छिमेक लघुवित्त विकास बैङ्क : कम्पनी विश्लेषण (बिहीवार, २३ भदौ, २०७३)

08 Sep,2016
  • chhimek_laghubitta_bikas_resize_9_8_2016_12_16_14.png


२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैङ्कको खुद नाफा ६४ दशमलव ४२ प्रतिशत बढेको छ । पछिल्लो समयमा रहेको रू. २ करोड २६ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती चित्र : मूल्यलाई लिएर लगानीकर्ता अन्योलमा रहेको देखिन्छ । तर, अन्तिम दिनमा बनेको कालो मारुबोजुले आगामी दिनमा शेयर मूल्य घट्ने सङ्केत गर्दछ ।

आरएसआई : न्यूट्रल जोन (५५ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन : १४ दशमलव ५२ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिँदै गएका छन् । हालको मूल्य र ट्रेण्डलाइन एकै ठाउँमा आएका छन् । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. २ हजार ५० मा टेवा पाउने र मूल्य महँगिएमा रू. २ हजारमा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा
- कम्पनीको चौथो त्रैमासमा सञ्चालन नाफा ६१ दशमलव ४७ प्रतिशत र खुद ब्याज आम्दानी ४६ दशमलव ६७ प्रतिशत बढ्नाले खुद नाफा ६४ दशमलव ४२ प्रतिशत बढ्नमा टेवा पुगेको हो । नाफा बढेर रू. ४७ करोड २६ लाख पुगेको छ ।

- जगेडा कोष ३४ दशमलव ७९ प्रतिशत बढेर रू. ७४ करोड पुगेको छ ।

- ब्याज आम्दानी ३६ दशमलव ४८ प्रतिशत र ब्याज खर्च २३ दशमलव ७१ प्रतिशत बढेकोे छ ।

- कर्मचारी खर्च ३५ दशमलव १४ प्रतिशत र कुल सञ्चालन आम्दानी ४३ प्रतिशत बढेको छ भने अन्य सञ्चालन खर्च २१ दशमलव १६ प्रतिशत घटेको छ ।

- पछिल्लो समयमा रहेको रू. २ करोड २६ लाख खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएको छ ।

- स्थिर सम्पत्ति १३ दशमलव ७७ प्रतिशत बढेको छ भने अन्य सम्पत्ति ४८ दशमलव ४९ प्रतिशत घटेको छ ।

- निष्क्रिय कर्जा शून्य दशमलव १ प्रतिशत, पूँजीकोष लागत ७ दशमलव ५२ प्रतिशत र पूँजीकोष पर्याप्तता १४ प्रतिशत रहेको छ ।

- चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात २५ गुणा, प्रतिशेयर आम्दानी ७९ दशमलव ३४ र मूल्य आम्दानी अनुपात २९ गुणा छ । हालको शेयर मूल्य नेटवर्थको ९ गुणा छ ।