Market Closed

सरकार र नियामक निकायहरु गैरजिम्मेवार बन्दा लगानीकर्ताको खरबौं रुपैयाँ स्वाहा

23 Jun,2022
  • bull-and-beads_6_23_2022_3_13_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : पुँजी बजारले आम लगानीकर्तालाई झनै पीडा दिएको छ । बिहीबार नेप्से सूचक ४५.२५ अंकले घटेर १८४८.२८ विन्दुमा आएको छ । करिब डेढ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । सरकार मूकदर्शक बनेपछि लगानीकर्ता थप आत्तिएका छन् । उनीहरुको मनोबल कमजोर हुँदा प्यानिक सेल थपिएको छ । सरकार, नीतिनिर्माता र नियामकको गैर जिम्मेवारपूर्ण प्रवृत्तिका कारण लगानीकर्ताले खरबौं रुपैयाँ गुमाएका छन् ।

यता, बैंकहरुले पनि मार्जिन कल गरेर लगानीकर्तालाई तर्साइरहेका छन् । यसको सीधा चपेटामा सोझा लगानीकर्ता परेका छन् । आमरण अनसनमा बसेका लगानीकर्ताको स्वास्थ्य अवस्था नाजूक भएको छ । दैनिक हजारौं लगानीकर्ता सडकमा चिच्याइरहेका छन् । गेट बाहिरको आवाज नियामकले सुनेको छैन । यस्तो जटिल परिस्थितिमा पनि सरकार बेखबरजस्तै बनेको छ । अर्थतन्त्रको बागडोर समालेका अर्थमन्त्रीलाई सेयर बजार सुधारमा कुनै मतलब छैन ।

यता, राष्ट्र बैंकका गभर्नर नीतिनिर्माण तहमा बसेर आम लगानीकर्तालाई तर्साउने गरी भाषण गर्दै हिँडेका छन् । कहिले ब्याजदर थप बढ्छ त कहिले नेपाल श्रीलंका जस्तै बन्न पनि बेर लाग्दैन जस्ता गैरजिम्मेवारपूर्ण तरिकाले भाषण गर्दै गभर्नर हिंड्दा सेयर बजार थप प्यानिक हुने अवस्थामा आएको सर्वसाधारण लगानीकर्ताले आरोप लगाएका छन् । 
 
नीति बनाउने तहको मर्यादित पदमा बसेका व्यक्तिको बोलीले धेरै विषयको संकेत गर्ने भएकाले बोल्दा ख्याल गर्नुपर्ने अर्थविद् तथा बजार विश्लेषकहरु बताउँछन् । तथापि, केही समययता विशेषगरी, तरलता, ब्याजदर लगायतका विषयमा गभर्नरले दिएका सार्वजनिक अभिव्यक्तिले भने पक्कै पनि सर्वसाधारणको मन बिजाएको छ । यद्यपि, केन्द्रीय बैंक पुँजी बजारको प्रत्यक्ष नियमनकारी निकाय भने होइन । तर हाम्रो पुँजी बजारलाई जहिले पनि उसकै नीतिनियमले प्रत्यक्ष प्रभाव पर्दै आएको छ ।

किन भने सेयर धितो कर्जाको चावी केन्द्रीय बैंकसँगै रहेको छ । वित्तीय क्षेत्रको नियामक भएकाले यसले बैंक तथा वित्तीय क्षेत्रलाई दिने निर्देशनले पुँजी बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । निर्देशन वित्तीय क्षेत्रलाई दिइने भए पनि केन्द्रीय बैंकले जहिले पनि सेयर बजारलाई नै केन्द्रित गरेर नीतिनिर्देशन जारी गर्ने गरेको यस क्षेत्रको अगुवा लगानीकर्ताहरुको आरोप रहँदै आएको छ । 
 
बजार घटाउन वा बढाउन पत्यक्ष हिसाबले सहयोग पुग्ने गरी नीतिहरु आउने गरेका छन् । भन्दा समग्र अर्थतन्त्रको हितका लागि भनिए पनि व्यहारमा जहिले पनि पुँजी बजारलाई प्रभावित पार्ने गरी नीतिहरु आएका छन् । यो अर्थतन्त्र र पुँजी बजारका बारेमा सामान्य जानकारी राख्ने जो कोहीले पनि अनुमान लगाउन र बुझ्न सक्ने विषय रहेको भन्दै सेयर बजारका अगुवा लगानीकर्ताहरुले सार्वजनिक रुपमै वा सामाजिक सञ्जालहरुबाट आलोचना गरिरहेका छन् ।
 
 किन भने हाम्रो बजारमा ब्रोकरमार्फत मार्जिन लेन्डिङ हुन सकेको छैन । पुँजी बजारमा पनि बैंक तथा वित्तीय क्षेत्रकै वर्चस्व रहेको छ । जसका कारण केन्द्रीय बैंकका नीतिनिर्देशनहरुको अधिक प्रभाव पर्ने गरेको हो । व्यवहारमा केन्द्रीय बैंक नै पुँजी बजारको प्रत्यक्ष नियामक जस्तो देखिने पनि गरेको उनीहरुको आरोप रहेको छ । यसपटक पनि बजारलाई प्यानिक हुने अवस्थामा ल्याउने प्रमुख कारक सेयर धितो कर्जामा ४–१२ को सीमा नै रहेको छ । अरु सहायक कारणहरु मात्र हुन् ।

अब बजारलाई सुधार्न तथा आम लगानीकर्ताको मनोबल उकास्न पनि यही गलत नीतिमा परिमार्जन हुनुपर्ने अहिले सडक आन्दोलनमा रहेका लगानीकर्ताहरुले बताएका छन् । यता, आम लगानीकर्ता पनि सचेत हुन जरुरी छ । पुँजी बजारमा अवसर जति छ सोही अनुपातमा जोखिम पनि छ भन्ने कुरा बिर्सिनु हुँदैन । जोखिम बहन क्षमताका आधारमा मात्र सेयर कारोबार गर्नुपर्छ ।

अलि लामो समयसम्म होल्ड गर्न सक्ने क्षमता विस्तार गर्न आवश्यक छ । सबल वित्तीय सूचक भएका र राम्रो लाभांश क्षमता भएका कम्पनीहरुमा लगानी गर्न सक्नुपर्छ । यसो हुन सकेमा अरुलाई दोष दिइरहनु पर्दैन ।



यस दिन कुल २३७ कम्पनीको ५० लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ९ करोड ५३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा कुमारी बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः लक्ष्मी बैंक र नबिल बैंक परेका छन् । 

  
 

Post Your Comment