 
नयाँ व्यवस्थाअनुसार अब मार्जिन कारोबार सुविधाका लागि सम्भार मार्जिन (मेन्टिनेन्स मार्जिन) २०% हुनेछ । मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन २०% भन्दा कम हुन आएमा सदस्य दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्नेछ । मार्जिन कल गरेको दोस्रो कार्य दिनभित्र सम्बन्धित लगानीकर्ताले मार्जिन कारोबारयोग्य धितोपत्रहरू जम्मा गरी वास्तविक मार्जिन २०%भन्दा माथि कायम गर्नुपर्नेछ ।

Post Your Comment