Market Closed

बैंकहरुको च्वाइस अब बोनस सेयर होला कि नगद लाभांश ?

04 Aug,2022
  • dividend_policy_8_4_2022_8_32_58.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा गर्दै आएको कडाईलाई खुकुलो बनाएसँगै लगानीकर्तामा अब बैंकहरुले दिने प्रतिफल कुन किसिमको हुन्छ भन्ने चासो बढेको छ । बैंकहरुको पुँजी धेरै पुगिसकेको र यसैबेला केन्द्रीय बैंकले बैंकहरुलाई आफ्नो क्षमता अनुसार लाभांश वितरण गर्न छुट दिएपछि सामाजिक सञ्जालमा बैंकहरुले अब नगद लाभांश वितरण गर्नेछन् विभिन्न चर्चा–परिचर्चा समेत चल्न थालेको छ ।

मौद्रिक नीतिमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि बुधबार एकीकृत निर्देशन जारी गर्दै यसअघि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–७८ को वितरणयोग्य नाफाको ३०% मात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले हटाएको छ । यसबाट पछिल्लो केही वर्ष बोनस सेयर वितरण गर्न सक्ने क्षमता भए पनि नबाँड्ने बैंकहरुलाई अब पर्याप्तमात्रा नगद लाभांश वितरण गर्न बाटो खुलेको पूर्वबैंकर परशुराम कुँवर क्षेत्री बताउँछन् ।

उनले भने, ‘कोभिडका कारण खराब कर्जा बढ्न सक्ने थियो, राष्ट्र बैंकले प्रोभिजनमा पनि छुट दिएको थियो, त्यसैले क्यास डिभिडेन्ड वितरणमा रोक लगाएको हो ।’ अहिले कोभिडको असर धेरै नै हटेपछि केन्द्रीय बैंकले छुट दिएको उनले बताए । संस्थापक सेयरधनीहरुलाई नगद लाभांश नै ठीक रहेको उनको भनाई छ । ‘संस्थापक सेयरधनीलाई बोनस सेयर भनेको कागजको टुक्रा नै हो, सर्वसाधारण लगानीकर्ताले भने बोनस मन पराउछन्,’ उनले भने ।

यसपटक बैंकहरुले नगद लाभांश बाँड्न सक्ने पनि उनले अनुमान गरेका छन् । उनले भने, ‘मिनिमम क्यापिटल रिक्वाएरमेन्ट ११% हो, क्यास डिभिडेन्ड बाँड्नका लागि १२% हुनुपर्छ, १२% भन्दा तलकाले क्यास चाहेर पनि बाँड्न पाउँदैनन्’ । हरेक वर्ष बोनस सेयर मात्र बढाएर कस्ट अफ क्यापिटल मात्र बढ्ने हुँदा राष्ट्र बैंकले सही कदम चालेको उनले बताए । यता, नेपालका सेयर लगानीकर्ताहरु भने नगद लाभांश भन्दा बोनस सेयर बढी मन पराउने गर्छन् ।

सेयर संख्या पनि थपिने र बजारमा सेयरको मूल्य अनुसार अझ मज्जाले भाउ बढेका बेला बोनस बेच्न पाइने हुँदा लगानीकर्ताहरुमा बोनस मोह बढी देखिन्छ । राष्ट्र बैंकको नयाँ व्यवस्थाले भने संस्थापक सेयरधनीहरुलाई फाइदा हुने देखिन्छ । उनीहरुलाई संस्थापक सेयर बेच्न पनि मुस्किल हुने र हरेक वर्ष सेयर संख्या मात्र थपिने हुँदा कम्पनीको प्रतिफल केवल कागजमै सीमित हुने गर्छ । तर नगद वितरण गर्दा उनीहरुले सर्वसाधारण लगानीकर्ता सरह नगद नै पाउने गर्छन् ।
 
बोनस मात्र वितरण गर्दा पुँजी भार बढी
 
बैंक तथा वित्तिय संस्थाले हरेक वर्ष बोनसमात्र वितरण गर्दा पुँजी भार बढेको कतिपय जानकारहरुले बताउने गरेका छन् । पुँजी बढे अनुसार नाफा बढेन भने बैंकहरुको प्रतिफल क्षमता पनि घट्छ । प्रतिसेयर आम्दानी घट्दा लगानीकर्ताको प्रतिफल पनि स्वतः घट्दछ । तसर्थ, बैंक तथा वित्तीय संस्थाहरुले बोनस सेयर मात्र वितरण गर्न नहुने जानकारहरु बताउँछन् । बोनस सेयर मात्र वितरण गर्दा कम्पनीको पुँजी मात्र बढ्ने र त्यस अनुसार लगानीकर्तालाई प्रतिफल दिन नसकिने उनीहरुले बताउँदै आएका छन् ।
 
अर्कोतर्फ, पछिल्ला केही वर्ष नगद लाभांशमा केन्द्रीय बैंकको कडाईका कारण कतिपय बैंकहरुले लाभांश क्षमता भए पनि लाभांश अनुपात नै घटाएका थिए । विदेशी लगानी रहेका बैंकहरु बोनस सेयर भन्दा पनि नगद लाभांश बढी रुचाउँछन् । तसर्थ, अन्य बैंकहरुको तुलनामा विदेशी लगानी भएका नेपाल एसबीआई बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकको पुँजी अहिले पनि केही कम देखिन्छ । अब उनीहरुले नगद लाभांश कति दिन्छन् भन्ने आम चासो रहेको छ । 
 

Post Your Comment