अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड : कम्पनी विश्लेषण (बिहीवार, ३० भदौ २०७३)

15 Sep,2016
  • arun_valley_hydropower_resize_9_15_2016_12_01_19.jpg


कम्पनीको  २०७२/७३ आवको चौथो त्रैमासमा खुद नाफा रू. ७ करोड ९२ लाख रहेको छ । कम्पनीको भदौ १७ गतेको साधारणसभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश पारित गरिसकेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम दिनमा टुपी र पुच्छर भएको सेतो मैनबत्ती बनेको छ । यसले लगानीकर्ताहरू शेयरमूल्यबारे अन्योलमा रहेको देखिन्छ ।

आरएसआई : न्युट्रल जोन (३९ स्केल)मा छ । खरीदविक्री चाप बढेर सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन ७ दशमलव ९४ विन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य  सातदिने रेखा, २१ दिने रेखा र ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य महँगिएमा रू. ३ सय ३९ मा प्रतिरोध र मूल्य सस्तिएमा रू. ३ सय १४ मा टेवा पाउन पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को तेस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
- कम्पनीको २०७२/७३ आवको अन्तिम त्रैमासमा खुद नाफा १ दशमलव १८ घटेर रू. ५ करोड ९३ लाखमा सीमित भएको छ । प्रोजेक्ट तथा प्रशासन खर्च बढ्नाले खुद नाफा घट्न पुग्यो ।

- जगेडा कोष २४ दशमलव ९० प्रतिशत घटेर रू. ७ करोड ९२ लाखमा सीमित भएको छ ।

- विद्युत् विक्री आय २ दशमलव ५४ प्रतिशत र अन्य आय ३ दशमलव ८७ प्रतिशत बढेको छ ।

- लगानी ३१ दशमलव ८१ प्रतिशत बढेर रू. ५१ करोड ८५ लाख पुगेको छ ।

- खुद चालू सम्पत्ति ५७ दशमलव ४४ प्रतिशत घटेर रू. १० करोड ३ लाखमा सीमित भएको छ भने खुद चालू दायित्वमा २० दशमलव ११ प्रतिशत बढेर रू. ३ करोड ४१ लाख पुगेको छ ।

- प्रशासनिक खर्च ७ दशमलव ९५ प्रतिशत बढेर रू. ८० लाख २२ हजार र प्रोजेक्ट खर्च १३ दशमलव ४३ प्रतिशत बढेर रू. ५४ लाख ५७ हजार पुगेको छ ।

- कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार निकट भविष्यमा संस्थाले नयाँ जलविद्युत् आयोजना निर्माण गर्ने पूर्वतयारी भइरहेको उल्लेख गरेको छ ।

- कम्पनीको चौथो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार पीई रेशियो साढे ५३ गुणा र प्रतिशेयर आम्दानी रू. ७ दशमलव ७० छ । सो आम्दानी र शेयरको पछिल्लो कारोबार मूल्यको आधारमा निकालिएको पीई रेशियो साढे ४० गुणा छ । हालको शेयरमूल्य नेटवर्थको करीब ३ गुणा छ ।